कानुन अनुसारको काम गर्दा बर्खास्ती भएँ : कुलमान

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले आफूले कानुनभन्दा बाहिर गएर कुनैपनि निर्देशन मान्न नसक्दा बर्खास्ती पाएको बताएका छन्।
शुक्रबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। ‘मैले कानुनभन्दा बाहिर गएर कुनैपनि निर्देशन मान्न सक्दिनँ। डेडिकेटेड र ट्रंकलाइनको कुरामा विवाद सुरु भयो। त्यसैले बर्खास्ती पाएँ,’ उनले भने।
सरकारले आफूमाथि लगाएको ‘जवाफदेही हुन नसककेको’ र ‘बक्यौता उठाउन नसकेको’ आरोपको खण्डनसमेत उनले गरेका छन्। महशुल उठाउन सहमती माग्दा नै आफूलाई हटाइएको उनको जिकिर छ। आफूले महशुल उठाउन खोज्दा निरन्तर दवाव र आदेश आएका कारण आफूले उठाउन नसकेको उनले बताएका छन्।
कुलमानलाई माओवादी केन्द्रको समर्थन रहेको र उनी माओवादी भएको भन्ने आरोपबारे खण्डन गर्दै आफू कसैको नभएको उनले जिकिर गरेका छन्। ‘म कुनै व्यक्ति र पार्टीको होइन्। म कर्मचारी हुँ। जनताको हुँ,’ उनले भने।
साथै, उनले राजनीतिमा आउने भन्नेबारे पत्रकारको प्रश्नमा यदि त्यस्तो अवस्था आए आफू देशको लागि जुनसुकै जिम्मेवार पदमा आउन तयार रहेको बताएका छन्।

