पोखरामा अवैध गतिविधि सञ्चालन गरेको आरोपमा तीन चिनियाँ र एक नेपाली पक्राउ
पोखरा, १७ असार । पोखरामा अवैध गतिविधि सञ्चालन गरेको आरोपमा तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन् ।
शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा पोखरा महानगरपालिका-१७ ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बिहिबार छापा मारेर ४५ लाख ९७ हजार १८० रूपैयाँसहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको हो ।
उनीहरुको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका– ७ का सुमन तामाङ छन् भने चिनियाँ नागरिकको पहिचान खुलेको छैन ।
तामाङकै नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको भनाइ छ ।
नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई पहिल्यैदेखि प्राप्त हुँदै आएको छ ।