चेपाङ गाउँमा ‘स्विचअन’ गर्दागर्दै हटाइए कुलमान

काठमाडौं । सोमबार प्रधानमन्त्रीले मन्त्रीपरिषदबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव तयार गराउदै गर्दा कुलमान भने मकवानपुरको चेपाङ बाहुल्य रहेको राक्सिराङ वडा नम्बर-९ खैराङमा पहिलोपटक बिजुली पुगेको खुसीमा स्विच अन गर्दै थिए।
घिसिङले सोमबार एक कार्यक्रमका बिच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा विद्युतको पहुँच पुर्याइएको भन्दै गाउँलेसँग खुशी साटेका थिए। गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत् सेवा पुर्याइएको हो।
तर, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राक्सिराङ-९ खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेको खबर सुनाइरहँदा काठमाडौंमा भने उनलाई हटाउने अन्तिम तयारी हुँदै थियो। उनले राक्सिराङ-९ खैराङकी टुलकुमारी प्रजाको घरको विद्युतको मिटर ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरे लगत्तै सरकारले कुलमान हटाउने घोषणा गर्यो।
टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङका चेपाङलगायत अन्य समुदायको घरमा खुशी छाउदै गर्दा देशमा लोडसेडिङ होला कि नहोला भन्ने अन्यौल थपिएको छ। उर्जामन्त्रीले लोडसेडिङ हुने अभिव्यक्ति दिइसकेको अवस्थामा प्राधिकरणको कार्यकारी निर्देशक हटाइनुलाई संयोग मात्रै मान्न सकिन्न कि भन्ने जनताको बुझाइ छ। यद्यपि कुलमान प्रती जनताको भरोसा चाहिँ थियो।
राक्सिराङमा पनि घिसिङले प्राधिकारण बत्ती काट्नेभन्दा उज्यालो पार्ने संस्थाको रूपमा विकास भइरहेको बताएका थिए। लोडसेडिङ हुने नहुने बिषयमा प्राधिकरणको कार्यकारीको हैसियतमा घिसिङको त्यै भनाइ अन्तिम जस्तै भयो। उनले त्यहाँ नेपालको विद्युतले विदेशमा समेत उज्यालो पार्ने काम भइरहेको समेत सुनाएका थिए।
देशमा लोडसेडिङ अन्त्यसँगै विद्युत् निर्यात गर्ने काम भइरहेको पनि कुलमानको भनाइ थियो। उनले हाल आयातको तुलनमा निर्यातको दर वृद्धि भइरहेको भन्दै देशमा विद्युत् सेवा नपुगेको ठाउँ प्राधिकरणले खोजी गरिरहेको समेत बताएका थिए। हरेक नागरिकको पहुँचमा विद्युत् सेवा पुर्याउन करोडौँ खर्च गर्न तयार रहेको कुलमानले बताइरहेका बेला बसेको मन्त्री परिषदले भने उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छ।

