मिराज ईन्स्टिच्युटले ‘वेक एन्ड सेल’ कार्यक्रम गर्दै
काठमाडौं ।काठमाडौंको बौद्धमा रहेको मिराज इन्स्टिच्युट फर भोकेसनल एजुकेजन एन्ड रिसर्चले आफ्ना विद्यार्थीको सक्रियता र सहभागितामा एक हप्ते ‘वेक एन्ड सेल’ कार्यक्रम गर्ने भएको छ।
असार ८ गते आइतबारदेखि सुरु हुने कार्यक्रममा अहिले ईन्स्टिच्युटमा सिक्दै गरेका र पुराना विद्यार्थीको सहकार्यमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यी कार्यक्रम हुनेछन् । जसमा विद्यार्थीले ईन्स्टिच्युटको कक्षा कोठा,किचनदेखी आफ्नै घरको किचन र फिल्ड भिजिटमा समेत प्रयोगात्मक सीप देखाउने छन् । यो समयमा प्रशिक्षार्थी विद्यार्थीले आफुले सिकेको शीप र ज्ञानको भरपुर उपयोग गर्न सक्नेछन् ।

यसै सन्दर्भमा प्रशिक्षार्थीहरुले तयार पारेको बेकरी आइटमहरु आफ्नै कार्यालय परिसरबाट बिक्रि पनि गरिने छ। विद्यार्थीहरुकै समन्वयमा हुने कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो कला देखाउँदै बेकरी र केकका परिकारहरु तयार पार्ने छन् । त्यसैगरी डेन्टल सर्भिस,बैंकिङ परामर्श र अन्य बिषयमा पनि जानकारी दिइने छ।

मिराज ईन्स्टिच्युटका संचालक तथा अध्यक्ष बबिता दुलाल,निर्देशक योगेश बस्ताकोटी र प्रशिक्षक प्रमुख प्रदीप सापकोटा लगायतले विद्यार्थीलाई आवश्यक सहजीकरण गर्ने बताइएको छ।
तस्वीर : अनुपराज शाही/मिराज

