यी नेता को कहाँबाट चुनाव लड्दैछन् ?

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँदेखि पुराना सबै राजनीतिक दलका शीर्ष नेताहरू प्रत्यक्ष चुनाव लड्ने मनस्थितिमा देखिन्छन् ।

०४८ सालदेखी निर्वाचन लडेर जित्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी शर्मा ओली,नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड,सह संयोजक माधवकुमार नेपाल,पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी प्रतिस्पर्धामा उत्रने देखिन्छ। यद्यपि डा.भट्टराईले यसबारे घोषणा गरेका छैनन् तर प्रगतिशील लोकतान्त्रिक पार्टीले उनलाई गोरखा-२ बाट चुनाव लड्न एकल सिफारिस गरिसकेको छ।

यता नेकपा माओवादी महासचिव नेत्रबिक्रम चन्द विप्लव सहित नयाँ दलका नेता बालेन साह, सुदन किराँती, जनार्दन शर्मा,हर्क साङ्पाङ,कुलमान घिसिङदेखि रवि लामिछाने,रेशम चौधरी,सिके राउत,प्रभु शाह पनि चुनाव लड्ने छन् । त्यसैगरी पूर्णबहादुर खड्का,शेखर कोइराला,राजेन्द्र लिङ्देन,महेश बस्नेत,बर्षमान पुन,राजेन्द्रप्रसाद पाण्डे,सुनिल शर्मा पनि चुनाव लड्ने छन् ।  कांग्रेस महामन्त्री गगन थापा,विश्वप्रकाश शर्मा,प्रदिप पौडेलले चाहिँ पार्टीको महाधिवेशन नभए नलड्ने भनेका छन् । यद्यपि यो अन्तिम निर्णय चाहिँ होइन। केही नेता बाहेक धेरैले पुरानै क्षेत्रमा उम्मेदवार बन्ने घोषणा गरिसकेका पनि छन् ।

कुन नेता कहाँबाट चुनावी मैदानमा उत्रँदै छ्न् त ?

पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहादुर चन्द र नेकपा सम्मानित नेता झलनाथ खनाल बाहेक अरु सबै पुर्ब प्रधानमन्त्री यसपटक पनि प्रत्यक्ष चुनाव लड्दै छन् । चन्दले आफू निर्वाचनमा नलड्ने बताइसकेका छन । खनाल र डा.बाबुराम भट्टराईले निर्णय गर्न बाँकी छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट नै चुनाव लड्दैछन । उनी २०४८ सालदेखि सोही क्षेत्रबाट चुनाव जित्दै आएका छन् । काठमाडौं क्षेत्र नम्बर-४ बुढानिलकण्ठ घर भएका देउवा चुनावमा भने डडेल्धुरा नै रोज्दै आएका छन् । उनले अब अन्तिम पटक चुनाव जितेर आउने मनस्थिति बनाएको कुरा बाहिर आइसकेको छ।

यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट चुनाव लड्दै छन् । भक्तपुरको बालकोट घर भएका तर,जेनजी आन्दोलनमा घर जलेपछी गुन्डु बस्दै आएका ओलीले झापालाइ चुनावी क्षेत्र बनाएर निर्वाचन गतिविधि सुरु गरिसकेका छन् ।२०७४ र २०७९ मा पनि उनी झापा-५ बाटै निर्वाचित हुन् ।

यता पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि चुनाव लड्दै छन् तर,क्षेत्र टुंगो लागेको छैन। उनको हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्ने बानीले अहिले जित्ने क्षेत्र खोज्न सकस देखिएको छ। यद्यपि उनको नाम कास्कीबाट सिफारिस छ। कास्की उनको जन्मथलो हो । २०७४ सालमा चितवनबाट जितेका उनि २०७९ मा गोरखा-२ बाट निर्वाचित हुन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा सह संयोजक माधवकुमार नेपाल रौतहट बाट चुनाव लड्दै छन् । काठमाडौ कोटेश्वर घर भएका नेपालले यसअघि २०७९ सालमा यहीँबाट चुनाव जितेका थिए । त्यस्तै सोही पार्टीका सम्मानित नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम बाट चुनाव लड्दै आएका थिए। अब उनी नलड्ने देखिन्छ।

पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लड्नै परेमा गोरखा-२ बाट नै चुनाव लड्दैछन । काठमाडौं टोखा घर भएका भट्टराईले २०६४ देखि गोरखाबाट नै चुनाव जित्दै आएका छन् । यद्यपि उनले मुख खोलेका छैनन् । नयाँलाई अवसर दिनुपर्छ भन्दै आएका भट्टराईलाई यसपटक आफैं चुनाव लड्न धेरैले आग्रह गरिरहेका छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका चर्चित अनुहार रवि लामिछाने,बालेन साह र कुलमान घिसिङ पनि प्रत्येक्ष चुनाव लड्ने छन् । रवि चितवन २ बाटै उठ्ने निश्चित छ। उनी यसअघि सोही क्षेत्रबाट निर्वाचन जितेर आएका थिए। त्यसैगरी बालेन साह काठमाडौं २ र कुलमान काठमाडौं ३ बाट चुनाव लड्ने तयारीमा छन् । यसअघि काठमाडौं २ बाट जितेकी रास्वपा नेत्री सोबिता गौतमलाई यसपटक चितवन ३ बाट उठाउने तयारी छ। सोबिताको श्रीमानको घर चितवन हो। रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ १ बाट र अर्का उपसभापति डिपि अर्याल धादिङ २ वा काठमाडौं ९ बाट उठ्ने तयारी छ। डिपिको जन्मथलो धादिङको निर्वाचन क्षेत्र नम्बर २ हो।

नयाँ दलको रुपमा उदाएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङ्पाङ धरानको मेयरबाट राजीनामा दिएर संसदमा छिर्ने तयारीमा छन् । उनले सुनसरी १ बाट चुनाव लड्ने तयारी गरेका छन् । सुनसरी १ मा धरान उपमहानगरपालिका पनि पर्ने भएकोले उनको रोजाइ त्यहीँ भएको हो। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष मध्य सुदन किराँती भोजपुरबाट र नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट चुनाव लड्ने तयारीमा छन् । यसअघि पनि किराँती भोजपुरबाट र जनार्दनले रुकुमबाट चुनाव जितेर आएका थिए।

यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी बाट चुनाव लड्दै छन् । उनले २०७९ को चुनावमा सप्तरीबाट हार व्यहोर्नुपरेको थियो। पछि बाराको उपचुनाव जितेर संसद आइपुगेका हुन् । त्यस्तै लोसपा अध्यक्ष महन्त ठाकुर महोत्तरीबाट चुनाव लड्दै छन् भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३ बाट निर्वाचन लड्दैछन् ।

कांग्रेस नेता डा.शेखर कोइराला मोरङ ६ बाट, सुनिल शर्मा मोरङ ३ बाट र एमाले सचीव महेश बस्नेत भक्तपुर २ बाट चुनाव लड्ने छन् । नेकपा नेता बर्षमान पुन रोल्पाबाट र नेत्रविक्रम चन्द विप्लव कपिलवस्तुबाट चुनाव लड्ने देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय