काँग्रेससँगको सम्बन्ध तोड्न र पदाधिकारी चयन गर्न प्रचण्डलाई दबाब

काठमाडौं, २१ असार । सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा प्रचण्डमाथि पार्टी नेताहरूको दबाब परेको छ ।

महाधिवेशन सम्पन्‍न भएको लामो समयसम्म पनि पार्टी पदाधिकारी टुङ्याउन नसक्नु र सत्ताको नेतृत्व गरेको काँग्रेससँग कहिले सम्म गठबन्धन गरिरहने भन्‍ने विषयले बैठकमा हंगामा भएको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यले अहिलेको गठबन्धन तोडेर बाम गठबन्धन बनाउनुपर्ने सुझाव दिएका छन् । यसैगरी काँग्रेससँगको सम्बन्ध जतिसक्दो छिटो तोडेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसबाहेकको गठबन्धन बनाउनुपर्नेमा समेत सदस्यहरुको जोड थियो ।

कतिपय केन्द्रीय सदस्यले नेपाली कांग्रेससँगको सहकार्यलाई लिएर अध्यक्ष प्रचण्डप्रति समेत प्रश्‍न उठाएका थिए । केन्द्रीय सदस्य परशुराम तामाङले नेपाली कांग्रेससँगको सहकार्य कति लामो हो ? भन्दै अध्यक्षले स्पष्ट जवाफ दिनुपर्ने बताए ।

पार्टीको रणनीति समाजवाद पुग्‍ने रहेको भन्दै तामाङले काँग्रेससँग सहकार्य गरेर हाम्रो पार्टीको नीति कसरी कार्यान्वयन हुन्छ ? भन्‍ने प्रश्न गरे ।

यसैगरी बैठकमा बोल्दै माओवादी नेता हरिबोल गजुरेलले महाधिवेशनले अध्यक्ष मात्रै निर्वाचित गरेको र पदाधिकारी अहिलेसम्म टुंगो लगाउन नसक्नु दु:खद भएको टिप्पणी गरे ।
अखिल क्रान्तीकारीकी अध्यक्ष समेत रहेकी पार्टी केन्द्रीय सदस्य पन्चा सिंहले बैठक जति दिन लम्ब्याएर भएपनि पदाधिकारी टुङ्ग्याउनुपर्नेमा जोड दिइन् ।

माओवादीको चालू केन्द्रिय समिति बैठकले गर्ने निर्णयले आगामी निर्वाचनमा हुने गठबन्धन र चुनावी तालमेल मात्रै नभई एमाले, समाजवादी सँगको पार्टी एकता वा सहकार्यबारे समेत खाका बन्‍न सक्ने एक नेताले बताए । उनका अनुसार पार्टीले एक्लै भएपनि चुनाव जित्‍ने गरी तयारी गर्नुपर्ने धेरै सदस्यहरूको राय थियो ।

सोमबार ४६ जना केन्द्रीय सदस्यले धारणा राखेको बैठक आज पनि चल्नेछ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिनेछन् । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माणबारे आएका हल्लामा भने कुनै सदस्यले टिप्पणी नगरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय