अपाङ्गता पहुँच सुनिश्चित गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौंडा । अपाङ्गता भएका व्यक्तिहरूको लागि सूचना र संरचना पहुँचयोग्य बनाउन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले सामाजिक विकास मन्त्रालयको सहकार्यमा एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालय र मकवानपुर जिल्लाका स्थानीय तहका सूचना प्रविधि तथा इन्जिनियरिङ शाखामा कार्यरत प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास कार्यालय हेटौंडाका प्रमुख गोपाल प्रसाद कंडेलले समावेशी विकासका लागि सबै संरचना र सेवामा समान पहुँच आवश्यक भएको भन्दै, नीति कार्यान्वयनमा सबै तहका सरकार र प्राविधिक निकायको भूमिका महत्त्वपूर्ण हुने बताए।
सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारीले सरकारले अपाङ्गता मैत्री नीति, योजना र बजेटमार्फत पहुँचयुक्त वातावरण बनाउन पहल गरिरहेको जानकारी दिए।
महासंघका प्रदेश अध्यक्ष उपेन्द्र श्रेष्ठले अपाङ्गता भएका व्यक्ति अझै पनि धेरै सेवा र संरचनाबाट वञ्चित रहेको भन्दै यस्ता कार्यक्रम सशक्तिकरण र समावेशीताका लागि आवश्यक रहेको बताए।
कार्यक्रममा महासंघका उपाध्यक्ष शारदा पौडेल, सचिव यमप्रसाद सुवेदी तथा गण्डकी प्रदेशका व्यवस्थापक अरुण श्रेष्ठको समेत उपस्थिति थियो। सहजीकरण अरुण श्रेष्ठले गरेका थिए।

