देउवामाथि शेखर समुहका दुई आरोप: सरकार सञ्चालनमा असफल र गुटको सभापति !
काठमाडौं, १८ असार । नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाइ उनकै पार्टीका नेताहरुले सरकार सञ्चालनमा उदासीन र पार्टी सञ्चालनमा एकलौटी गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

पार्टीको शेखर कोइराला समुहको नाममा राजधानीमै दुई दिनसम्म चलेको भेलाले उक्त निष्कर्ष निकालेको हो । भेलामा कोइरालासहित महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ, सह-महामन्त्री जीवन परियार, नेताहरू चन्द्र भन्डारी, रामशरण महतलगायत सहभागी थिए ।

भेलामा बोल्ने नेताहरूले सरकारले जनतालाई राहत दिन नसकेको, आर्थिक सुशासनको खिल्ली उडाइएको र व्यापक नीतिगत भ्रष्टाचार भएको भन्दै सभापति एवं प्रधानमन्त्री देउवाको आलोचना गरेका थिए ।
भेलामा सहभागी गोविन्द पोखरेलले सरकारले जनजीविकाका मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै सुशासनको सवालमा राजश्व अनुसन्धान सम्पत्ति शुद्धिकरणलगायतलाई प्रधानमन्त्रीको मातहतबाट हटाउने भनेर पार्टीले राजनीतिक प्रतिबद्धता जनाएको तर, प्रधानमन्त्रीले त्यसअनुसार काम गर्न नसकेको आरोप लगाएका थिए ।
यता, पार्टीभित्र पनि सभापति देउवाले आफ्नो गुटको मात्रै कुरा सुनेको र महाधिवेशनमा अर्को समुहबाट जितेका पदाधिकारीलाई समेत जिम्मेवारी दिन नखोजेको आरोप समेत भेलामा सहभागीले लगाएका थिए ।
उनीहरुले महाधिवेशनमा देउवाको विपक्षमा ४१ प्रतिशत मत आएकोले पार्टीभित्रको जिम्मेवारी र सरकारले गर्ने नियुक्तिमा पनि ४१ प्रतिशत नै हिस्सा पाउनुपर्ने माग गर्दै सभापतिको ध्यानाकर्षण गराए ।
अबको केही समय पछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार छनोट गर्दा ४१ प्रतिशत उम्मेदवार आफुहरुले लिने गरी दबाब बढाउन पनि यो भेला आयोजना गरिएको बुझिएको छ ।