घाटा धान्‍नै सकिएन, पैसाको अभावले इन्धन आपूर्ति रोकिन सक्छ: आयल निगम

काठमाडौं, २० असार । नेपाल आयल निगमले पैसाको चरम अभाव भएका कारण इन्धनको आपुर्ति नै रोकिने अवस्था आउन सक्ने बताएको छ । निगमले घाटा धान्‍नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण समेत गराएको छ ।

सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ । निगमका कार्यकारी उमेश प्रसाद थानीले लेखेको पत्रमा भनिएको छ ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।’

घाटा धान्‍न नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्‍नका लागि इन्धनको खपत कम गर्नुपर्ने कुरा पनि पत्रमा उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय