सरकारबाटै बुढीगण्डकी परियोजनाको हत्या भयो : डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले बुढीगण्डकी जलाशययुक्त परियोजनाको हत्या गरेको बताएका छन् ।
डा.भट्टराईले आर्थिक बर्ष २०८२/०८३ को बजेट मार्फत यो परियोजनालाई कथित “सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ” भनेर उल्लेख गरेको प्रति असहमति प्रकट गर्दै यसलाई २०७४ मा प्रचण्ड सरकारद्वारा तरबार चलाइएको र अहिलेको सरकारले पूरै घाँटी छिनालेको भनेका छन् ।
उनले लेखेका छन्,-‘अन्तत: राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ। २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न शुरू गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को बजेट-बक्तव्य (बुँदा २२४) मार्फत कथित “सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ” भनेर पूरै घाँटी छिनालेको छ।’
यो देश र जनतामाथि अक्षम्य अपराध र धोका हो। देशको बहुआयामिक आर्थिक रूपान्तरणकालागि गेमचेन्जर आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले म यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछु। भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौंदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनकालागि पूर्ण सहयोग गर्दै आउनुभएका गोरखा र धादिंगको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यवद्धता व्यक्त गर्दछु।
भट्टराईले भनेका छन् -‘योराष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न म प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसंग हार्दिक अपील गर्दछु।’


