देउवा भन्छन्, ‘सरकार निर्वाचन गराउन प्रतिबद्ध छ’
काठमाडौं, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफतापूर्वक सम्पन्न भएको र आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘संविधानसभाबाट संविधान जारी गरेपछि मुलुक सङ्घीय लोकतान्त्रिक व्यवस्थाबाट अघि बढिरहेको छ’, उनले भने, ‘स्थानीय तहको निर्वाचन भयरहित, स्वच्छ वातावरणमा सम्पन्न भएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’
दिगो शान्ति र सुशासन कायम गर्नेतर्फ मुलुक अगाडि बढिरहेको बताउँदै उनले देशलाई विकसित बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।