अखिल क्रान्तिकारीका उपाध्यक्षसहित १० जना केन्द्रीय सदस्यलाई कारबाही
काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १० जनालाई कारबाही गरिएको छ। अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले संगठनको विधि विपरीत काम गर्नेहरूलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा उपाध्यक्ष पवन कार्की, प्रवीण बस्नेत, बालकुमार केसी, सञ्जिव चौधरी, उपदेश यादव, रमेश खड्का, पदम नेपाली, वसन्त भण्डारी लगायत १० जना केन्द्रीय सदस्य छन् ।
अखिल क्रान्तिकारीको केन्द्रीय बैठकमा होहल्ला र नाराबाजी गर्दै बैठक अवरोध गरेपछि कार्की पक्षका नेताहरूलाई हलबाट निकालिएको थियो । कार्की पक्षले केन्द्रीय समितिको बैठक सुरु नहुँदै विरोधमा नाराबाजी गरेपछि आइतबार विवाद चर्किएर हात हालाहालको स्थिति सिर्जना भएको थियो।कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष पन्चा सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको समेत राजीनामा मागेका छन् ।
कार्की पक्षले केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी नमिलेको भन्दै खारेजीको माग गर्दै आएको छ । असन्तुष्ट पक्षले शाक्यलाई कालोमोसो दल्न खोजेको थियो भने विधानविपरीत गर्न खोजेको भन्दै नेतृत्वविरुद्व चर्को नाराबाजी गरेको थियो । यो अखिल क्रान्तिकारीको तेस्रो विस्तारित बैठक हो । बैठकमा सहभागी केन्द्रीय सदस्यलाई शपथ खुवाएर आजै सकिने बताइएको छ।