नेपाल एसिसी महिला टी-२० च्याम्पियनसिपबाट बाहिरियो
काठमाडौं, १० असार । नेपाल मलेसियामा जारी एसिसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
युएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । युएई आफ्नो समूहको विजेता भएको कारण फाइनलमा पुगेको छ ।
मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको लक्ष्य पाएको थियो ।
अर्को सेमिफाइनलमा मलेसियाले हङकङलाई १२ रनले हराएर फाइनल पुगेको छ । फाइनल पुगेका यी दुई टोलीले अब एसिया कप खेल्न पाउने छन् ।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड छन् ।