काङ्ग्रेस स्वार्थी देखियो, अब गठबन्धन नहुन सक्छ: प्रचण्ड

काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेस स्वार्थी भएको भन्दै अबको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल नहुन पनि सक्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनका लागि गरिएको गठबन्धनमा नेपाली कांग्रेस स्वार्थी बनेको विश्लेषण गरे । काङ्ग्रेस आफुले जित्ने ठाउँमा हामीलाई दिन नखोज्‍ने र हामीले जित्‍ने ठाउँमा आफुले भाग खोज्‍ने अनि नपाए एमाले रोज्‍ने गरेको टिप्पणी समेत गरे ।

पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै प्रचण्डले कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको आरोप समेत लगाए । केही नेताले गठबन्धन गर्नै हुन्‍न भनेर पनि बोल्दै हिँडे तर काङ्ग्रेसले त्यसलाई रोक्न सकेन भन्दै उनले काङ्ग्रेस यसरी स्वार्थी हुन्छ भन्‍ने नलागेको तर रिजल्टले त्यही देखाएको बताए ।

यसैगरी गठबन्धनको अर्को शक्ति नेकपा (एकीकृत समाजवादी)ले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दाबी गरेको पनि उनको आरोप थियो । मधेसमा प्रभाव भएको जसपाले पनि आफूहरुलाइ इमान्दार देखाउन नसकेको उनको तर्क थियो । जसपाले मधेसमा माओवादीसँग सहकार्य र तालमेल गर्नै नचाहेको उनको गुनासो थियो ।

पार्टीको केन्द्रिय समिति बैठकमा गएको स्थानीय निर्वाचनको समीक्षासँगै आगामी निर्वाचनको तयारी बारे समेत छलफल हुने माओवादीले जनाएको छ ।

यो बैठकले पार्टी पदाधिकारी चयन गर्ने भनिएपनि त्यसले पार्टीमा झन विग्रह ल्याउन सक्ने भन्दै तत्काल यो एजेन्डामा छलफल नहुने एक नेताले बताए ।

पार्टीको महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्‍नेत, देव गुरुङ, पम्फा भुषालको दाबी रहेका कारण र नारायणकाजी श्रेष्ठ पक्षले पनि पदाधिकारीमा दाबी गरेकोले अहिले यो विषय टुङ्गो नलाग्‍ने ती नेताको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय