चुनाव घोषणा नहुदै उम्मेदवार बन्‍ने दौड, शीर्ष नेता काठमाडौं छाडेर भाग्दै !

काठमाडौं, १७ असार । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्रदेखि साना ठुला राजनीतिक दलका नेताहरू सांसदको टिकट हात पार्न दौडधुप सुरु गरेका छन् ।

यो दौडधुपमा सबै ठुला-साना राजनीतिक दलका शीर्ष नेता भने कोही पनि काठमाडौंमा चुनाव लड्ने देखिन्‍न । काठमाडौंबाट चुनाव जित्‍नेमा उनीहरु ढुक्क पनि छैनन् ।

निर्वाचन आयोगले छिटोमा कार्तिक ३० र ढिलोमा मंसिर दोस्रो साताभित्र निर्वाचन गरिसक्ने गरी तयारी थालेको छ । तर, निर्वाचनको औपचारिक मिति भने राजनीतिक दल र सरकारसङ्गको परामर्श पछि मात्रै तय गरिने आयोग स्रोतको भनाइ छ ।

यसैबीच निर्वाचनको मिति घोषणा नहुँदै काठमाडौंलगायत देशका केही मुख्य क्षेत्रमा स्वतन्त्र उम्मेदवारलेनिर्वाचन क्षेत्र छनोट गर्दै उम्मेदवारी घोषणा गरेका छन । तर, दलका नेताले भने इच्छा भएर पनि घोषणा गरिहाल्दा पार्टीले टिकट नदिने वा अर्को व्यक्तिले टिकट हात पार्ने हो कि भन्ने भयले गर्दा खुलेर उम्मेदवारी घोषणा गरेका छैनन् ।

गएको स्थानीय निर्वाचनमा काठमाडौं,धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारले मेयर (प्रमुख) जितेपछि प्रतिनिधिसभा र प्रदेशमा पनि स्वतन्त्र उठ्नेको भिड बढेको छ । यता दलका नेताहरू पनि आफुलाइ जनता बिचमा लोकप्रिय रहेको देखाउन थालेका छन् ।

यसपटक प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा अन्य क्षेत्रमा भन्दा काठमाडौंमै चुनावी भिडन्त रोचक हुने देखिन्छ । काठमाडौबाट नेपाल प्रहरीका पुर्वडिआइजी रमेश खरेल, सञ्‍चारकर्मी रवि लामिछाने, रन्जु दर्शना, सुमन सायमी, मानुषी यमी, हरिशरण लामिछाने, इनफ इज इनफ अभियानका पुकार बम चुनाब उठ्ने देखिन्छ ।

यसैगरी राजनीतिक दलमा पनि काङ्ग्रेस महामन्त्री गगन थापा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेस पुर्वउपसभापति प्रकाशमान सिंह, काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महत, काङ्ग्रेस नेताहरू सन्तोष चालिसे, हरिबोल भण्डारी, राजनजंग केसी, एमाले सचिव योगेश भट्टराई, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जीवनराम श्रेष्ठ, जसपा नेतृ हिसिला यमी, राजेन्द्र श्रेष्ठलगायत झन्डै ५० जनाको दावी काठमाडौंमै छ ।

सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा गठबन्धन हुने नदेखिए काठमाडौंमा प्रतिस्पर्धा गर्न गाह्रो हुने देखेपछि केही नेता काठमाडौं छोडेर आफ्नो जन्मथलो फर्किने तयारीमा पनि छन् ।

माओवादी अध्यक्ष प्रचण्ड चितवन, काङ्ग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा, एमाले अध्यक्ष केपी ओली झापा, जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई गोरखा र नेकपा एसका अध्यक्ष माधव नेपाल रौतहटबाट चुनाव लड्ने छन् ।

यसैगरी काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा, काङ्ग्रेस प्रवक्ता डा.प्रकाशशरण महत नुवाकोट, एमाले सचिव योगेश भट्टराई ताप्लेजुङ, नेकपा एसकी सचिव रामकुमारी झाँक्री गुल्मी र काङ्ग्रेस नेता प्रदीप पौडेल तनहुँ जाने देखिन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय