माछा मारेर गर्जो टार्नेहरू समस्यामा

तानसेन । पाल्पाको माडीका जितबहादुर घर्ती माडीफाँटका खेत र स्थानीय तिनाउ खोलाबाट दैनिक तीन/चार केजी माछा मार्थे। खेत र खोलामा मारेको माछा बेचेर गुजारा चल्थ्यो।

उनीसँगै यहाँका अन्य केही परिवार माडीफाँट र खोलाको माछामा आश्रित थिए। केही वर्षयता भने उनीहरू माछा मार्ने पेसा बदल्न बाध्य भएका छन्। यही फाँटको बीच भाग भएर तिनाउ नदीमा मिसिने धेरै खोलामा भोटी, सिद्रा, फकेटा, बाम, सेगीजस्ता दर्जनौँ प्रजातिका माछा भेटिन्थ्यो। तर हिजोआज भने ती माछा भेटिनै छोडेपछि घर्तीलाई त्यो सपना जस्तै लाग्छ।

‘खोलामा अहिले गङ्गटा त भेटिँदैन, केको माछा!’ पहिला–पहिला खोलाका ढुङ्गा पल्टाउनेबित्तिकै माछा र गङ्गटा देखिन्थे, अहिले त्यो छैन। खोलामा धेरै किसिमका माछा थिए, अहिले फाट्टफुट्ट मात्रै देखिने उनले सुनाए।

माडीफाँट र तिनाउ खोलामा मात्रै होइन, जिल्लाका विभिन्न साना–ठूला खोलामा पाइने माछाको सङ्ख्या घट्दै गएको पाइएको छ। जसका कारण माछा मारेरै जीविकोपार्जन गर्ने सकसमा परेका छन्। माछा मारेर जेनतेन परिवार पाल्दै आएका यहाँका केही स्थानीयलाई दिनभर मेहेनेत गर्दा पनि जलाशयमा माछा नपाइँदा जिवीकोपार्जनमा धौँ धौँ भएको छ।

अन्नको भण्डारको रूपमा रहेको यहाँको माडीफाँटमा कुनै बेला खेतमा हुर्किएका रैथाने जातको भोटी माछाले जो कोहीको मन लोभ्याउँथ्यो। दुई दशक अगाडिसम्म फाँटका खेतमा रोपाइँको समयमा माछा मारेर आफ्नो गर्ज टार्नेको सङ्ख्या ठूलो थियो। आजभोलि त्यही खेतमा पाइने जलचर प्राणी सकङ्टमा पर्न थालेपछि माछा मारेर गर्ज टार्ने सकसमा परेका हन्।

स्थानीय मीनबहादुर कुमालको केही वर्ष जीविका माछा मारेर नै बितिरहेको थियो। ‘असार लाग्नासाथ फाँटमा धान रोपाइँ हुन्थ्यो। असारदेखि कात्तिकसम्म खेतमा मारेका माछालाई आगोको रापमा सुकाएर वर्षमा १० हजारसम्म आम्दानी गर्थ्यो तर अहिले माछा पाउनै छोड्यो,’ कुमालले भने, ‘माछा बेचेरै चामल किन्ने हो, दसैँतिहारको लागि मासुको खर्च राम्रोसँग चल्थ्यो, अहिले भने विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्नले माछा नै पाउन छोडेको छ, जसले गर्दा परिवार पाल्नै सकस भएको छ।’ ज्यालादारीको पैसा पनि नउठ्ने भएकाले कमै मात्रामा माछा मार्ने गरेको उनी सुनाउँछन्।

सुग्रीम सारूको समस्या पनि उस्तै छ। माडीफाँटका खेतमा माछा मार्दै आएका उनी अहिले माछा नै नपाउने बताउँछन्। विषादीको प्रयोगले माछा नष्ट हुनु, करेन्ट लगाएर माछा मार्ने गरेकाले माछा नै नपाइएको उनको भनाइ छ। ‘पहिला एकाध घन्टामा दुई–तीन किलो माछा मार्थ्यो, अहिले दिनभरि मानो पनि मुस्किलले पर्छ। कहिले त एकाध पाउ मारेर घर फर्किने गरेको छु,’ उनी सुनाउँछन्।

माडीफाँटको बीच भाग भएर तिनाउ नदीमा मिसिने धेरै खोलामा खोलामा करेन्ट लगाउने, जथाभावी रूपमा किटनाशक विषादीको अन्धाधुन्ध प्रयोग गरेका कारण माछासँगै गङ्गटासमेत समाप्त भएको स्थानीय हरिबहादुर कुमाल बताउँछन्। ‘खोलामा जथाभावी विषादीका कारण जलचर प्राणी नै समाप्त भयो। खोलामा विषादीका कारण माछा समाप्त भएपछि खेतमा कसरी हुन्छ?’ कुमालले भने। बाहिरबाट आएर केही व्यक्तिले विषादी राख्ने र करेन्ट लगाएर मार्ने गरेका कारण यहाँका जलचर सङ्कटमा परेका हुन्।

स्थानीयले खबरदारी गरेपछि बाहिरबाट आएर विषादीको प्रयोग गर्नेको सङ्ख्या कम हुँदै गएको स्थानीय शिवप्रसाद श्रेष्ठ बताउँछन्। खेतमा माछा हराउनुको मुख्य कारण गङ्गटा, झार नियन्त्रणका लागि विषादीको प्रयोग बढेसँगै जलचर प्राणी नष्ट भएको उनको बुझाइ छ।

खेतमा धानको बोट कलिलो अवस्थामै गङ्गटाले काटिदियो भनेरै रोपाइँमै विषादीको प्रयोग बढेकाले यस्तो समस्या आएको कृषिविद् राजेन्द्र कोइरालाले बताए।

‘पछिल्लो समयमा किसानले जैविक वनस्पतिक विषादीको तुलनामा किटनासक, जीवनासक विषादीको प्रयोग बढी नै गर्दा जलचर प्राणी नष्ट भएको हो,’ उनले भने, ‘रोपाइँ गरेका केही दिनपछि गङ्गटाले हैरानी गर्थ्यो। गङ्गटा नियन्त्रणका लागि खेतको गरा गरामा खिर्रोको पात राख्ने चलन थियो। यसले पनि नियन्त्रणका लागि सघाउ पुग्थ्यो। खेतमा गङ्गटा छोपेर सकिँदैन थियो, तर नियन्त्रण हुन्थ्यो। रोपाइँ सकेको दुई चार दिनमा चिउरीको खली प्रयोग गर्दा राम्रोसँग नियन्त्रण हुन्थ्यो।’

विषादीको प्रयोगका कारण जिव र किट नाश हुन्छ। तर यसले वातावरणीय क्षेत्रमा कस्तो असर गर्दछ भन्ने विषयमा प्रयोगकर्ताले ख्यालै राख्दैनन्।

जलचर संरक्षण ऐन, २०१७ मा नदी तथा खोलामा गैरकानुनी रूपमा माछा मारे, विष हाले, करेन्ट लगाएर माछा मारे पाँच हजार रूपैयाँको जरिवानादेखि ६ महिनासम्मको कैद सजाय हुन सक्ने व्यवस्था छ। यसको कार्यान्वयन भने भइरहेको छैन। कतिपय खोलामा पानीको मात्रा घटेर पनि जलचरको सङ्ख्यामा कमी आएका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय