अर्थमन्त्रीले राजिनामा नदिए प्रधानमन्त्रीले निकाल्नुपर्छ- गगन थापा
काठमाडौं, २० असार । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।
उनले अर्थमन्त्रीले राजिनामा नदिए प्रधानमन्त्रीले थप कदम चाल्नुपर्ने समेत बताए । प्रतिनिधिसभा बैठक स्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काङ्ग्रेस महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री शर्माले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानविन गर्नुपर्ने समेत थापाले बताए । यसरी जताततैबाट प्रश्न उठेको विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्ने भन्दै नेता थापाले अर्थमन्त्रीले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नता हो होइन भन्ने स्पष्ट गर्न नसकेको बताए ।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेतले उनको विरोध गर्दै आएको छ ।
सोमबार एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत अर्थमन्त्री र सरकारको चर्को विरोध गरेका थिए ।
सोमबारको संसद् बैठकमा पनि बजेट निर्माणकाक्रममा अर्थमन्त्रालयमा प्रवेश गरेका व्यक्तिबारे छानविन गर्न र सिसीटिभी देखाउन माग गरिएको थियो ।
यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने चुप छन् ।