५७ अर्बमा विश्वकै लामो बिरेठाँटी-मुक्तिनाथ केबुलकार बन्ने

काठमाडौं । विश्व केबलकार इतिहासमा सबैभन्दा लामो केबलकार नेपालमा बन्ने भएको छ । यो परियोजना बनेपछि नेपालको पर्यटनलाई विश्वसामु चिनाउन अझै सजिलो हुनेछ।
पर्वतको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म विश्वकै लामो मुक्तिनाथ केबलकार परियोजना बन्न लागेको हो। चर्चामा रहेर पनि निर्माणको कुनै अत्तोपत्तो नभएको बेला अब भने यो परियोजनाले मुर्तरुप लिनेछ। पवित्र तिर्थस्थल मुक्तिनाथ पुग्न अब कास्कीदेखि पर्वत,म्याग्दी र मुस्ताङको मोटर चढ्नै नपर्ने हुनेछ।
पर्वत जिल्लाको सेराफाँट (वीरेठाँटी/नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्मको दूरीमा निर्माण हुन लागेको केबलकारको लम्बाइ ८१.०४१ किलोमिटर हुनेछ । जुन विश्वकै सबैभन्दा लामो केबलकार हुनेछ। यसको कुल लागत ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।
यसलाई बुट (Build, Own, Operate, Transfer) मोडलमा निर्माण गरिने मुक्तिनाथ दर्शन प्रालिको तयारी छ। यो दूरीमा कुल १९ वटा स्टेशन हुनेछ भने केबलकार गोन्डोला (डिब्बा) ७७६ वटा रहनेछ।
निर्माणको लागि तम्सिएको संस्थाका अनुसार यो केबलकारमा वार्षिक ३६ लाख भन्दा बढी यात्रुले सेवा लिनेछन् । जुन सेवा अन्तर्गत ७ वटा प्रमुख धार्मिक तथा पर्यटकीय स्थलमा स्टेशन रहनेछ । वीरेठाँटी, म्याग्दीको घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा हुँदै मुक्तिनाथ सम्म स्टेसनसँगै पर्यटकहरूका लागि रिसोर्ट बनाइनेछ।
त्यसैगरी बिरेठाटी बाट एकैपटक मुक्तिनाथ नगै बिचको ११ वटा स्टेशनमा रात्रीबास बस्न सकिने सुविधा पनि हुनेछ। यद्यपि ८ वटा स्टेशनमा यात्रुले दृश्यावलोकनको लागि अनिवार्य रूपमा ओर्लनुपर्ने छ। तर, ५ वटा स्टेशनमा भने आपत्कालीन आवश्यकता परेमा मात्र ओर्लन दिने व्यवस्था गरिनेछ।

