अर्थशास्त्री पौडेल बने राष्ट्र बैंकको गभर्नर

काठमाडौं । अर्थशास्त्री प्रा.डा.विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन्।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई नियुक्त गरेको हो ।
नेपाली कांग्रेसमा आवद्ध पौडेल गत प्रतिनिधि सभा निर्वाचनमा चितवन-१ बाट पराजित भएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ९ हजार भन्दा बढी मतान्तरले पराजित गरेका थिए।
पौडेललाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबारको भेटमा कडाइका साथ प्रस्ताव राखेका थिए। गत वैशाख २९ गते पनि बालुवाटार पुगेर सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आलटाल गरेर टारेका थिए। तर, आज प्रधानमन्त्री बिरामी छु भन्दाभन्दै पनि भेट्न पुगेका देउवाले कडा कुरा गरेपछि ओलीले सहमति जनाएका हुन्।
विश्व पौडेलको नाम टुंगो लगाउनु अघि प्रधानमन्त्री ओली र सभापति देउवा गोप्य गरेका थिए । त्यसपछि सिफारिस समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकपनि बालुवाटार बैठकमा सहभागी भए र गभर्नर नियुक्ति लगायत मन्त्री परिषद बैठकमा छलफल हुने विषयमा टुंगो लाग्यो।
अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका पौडेल काठमाडौं विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’का प्रोफेसर पनि हुन् ।काठमाडौं विश्वविद्यालयको प्राध्यापक हुने बेलादेखि उनी कांग्रेसको क्रियाशील सदस्यता नविकरण नगरी बसेका थिए।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल पुराभएर बिदाई भएपछि गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए। यसबिचमा गभर्नर बन्न राष्ट्र बैंकका जागिरे डा.गुणाकर भट्टले राजिनामा दिएपनी निलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगर्दा थप अन्यौल भएको थियो। त्यसैगरी बैंकर ज्ञानेन्द्र ढुंगाना समेत गभर्नर बन्ने दौडमा थिए।
गभर्नर नियुक्त भएका पौडैल यसअघि अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, योजना आयोगको उपाध्यक्ष र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को समेत आर्थिक सल्लाहकार भइसकेका छन्।

