खम्पा विद्रोह सम्झिंदै मुस्ताङका सांसद तुलाचनले भने –अमेरिकी रणनीतिबारे सचेत बनौं

काठमाडौं । मुस्ताङबाट निर्वाचित नेकपा एमालेका सांसद प्रेम तुलाचनले खम्पा विद्रोह सम्झिँदै अमेरिकी रणनीतिबारे सचेत हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद तुलाचनले आफू सानो छँदा भएको खम्पा विद्रोह सम्झिँदै आसन्न अमेरिका भ्रमणमा सचेत रहन प्रधानमन्त्रीलाई सुझाव दिएका हुने । अमेरिकाले ५० वर्षपछिको उद्देश्य सोचेर सैन्य रणनीति बनाउने गरेको भन्दै सांसद तुलाचनले, २०३१ सालमा मुस्ताङमा भएको खम्पा विद्रोहमा अमेरिकाले जहाजबाट हतियार झारेको र नेपाली सेनाले पछि दमन गरेको बताए ।

‘खम्पा हटेपछि पनि गाउँ–गाउँमा लुकाएर राखेको हतियार पाइएको हामीले नै देखेका हौं । त्यो इतिहास हेर्दा अमेरिकाको पोलिसी के छ भन्ने कुरा त्यो बेलादेखि शुरुआत रहेछ । यो विषयमा सचेत रहनुपर्छ किनकी अमेरिकाले त ५० वर्षपछिको हेरेर गर्ने रहेछ ।’ सांसद तुलाचनले भने । पछिल्लो समय मुस्ताङमा हाई अल्टिच्युड सैन्य तालिम मैत्रीपूर्ण रुपमा चलिरहेको र त्यस्ता तालिममा अमेरिकामात्र नभएर भारत, चीन र पाकिस्तानका सैनिक पनि सामेल हुने गरेको भन्दै अमेरिकाको रणनीतिबारे भने सजग हुनुपर्नेमा उनले जोड दिए ।

‘म पनि २२ वर्ष नेपाली सेनासँग काम गरेको हुनाले मलाई थाहा छ, यो मैत्रीपूर्ण तालिम हो । त्यसबेला त आकाशमा जहाज उड्थ्यो, जहाजको पुच्छरबाट हतियार झारिन्थ्यो ।’ सांसद तुलाचनले भने- हाम्रो सेना धेरैजना त्यसबेला हाई अल्टिच्युडका कारण मरे । सेना धेरै मरेपछि सेनालाई हाई अल्टिच्युड तालिम दिनुपर्छ भन्ने भएको होला । अहिले प्रत्येक वर्ष हाम्रो मुस्ताङको माथिल्लो क्षेत्रमा तालिम हुन्छ र विभिन्न देशका सैनिक आउँछन् ।’

उनले खम्पाहरु कहाँबाट परिचालित थिए, खाद्यान्न कहाँबाट आयो भन्ने थाहा नभएको र पछि अमेरिका त्यसका पछाडि रहेको खुलेको उनले बताए । ‘त्यसबेला तिब्बतबाट खम्पाहरु हिमाली क्षेत्रमा बसोबास गरे । हजारौंको संख्यामा आएका उनीहरु हाम्रो मुस्ताङको विभिन्न ठाउँमा क्याम्प खडा गरेर बसेको मलाई याद छ । उनीहरु हिमालको खोंचतिर बसेका थिए । ती खम्पाहरु कहाँबाट परिचालित थिए, खाद्यान्न कहाँबाट आयो थाहा थिएन ।’ उनीहरुले चौंरी गोठ, भेंडा गोठ किडन्याप गर्ने, लुटपाट गर्ने पनि गर्न थाले । पछि चीनले नेपाल सरकारलाई पत्र लेखेर उनीहरुलाई तह लगाउने कि हामीले गरौं रु भनेपछि पछि नेपाल सरकारले २०३३ सालमा एक्सन लियो । नेपाली सेना हजारौंको संख्यामा गएको मैले देखेको हुँ ।’ सांसद तुलाचन भने –पछि खम्पाका कमाण्डर वार्तामा आऊ भन्दाभदै दुईरतीनपटक समय सार्दै गए । पछि दार्चुलाको टिंकरमा पुगेर सेनाले कमाण्डर वाङ्दीलाई मार्यो । हामीले त्यसबेला सुनेको ती वाङ्दी पनि अमेरिकामा तालिम गरेर आएका थिए ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय