पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ ।ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शनिबार (चैत ९) दिउँसोदेखि हिमपात भइरहेको छ। दिउँसो सामान्य वर्षासँगै हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिका कर्मचारी राजेन्द्र महतका अनुसार, यस वर्ष पाथीभरामा योसहित चारपटक हिमपात भइसकेको छ। हिमपातपछि यहाँ केही चिसो बढेको उनले बताए।

“जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ। वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी भएका छन्,” उनले भने।

यसैबीच, शनिबार मात्र पाथीभरा मन्दिरमा एक हजार ६९८ तीर्थयात्री पुगेका छन्। पुस महिनायताको यो सबैभन्दा बढी संख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

पाथीभरामा विशेष गरी बडादसैँ, रामनवमी र अरू धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। पाथीभरा मन्दिर समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा छ। रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय