दोस्रो अभ्यास खेलमा पनि नेपालको जीत
काठमाडौं, २० असार । क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले त्यहाँ खेलिएको दोस्रो अभ्यास खेलमा पनि जीत हासिल गरेको छ । टी२० अभ्यास खेलमा स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो ।
२१० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ३ ओभरमा अलआउट हुँदै १५४ रन मात्र बनायो । ओन्टारियोका लागि बरुण सहदेवले सर्वाधिक ५० रन बनाए भने जेड मदमोरले ३७ रन बनाए ।
ओन्टारियोले पहिलो ८ ओभरभित्र राम्रो सुरुवात गरेपनि त्यसपछि निरन्तर विकेट गुमायो । उसका पाँच खेलाडी रनआउट बनेका थिए । नेपालका सोमपाल कामीले २ विकेट लिँदा करण केसी, आदिल अन्सारी र किशोर महतोले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए । त्यसैगरी दिपन्द्रसिंह ऐरीले ५४ रन बनाए । ओन्टारियोका रेमान्ड, वरुण, किनान र हसनले १-१ विकेट लिए ।
नेपालले अब क्यानाडासँग दुई एकदिवसीय खेल खेल्ने छ । त्यसपछि नेपाल स्कटल्यान्ड र नामिबियासँगको विश्वकप लिग-२ को खेलका लागि स्कटल्यान्ड जानेछ ।