बिक्न छाडे सारंगी, गुञ्जिन छाड्यो धुन

पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्नेे गन्धर्व समुदायको सङ्ख्या घट्दै गएको छ। नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको सङ्ख्या घट्दै गएको हो।

गाउँमा सारङ्गी बाजा बजाउने मानिस नहुँदा बनाएका सारङ्गी बिक्रीमा पनि समस्या भइरहेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्ती निवासी डाइवर गन्धर्व बताउछन्।

करिब तीन दशक बढी समयदेखि सारङ्गी बाजा बनाउँदै आएका डाइवर पछिल्लो समय आफ्नो पेसा सङ्कटमा परेको बताए। सारङ्गी बजाउने मानिस कम हुँदै जाँदा बिक्री पनि हुन छाडेको भन्दै उनले भने, “पहिले सारङ्गी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सारङ्गी बिक्नै छाडिसकेको छ। बनाउने काममात्र होइन, अब त कोठामा सजाएर राख्ने काम मात्र भएको छ।”​

डाइवर गन्धर्वका अनुसार समय परिवर्तनसँगै गन्धर्वहरूले गीत गाउन र सारङ्गी बजाउन छाड्दै जाँदा यो पेसा नै ओरालो लागेको छ। पहिलेजस्तै सबैले गीत गाउने र सारङ्गी बनाउने गरे त राम्रै हुन्थ्यो होला तर अहिले गाउँमा सारङ्गी बजाउन जान्ने सीमित मानिसमात्र छन्।

गाउँमा सारङ्गी बजाउने मानिस नहुँदा बिक्री पनि हुन छाडेको उनले बतायो। गाउँमा सारङ्गी बजाउने कोही भए पो बनाएका सारङ्गी बिक्थे। अहिले बजाउने मान्छे नै छैनन्, त्यही भएर बिक्री पनि हुँदैनन्। बनाएका नबिक्दा थप नयाँ बनाउन पनि मन लाग्दैन। पहिले महिनामा सात–आठवटा सारङ्गी बिक्री हुने गरे पनि अहिले दुई–तीन जतिमात्र बिक्री हुने गरेको बताउछन्।

त्यसैगरी, सारङ्गी बनाउने कलामात्र सङ्कटमा परेको होइन, आवश्यक सामग्रीको अभाव पनि मुख्य समस्या बनेको छ। सारङ्गी बनाउन राम्रो काठ चाहिने भए पनि पछिल्लो समय खमारी पाउनै समस्या भएको उनले बताएजिल्लामै सारङ्गी बनाउने आफूमात्र भएको भन्दै उनले भने, “आफ्नो मौलिक बाजा बजाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारङ्गी बनाउन काठमात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ।”

सामुदायिक वनका कारण जङ्गलमा जान नपाइने र चिनेका काष्ठ उद्योगबाट खमारी काठ ल्याएर सारङ्गी बनाउने गरेको उनले बताए। साना आकारका सारङ्गी रु चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गरेका छन् भने ठूला र आकर्षक डिजाइनका सारङ्गी रु नौदेखि १० हजारसम्ममा बिक्री हुने गरेको डाइवर बताउछन्।

सारङ्गीको महत्व र संरक्षण घट्दै जाँदा सारङ्गी बजाएरै जीविका चलाउनेलाई चिन्ता लाग्न थालेको छ। सारङ्गी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षण र रोजगारीको अवसर सृजना हुने गन्धर्व समुदायका मानिस बताउँछन्। रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय