बुढीगण्डकी माथी बन्यो गोरखा-धादिङ जोड्ने पुल

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका ७ र ८ बोर्लाङसँग धादिङको त्रिपुरासुन्दरीको सल्यानटार-३ जोड्ने बुढी गण्डकी नदीमाथिको १२० मिटर लामो झाेलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।
निर्माण योजना सम्पन्न गर्नुपर्ने मिति भन्दा दुई महिना अगावै यो पुल निर्माण सम्पन्न भएको हो। पुल निर्माणपछि दुई जिल्लाको मुख्य केन्द्र बोर्लाङ, घाटबेँसी र सल्यानटारका स्थानीय खुसी भएका छन्।
पुल निर्माण नहुनञ्जेल फलेकले बारेको जोखिमयुक्त पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता हुँदा घाटबेँसीका स्थानीयलाई हैरानी नै भएको थियो। घाटबेँसीका स्थानीय भिमनारायण श्रेष्ठले पुल बनेपछि खुशी व्यक्त गरे। पुल निर्माण हुनु भन्दा अघि स्थानीयलाई धेरै जोखिम रहेको श्रेष्ठले सुनाए ।
त्यसैगरी गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले पनि पुल निर्माणले दुबै जिल्लाका स्थानीयमा खुशी थपिएको सुनाए ।‘दुबै पट्टी बार नभएको, बिचमा कतै फलेक नभएको पुलबाट यात्रा गर्दा एक पटक विचार गरेर मात्र यात्रा गर्नुपर्ने अवस्था भएकाले स्थानीय र जनप्रतिनिधिको पहलमा प्रदेश सरकारबाट बजेट माग गरी पुल निर्माण गरिएको हो’-अध्यक्ष बन्जराले भने।
पुल निर्माणका लागि नवदुर्गा निर्माण सेवा कम्पनीले जिम्मा पाएको थियो । ३३ लाख ७९ हजार ४६ रुपियाँ बजेट लागतमा पुल निर्माण भएको हो। झलुङगे पुल निर्माणसँगै घाटबेँसी र सल्यानटार आवतजावतसँगै त्यहाँका स्थानीय रूपमा उत्पादन भएका उपभोग्य सामग्री बिक्री वितरण गरी आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
पूर्वाधार कार्यालय गोरखाको बजेटमा २०८१ चैत १२ गते सम्झौता भई २०८२ साउन मसान्तसम्म सम्पन्न गर्नुपर्ने उल्लेख भएता पनि निर्माण कम्पनीले दुई महिना अगावै जेठ महिना मै निर्माण सम्पन्न गरेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए।

