झगडा र लफडाबीच प्रदेशहरुले मध्यरातमा ल्याए २ खर्ब ८७ अर्बको बजेट

काठमाडौं । दिनभर कतै झगडा कतै लफडा चलिरहे पनि मध्यरातमा ७ वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँको कुल बजेट ल्याएका छन्।
बजेट निर्माण र वितरणमा सबैभन्दा बढी लफडा वाग्मती र कर्णाली प्रदेशमा देखियो। सत्तापक्ष र प्रतिपक्षी बीचको विवादले यी दुई प्रदेशको बजेट आइतबार राति १० बजेपछि प्रदेशसभामा प्रस्तुत गरिएको थियो।
संघ सरकारले नेपालको संविधान २०७२ अनुसार जेठ १५ मा अनिवार्य बजेट ल्याउनुपर्ने र प्रदेश सरकारले अन्तर्सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार असार १ गते आगामी आवको राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने व्यवस्था छ।
लगातर बजेट घटाएर ल्याएका केही प्रदेशले आगामी आर्थिक वर्षको लागि बजेट बढाएका छन्। त्यसैगरी चालू आर्थिक वर्षको तुलनामा लुम्बिनी र गण्डकी प्रदेशले बजेट घटाएका छन्।
आर्थिक वर्ष २०७९/०८० मा ३ खर्ब ६ अर्ब बजेट ल्याएका प्रदेशहरुले आर्थिक बर्ष २०८०/०८१ मा सात प्रदेशको कुल बजेट २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ थियो। यसपटक अझै अघिल्लो भन्दा घटी र चालु आर्थिक बर्ष भन्दा ७ अर्ब बढी बजेट सार्बजनिक भएको छ।
कुन प्रदेशले कति ल्याए?
कोशी प्रदेश: आगामी आर्थिक वर्षको लागि कोशीमा ३५ अर्ब ८७ करोडको बजेट विनियोजन गरिएको छ। यसमध्ये चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख छ। कोशीमा ल्याइएको बजेट प्रति माओवादी र एकीकृत समाजवादीले असन्तुष्टि व्यक्त गरेका छन् ।
मधेश प्रदेश: मधेश प्रदेश सरकारले आगामी आवको लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।
यहाँ चालूतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत बजेट विनियोजन भएको छ।
बागमती प्रदेश: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट छुट्याएको छ। चालु आर्थिक बर्ष भन्दा करिब ३ अर्ब बढीको बजेट वाग्मतीले ल्याएको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालूतर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ अर्थात् ३८.६ प्रतिशत र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ अर्थात् ६१.४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
गण्डकी प्रदेश:गण्डकी सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याएको छ। यो अघिल्लो वर्षभन्दा कम बजेट विनियोजन हो।
लुम्बिनी प्रदेश : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड विनियोजन गरेको छ।
चालूतर्फ १२ अर्ब १ करोड र पुँजीगततर्फ २३ अर्ब ४७ करोड रुपैयाँ विनियोजन भएको छ। वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड रुपैयाँ छुट्याइएको छ।
कर्णाली प्रदेश: कर्णाली प्रदेशले आगामी बर्षका लागी ३२ अर्ब ९९ करोडको बजेट विनियोजन गरेको छ।
माओवादीको असहमति पछि मध्यराति ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरियो। बजेटमा कुल विनियोजनमध्ये चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३.६४ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत बजेट विनियोजन भएको छ।
सुदूरपश्चिम प्रदेश: सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३३ अर्ब ४७ करोड ६० लाखको बजेट ल्याएको छ।
कुल विनियोजनमध्ये चालूतर्फ १० अर्ब २० करोड र अर्थात् ३०.४९ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ८३ करोड ५९.२५ प्रतिशतको बजेट ल्याईएको छ।

