कीर्तिमानः टेस्ट क्रिकेटमा एकै ओभरमा ३५ रन !
एजेन्सी, १८ असार । टेस्ट क्रिकेटलाई धैर्यताको खेल मानिन्छ । प्राय टेस्ट क्रिकेटमा रनको गति कम हुन्छ । सबैभन्दा लामो फर्म्याटको यो खेलमा टिकेर खेल्नु महत्वपूर्ण हुन्छ ।

तर भारत र इंग्ल्यान्डबीचको टेस्ट क्रिकेटमा टी-२० शैलीको खेल देखिएको छ । एकै ओभरमा ३५ रन प्रहार भएको छ र कीर्तिमान नै बनेको छ ।

इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले एकै ओभरमा ३५ रन खर्चिएका हुन् । सामान्यतयाः टेस्टमा कुनै टोलीले ३५ रन प्रहार गर्न करिब १० ओभर खेलेका हुन्छन् ।
तर आज एकै ओभरमा त्यति रन प्रहार भयो । भारतको अन्तिम विकेट बाँकी रहँदा स्ट्राइकमा रहेका कप्तान जसप्रीत बुमराहले बाउन्ड्रीको वर्षात् गरे ।
८३औं ओभरको खेल सुरु हुँदा भारत ३७७-९ को अवस्थामा थियो । बलिङमा आएका ब्रोड विकेट लिने दाउमा थिए तर पहिलो बलमै चौका खान पुगे ।
दोस्रो बल बाउन्सर प्रयास गरेका ब्रोडले धेरै नै उचाइमा फाले र वाइड ठहरिएको उक्त बल विकेटकिपरको हातमा समेत पर्न सकेन र ४ रनका लागि गयो ।
तेस्रो बलमा नो बल फालेका उनलाई बुमराहले छक्का प्रहार गरे । त्यसपछिका तीन बलमा लगातार तीन चौका प्रहार गरेका बुमराहले अन्तिम बलमा १ रन लिए र ओभरमा कूल ३५ रन आयो ।
ब्रोडका लागि धेरै रन खर्चिएको अनुभव पहिलो भने हैन । उनले सन् २००७ को टी-२० विश्वकपमा एकै ओभरमा छ छक्का खाएका थिए । त्यसबेला पनि भारत नै विपक्षी थियो र युवराज सिंह ब्याटिङमा थिए ।
भारतले इंग्ल्यान्डविरुद्ध ४१६ रन बनाउँदै अलआउट भएको छ र केहीबेरमा इंग्ल्यान्ड ब्याटिङमा उत्रदैँ छ ।