खोटाङमा पहिरोले एक घर बगायो, एघार घर उच्च जोखिममा
राससखोटाङ, १८ असार । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाएको छ भने ११ वटा घर उच्च जोखिममा परेका छन् ।

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिराले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो । उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन ।

रातिदेखि निरन्तर झरिरहेको करिब ५०० मिटर लामो पहिराले भैरवबहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको स्थानीयवासीले बताए ।
कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिराले ११ घर उच्च जोखिममा पारेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए । पहिराले गर्दा स्थानीय भैरवबहादुर, हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई पीडित भएका छन् ।
यसैबीच वर्षासँगै परेको चट्याङले बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित कोठालेका रामबहादुर राउतकी श्रीमती ४६ वर्षीया चन्द्रमाया राउतको मृत्यु भएको छ । गएराति घरैमा सुतिरहेको अवस्थामा गोठमा परेको चट्याङको झड्काले लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको गोठमा परेको चट्याङले मृतक आमासँगै सुतेकी १६ वर्षीया छोरी यशोदा भने सामान्य घाइते भएकी छन् ।