बाबुराम-उपेन्द्र सहमतिमै डिभोर्स !

काठमाडौं, २७ असार । सत्ता गठबन्धनको मुख्य घटक जनता समाजवादी पार्टी जसपा पनि फुटको नजिक पुगेको छ ।

पार्टीको संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव पक्षले एकै समयमा तर छुट्टाछुट्टै स्थानमा पार्टीको बैठक बोलाएपछि पार्टी फुटको नजिकै पुगेको जसपा नेताहरुको भनाई छ ।

पार्टीभित्र विवाद बढ्दै गएपछि संघीय परिषद् अध्यक्ष डा.भट्टराई र कार्यकारिणी समिति अध्यक्ष यादवले सहमतिमै डिभोर्स गर्ने र एकले अर्कोलाई आरोप प्रत्यारोप समेत नगर्ने वचनबद्धता व्यक्त गरेका थिए । सोही अनुसार भट्टराई पक्षले काठमाडौंमा र यादव पक्षले वीरगंजमा पार्टी बैठक बोलाएका छन् । तर,जसपाका केहि जिल्ला समितिले भने विज्ञप्ति नै जारी गरेर दुबै पक्षको भेलामा सहभागी नहुने बताएका छन् ।

यता जसपाका दोस्रो पुस्ताका केहि नेताहरु अझैपनि पार्टी फुट्न नदिन सक्रिय भएको बुझिएको छ । उनीहरुले दुवै नेतालाई भेटेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिक आएको र फुटेर कसैलाई पनि फाइदा नहुने भन्दै पार्टी एक भएर जानुपर्ने बताएका थिए । तर डा.भट्टराई र यादवले अब एकै ठाउँमा बसेर सँगै हिँड्ने अवस्था अन्त्य भइसकेको बताएका थिए ।

अध्यक्ष यादव पक्षले जसपाले जितेको महानगर वीरगञ्जमा असार २९ र ३० गते केन्द्रीय समितिको बैठक बोलाएका छन् भने भट्टराईले काठमाडौंमा असार २८ र २९ मा केन्द्रीय समितिको बैठक बोलाएका छन् । स्रोतका अनुसार यही भेलाबाट औपचारिक रुपमै अलग हुने योजनाअनुसार नै दुवै पक्षले बेग्लाबेग्लै ठाँउमा बैठक बोलाएका हुन् । यद्यपि यसको औपचारिक घोषणा कसले पहिले गर्ने भन्नेमा दुवै पक्ष अलमलमा छन् ।

पार्टी विभाजनको संकेत डा.भट्टराईले सामाजकि सञ्जालबाट गरेका छन् । उनले वैकल्पकि राजनीतिक शक्त निर्माण गर्ने दिशामा अघि बढ्ने साहस गर्न आफु समर्थकलाई आग्रह गरेका छन् । यस अघि पनि वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै लामो समयको माओवादी राजनीतिबाट अलग भई २०७३ साल जेठ १ गते डा.भट्टराईले नयाँ शक्ति पार्टी घोषणा गरेका थिए ।

मधेसी जनाधिकार फोरमबाट नयाँ राजनीतिक शक्ति निर्माण गरेका यादवले भने पछि अशोक राई नेतृत्वको संघीय समाजवादीसँग एकता गरेका थिए । त्यसअघि फोरम गठन गर्दाका मुख्य हस्तीहरु जयप्रकाश प्रसाद गुप्ता, विजय गच्छदार, शरदसिंह भण्डारीलगायत नेताहरु हाल यादवसँग छैनन् ।

यादवसँगको औपचारिक डिभोर्सपछि भट्टराईले जसपाभित्रका पूर्व नयाँ शक्तिका नेताहरु संगै अशोक राई निकट केहि र यादव निकट केहि नेता समेतलाई लिएर नयाँ दल दर्ता गर्ने तयारीमा छन् ।

डा.भट्टराई र यादवको पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय