अर्थमन्त्री शर्माद्वारा राजीनामा

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामाको घोषणा गरेका छन् । संसदको विशेष समयमा बोल्दै शर्माले राजीनामा दिने घोषणा गरेका हुन् ।

बजेट निर्माणका क्रममा अनावश्यक मानिसको प्रवेश गराएको भन्ने आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले उक्त विषयकै छानविनमा सहयोग गर्नका लागि राजीनामा दिएको बताए ।

प्रमुख विपक्षी दल नेकपा एमालेले संसदबाटै उनको राजीनामा मागेको थियो । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेको र त्यस समयको सिसिटीभी फुटेज समेत माग हुनथालेपछि सत्ता गठबन्धनभित्रै पनि अर्थमन्त्री शर्माले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने विषय उठेको थियो ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि अर्थमन्त्री शर्माले राजीनामा नदिए प्रधानमन्त्रीले कारवाही गरेर निकाल्नुपर्ने आशय राखेका थिए । गत जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको भन्ने समाचार बाहिर आएपछि एमालेलगायत केही दलका नेताले राजीनामा माग गर्दै आएका थिए ।

अर्थमन्त्रीको राजीनामाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो ।

यसैगरी बुधबार माओवादी केन्द्रको शीर्ष नेताको बैठकमा अर्थमन्त्रीलाई राजीनामा दिँदा राम्रो हुने भन्दै फकाइएको र सोहीअनुसार शर्माले राजीनामा घोषणा गरेको बुझिएको छ ।

यता अर्थमन्त्री बाट राजीनामा दिएपछि शर्माले पार्टीको महासचिव दाबी गर्ने स्रोतको भनाइ छ । माओवादी पार्टीको चालू केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय