कास्कीमा रुखमा झुण्डिएको अवस्थामा दुई शव फेला
पोखरा, २८ असार । कास्कीको अन्नपूर्णमा दुईजनाको शव भेटिएको छ । अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने ठाउँको जङ्गलभित्र एक रुखमा एउटै पासोमा झुण्डिएको अवस्थामा एक महिला र एक पुरुषको शव फेला परेको हो ।
घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । शवका बारेमा आइतबार राति खबर आएपनि सोमबार मात्र ल्याइएको थियो । प्रहरीका अनुसार शव केही दिन पुरानो देखिन्छ ।
उनीहरुका साथबाट विभिन्न कागजातहरु पनि भेटिएका छन् । त्यहाँ भेटिएको नागरिकता, पासपोर्टलगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको छ । यद्यपि उनीहरु भारत नगई सोही क्षेत्रको होटलमा बसेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।