आत्मवृत्तान्त : राजा महेन्द्र र प्रधानमन्त्री वी.पी.

प्रा. खगेन्द्रप्रसाद भट्टराई

२०१५ सालको आम निर्वाचनमा अत्याधिक बहुमत पाएर नेपाली कांग्रेसले विजय हासिल गरेपछि वी.पी.नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री भए ।

उनको मन्त्रीमण्डलमा बडो उत्साह थियो । नयाँ वातावरण अभूतपूर्व किसिमको थियो । कर्मचारीहरु पनि ज्यादै उत्साहित थिए । वी.पी. ले सानातिना निर्णय तलैबाट गर्न लगाए । सबै काम तीव्रताका साथ अगाडि बढेको थियो । सबैमा नयाँ जोश, नयाँ उमंग देखिन्थ्यो ।

देशभित्र त्यस्को ठूलो प्रभाव परेको थियो; जनताले अव राम्रो परिवर्तनको आशा र भरोषा गरेका थिए । अन्तरराष्ट्रिय क्षेत्रमा पनि नेपालको राम्रो छवि बन्दै गएको थियो भन्छन् वी.पी. । यसरी वी.पी.को लोकप्रियता बढेको देखेर राजामा ईष्या भाव विस्तारै बढन् थाल्यो (२०३) ।

वी.पी. भन्दछन्, “राजाको मेराप्रति, मलाई के लाग्दछ भने, मेल र बेमेलको जस्तो मिश्रित व्यवहार थियो । … राजाले जुन मेरो लोकप्रियता देखे, जुन गतिशीलता देखे, त्यसबाट उनी तर्से । । तर मलाई के लाग्दछ भने उनले मलाई प्रशंसा पनि त्यसै बखत गर्न थाले । यी पनि अरु जस्तै त नहोला भन्ने जुन उनको पूर्वधारणा थियो होला, त्यसमा ठूलो परिवर्तन उनले गर्नु पर्‍यो । उनले मलाई जुन प्रकारले काम गरेको देखे, म जुन किसिमले उनीसंग बहस गर्थें, या मेरा महत्वकांक्षाहरू, जो मैले हालका वर्षहरुमा सार्वजनिक सभाहरुमा व्यक्त गर्दछु, त्यो बताउँथे, त्यसले राजालाई प्रभावित गरेको थियो ।” (पृष्ठ २१३)

एक चोटि राजाले वी.पी. लाई तपाई मुलुकलाई कस्तो बनाउन चाहनुहुन्छ भनेर सोद्धा उनले आफ्नो मध्यम स्तरको परिवारलाई देखाएर प्रत्येक नेपालीको परिवारलाई त्यही स्तरमा पुर्‍याउने उनको लक्ष्य रहेको र त्यसको लागि १५ वर्षको समय लाग्ने पुरा बताएका थिए (पृष्ठ २१४) ।

यसरी राजा र वी.पी. को वीचमा छलफल भइरहन्थ्यो । राजा दुई जनाको भेटमा संतुष्ट देखिन्थे तर सार्वजनिक कार्यक्रममा बोल्दा उनले मन्त्रिपरिषद्लाई सधैं कहीं न कहीं चोट पुर्‍याउँथे भन्छन् वी.पी. ।

एक चोटि राजाले वी.पी. लाई देशको भ्रमणमा संगै जान आग्रह गरे । जनताले राजाको भव्य स्वागत गरे र साथै राजाले वी.पी.को लोकप्रियता पनि देखे । जहाँसुकै नेपाली कांग्रेसका मानिस झन्डा लिएर स्वागत गर्न उपस्थित हुन्थे । यसै बीच वी.पी.को भारत भ्रमण थियो । उनी दाङबाट काठमान्डू आउने अघिल्लो दिन नै वी.पी.लाई वेलुकाको खाना खानको लागि बोलाए । त्यस वेला राजाले वी.पी. लाई संवोधन गरेर उनले लेखेको कविता सुनाए ।

वी.पी. भन्दछन्,
“यस्तो सुन्दर कविता उनले सुनाए, मलाई संवोधन गरेर उनले बनाएको रहेछ । त्यो कविता सुन्दर र भावुक थियो । मलाई अझै संझना छ त्यसका केही अंशहरु –
“अब तिमी हामीलाई छोडेर जान्छौ,
तिमी ठूला–ठूला शहरमा विदेशमा घुम्न जान्छौ
रमाइलो तिमीलाई होला ।
हामी त यहीं नदी, कन्दरा र चौतारीमा सुस्ताउँला,
र तिमीलाई संझौला ।
हामीलाई नर्बििर्सनु
र हामी त तिमीलाई बिर्सनै सक्तैनौ ।
जव थाकेर चौतारीमा पसिना पुछौंला
त्यस बखत म तिमीलाई सम्झौला ।” (पृष्ठ २१५–२१६)

फेरि वी.पी. राजाको वारेमा भन्दछन् : “राजाका केही व्यक्तिगत प्रभावका कुराहरू म संझन्छु । बाहिर देखाउँदा जे गरे पनि राजा जहिले पनि मलाई बडो सम्मान गर्दथे । घरमा जाँदा बडो गर्वका साथ आफ्ना छोरा छोरीहरु जो दार्जीलिङमा पढ्दथे, उनीहरु दार्जीलिङबाट छुट्टीमा आएको वखतमा बोलाउँथे र आफ्ना छोराछोरीहरुसंग मेरो परिचय गराउंथे । अनि बडामहारानी – एउटा पारिवारिक मित्र जस्ती” । (पृष्ठ २१६)

वी.पी. भन्छन् राजाले उनलाई एक चोटि पोखरामा उनको पाहुना भएर केही दिन वस्नको लागि आग्रह गरे र वी. पी. पोखरा गए । त्यस वेलामा पनि राजाको व्यवहार वी. पी. प्रति ज्यादै हार्दिकतापूर्ण भएको देखिन्छ । रानीले नै वी.पी.लाई कोठा तयार पारेकी थिइन् र उनले बी.पी. लाई कोठा देखाइन् । रानीले आफैं खाना पकाएर खुवाइन् । वी.पी. भन्छन् उनी साधारण खास्टो ओढेर तरकारी केलाउने र काट्ने गर्दछिन् । कुनै ठस्सा देखिदैन थियो उनमा । वी. पी. लाई मीठो लाग्ने कुरा सोधेर पकाउन खोज्थिन् ।

यस्तो व्यवहारले वी.पी.असाध्यै प्रभावित भए । राजाले वी.पी.संग धेरै घनिष्ठ भएर कुरा गर्दथे । वाल्यकालमा एक्लै भएको र उनका मित्रहरु नभएको कुरा गरे । नोकर चाकरहरुको वीचमा हुर्केको आदि कुराहरु गरे । दरवारमा गाउने मानिसहरु आउँने हुँदा गीत गाउन सिकेको कुरा गरे । राजाले आफूले राम्रो अध्ययन गर्न नपाएको कुरा गरे वी. पी. संग । एक दिन उनले हारमोनियम बजाएर वी. पी. लाई गीत गाएर पनि सुनाए । “मेरो व्यक्तिगत पाहुना पहिलो तपाई हो” भनेर राजा त्रिभुवनले भने जस्तै राजा महेन्द्रले पनि भने, “मेरो निजी पाहुना तपाई मात्रै हो, मेरो कोही निजी पाहुना भएनन् । अरु सबै सरकारी पाहुना भए” (पृष्ठ २१९) ।

यसरी वी.पी. र राजाको व्यक्तिगत सम्बन्ध अत्यन्तै राम्रो देखिन्छ । राजाले आफ्नो मनको कुरा पनि वी. पी. लाई भनेर भन हलुका पारेको जस्तो लाग्दछ । वी. पी. ५/६ दिन राजाको पाहुना भएर बसे र त्यसपछि काठमाडौं फर्किए ।

वी.पी. ले गृहमन्त्री भएको बेलामा राजा त्रिभुवनको इच्छा विरुद्ध महेन्द्रलाई रत्न विवाह गर्नका लागि सघाएका थिए । यस्ता कारणले पनि हुन सक्तछ राजा महेन्द्र र रानी रत्नले वी पी.लाई पोखरामा आफ्नो पाहुना बनाएर सम्मानका साथ राखेको ।

अब प्रश्न उठ्छ यस्तो राम्रो सम्बन्ध हुँदा हुँदै पनि राजाले अकस्मात् निर्वाचित र जनप्रिय सरकारलाई विघटन गरी वी.पी.लाई किन जेल हाले । वी. पी. आफैं पनि छक्क पर्दछन् ।

लाग्दछ, वी. पी. र राजा महेन्द्र दुवै गतिशील व्यक्ति थिए । दुवैको देश बनाउने सोच स्पष्ट थियो । दुवै जना छोटै समयमा धेरै गर्न चाहन्थे । दुवै जनाको उच्च महत्वकांक्षा थियो । दुवै अत्यन्तै राष्ट्रवादी थिए । दुवै जना मिलेको भए नेपालको कायपलट हुन्थ्यो जस्तो लाग्दछ । बी. पी. आफ्नो कुरा केही नलुकाई खुलस्त राख्तथे भने राजा अन्तरमुखी थिए; मनका सबै कुरा खोल्दैनथे । वी.पी. को अत्यधिक तर्क शायद उनलाई मन पर्दैन थियो । उनमा च्यथब िभ्नय ले पनि काम गरेको थियो । वी. पी. को प्रसिद्धिबाट आफू छाँयामा पर्ने जस्तो उनलाई लाग्यो । निर्वाचनपछि देश कांग्रेसमय भएको थियो, वी.पी. को छवि देश विदेशमा बढ्दै गएको उनलाई रुचिकर भएन । केही व्यक्तिहरुले राजालाई उकासेको पनि अनुमान गर्दछन्, वी. पी. ।

राजालाई भेट्न वी.पी. दरवार गइरहन्थे; राजाले पनि बोलाइरहन्थे । विभिन्न विषयमा छलफल हुन्थ्यो र पछि वी.पी.ले थाहा पाए कि उनले बोलेको कुरा रेकर्ड हुंदोरहेछ । यो रेकर्ड गरेको कुरा वी.पी.लाई मन परेन । उनी राजासंग राम्रो संवन्ध कायम गर्न खोज्थे तर उनका केही अभिव्यक्तिले राजालाई असंतुष्ट र केही हदसम्म क्रुद्ध बनाएको देखिन्छ । वी.पी. आफ्‌नो स्थान र भूमिकाको बारेमा स्पष्ट थिए । उनी भन्दछन्,

“मेरो संपूर्ण प्रयास थियो म राजालाई साथ राखूँ भन्ने । तर म जनताको प्रतिनिधि थिएँ म पहिलेको जस्तो प्रधानमन्त्री थिएन । त्यो कुरो जहिले पनि मलाई लागिरहन्थ्यो । मलाई लाग्दथ्यो, मेरो आधार त जनता हो, दरबार होइन । तर दरबारलाई आफ्नो साथमा राख्नुपर्दछ भन्ने थियो ।” (पृष्ठ २६४)

एक चोटि विद्यार्थीहरुको संमेलन उद्घाटन गर्न बी.पी. भारतको बंबै गए र त्यहाँ विद्यार्थीहरुले उनलाई केही प्रश्नहरु गरे । उनीहरुको प्रश्नको उत्तर दिने सिलसिलामा वी. पी. ले भने, “तिमीहरुलाई लाग्दो हो, मेरो हातबाट शक्ति गयो भने तिमीहरुको हातमा आउँछ । यो र यस किसिमको गलत भ्रममा नवस । शक्ति हत्याउनका लागि कोही ढुडिरहेछ र त्यो सामन्ती हो – राजा” (पृष्ठ २६५) ।

वी.पी. अमेरिकाबाट लन्डन आउँदा त्यहाँ पनि केही विद्यार्थीहरु उनलाई भेट्न आएका थिए । त्यति बेला पनि वी.पी.ले राजालाई मन नपर्ने अमिव्यक्ति दिएका थिए । उनी भन्दछन्, “मलाई समस्या रेडिकलहरुबाट छैन । मलाई समस्या राजासंग छ । दक्षिणवादी प्रतिक्रियावादको अगुवा राजा हो ।” (पृष्ठ २६५)

यी सबै कुरा राजाकहाँ पुग्दथे र राजा रिसाउँथे । वी.पी. इजरायलको भ्रमणमा जाँदा उनलाई केही हतियार उपहारको रुपमा दिइएको थियो । यो कुराले पनि राजालाई सशंकित बनायो । फेरि नेपालले भारतसंग मात्रै हतियार किन्नुपर्ने कुरालाई लिएर भारतीय राजदूतले राजालाई उकासेको आशंका वी.पी. गर्छन् ।

यो परिस्थितिमा अब राजाले केही कदम उठाउने कुराको हल्ला चल्यो । तर वी.पी. लाई लाग्यो यस्तो कदमले राजालाई केही पनि फाइदा हुँदैन, त्यसैले उनले केही नगर्लान् । फेरि वेलायतकी महारानी आउने बेलामा राजाले त्यसो गर्लान् भन्ने उनलाई लागेन ।

योगी नरहरिनाथको कुरालाई लिएर राजा र वी.पी.को वीचमा ठूलो विवाद भयो । राजाले, वी. पी. को भनाई अनुसार, योगीलाई केही रकम दिएर धर्म नमान्ने प्रधानमन्त्री र उनको सरकारलाई विरोध गर्न लगाए । योगीलाई सरकारले पक्डियो र खानतलास गर्दा प्रमाणहरु भेटिए । त्यसपछि वी.पी.ले सो संन्दर्भमा एउटा वक्तव्य दिए र उक्त वक्तव्यमा राजालाई मुछेको भनेर राजा धेरै असन्तुष्ट भए । वी. पी. भन्दछन्, “राजाको मसंग बाझाबाझ भएको थियो” (पृष्ठ २६७) । राजाले योगीलाई दान दिन पनि नपाउने भन्दा वी.पी.ले दान दिन पाइन्छ तर सरकारको विरोधमा लाग्ने योगीलाई दान दिन पाइदैन भने । वी.पी.ले यो भनेपछि राजाले भने, “त्यसो भए त विश्वेश्वर वाबु, तपाईं र ममध्ये एक जना रहनुपर्‍यो । या त तपाईं चलाउनुस् म छेउ लागिदिन्छु । या तपाईं छाडिदिनुस्, म चलाउँछु” (पृष्ठ २६८) ।

मलाई लाग्दछ राजाले यति भनिसकेपछि वी.पी.ले राजा निश्चय पनि कठोर कदम लिंदैछन् भनेर बुझ्नु पर्दथ्यो । तर उनले राजाले अझै केही गरिहाल्लान् भन्ने ठानेनन् ।
माथिका कुरा राजाले भनेपछि वी.पी. ले भने, “त्यो पनि मलाई मन्जूर छैन । किनभने अहिले जुन विकासका समस्याहरु छन्, राष्ट्र निर्माणका समस्याहरु छन्, त्यसमा संपूर्ण राष्ट्रिय प्रयास हुनुपर्दछ । त्यसो हुनाले मलाई भन्ने कि सरकारको मद्दत नभईकन चलाउने, मलाई त्यो स्वीकार्य छैन । त्यसै गरी सरकारको पनि यो दम्भ हुनुहुँदैन कि म जनतालाई साथ नलिएर चलाउन सच्छु भन्ने । … दुवैको सहमतिबाट मात्रै देश चल्न सक्तछ ।” (पृष्ठ २६८)

पछि उनीहरुको बीचमा सहमति भयो र केही असहमति भए आपसी छलफलबाट टुङ्ग्याउने कुरा भयो । तर राजाले भित्रभित्रै केही व्यक्तिहरुसंग सत्ता आफ्नो हातमा लिने कुरा गरिरहेका रहेछन, वी.पी. का अनुसार । युरोेप भ्रमणमा जाँदा ऋषिकेश शाहसंग कुरा भएको रहेछ । सुवर्ण शम्शेरलाई पनि थाहा रहेछ; उनीहरु दुवैले यस्तो कदम नउठाउनका लागि सल्लाह दिएछन्, वी.पी.को भनाई अनुसार । सूर्यप्रसाद उपाध्याय, विश्ववन्धु थापा र तुलसी गिरीले त राजालाई पूरै साथ दिएको कुरा पुस्तकमा उल्लेख छ ।

यसरी राजाले २०१७ साल पुस १ गते तरुण दलको एउटा कार्यक्रममा सहभागी भइरहेको बेलामा वी.पी. र अरु कांग्रेसी नेताहरुलाई गिरफ्तार गरी बन्दी बनाए । यस किसिमले प्रजातन्त्रको हत्या भयो र एक दलीय निरंकुश पंचायती व्यवस्थाको तयारी गरियो । नेपाली जनताले प्रजातन्त्रको पुःन स्थापनाका लागि लामो संघर्ष गर्नुपर्यो ।

सन्दर्भ सामग्री : कोइराला, वी.पी. (२०५५) आत्मवृत्तान्त । जगदम्बा प्रकाशन, पाटनढोका, ललितपुर

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय