५२ वर्ष अघिको फागुन २१ अर्थात ‘सुखानी काण्ड’

आज फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर नेकपा एमाले,नेकपा माले लगायत कम्युनिष्टहरुले भन्दै आएको ‘झापा विद्रोह’ को मुख्य दिन। आज झापा बिद्रोहको ५२ वर्ष पुगेको छ ।

२०२९ फागुन २१ मा तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध बिद्रोह गरेका ५ जना क्रान्तिकारी योद्धाहरुले सहादत प्राप्त गरेका थिए। जसलाई सुखानी काण्ड पनि भनिन्छ । तत्कालीन शासकविरुद्ध भएको झापा विद्रोहमा रामनाथ दाहाल सहित पाँच जना सहिद भएका थिए।

त्यस समयमा जेल सार्ने भन्दै झापा र इलामको संगमस्थल माईखोलाको दानाबारीस्थित सुखानीमा कम्युनिस्ट पार्टीका सदस्य तथा झापा आन्दोलनका अगुवाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको थियो।

झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा पन्चायतले उनीहरु माथी गोली हानी हत्या गरेको थियो । त्यस समयमा भारतको पश्चिम बङ्गालमा चलेको किसान आन्दोलनबाट प्रेरित भै झापाका केही कम्युनिस्टहरूले वर्ग शत्रु खत्तम अभियान चलाएका थिए । वर्ग शत्रु खत्तम अभियान अन्तर्गत बि.स.२०२८ साल जेठ २ मा रामनाथ दाहालको नेतृत्वमा झापाको ज्यामिर गडीका एक जमिनदारको हत्या भएको थियो । झापा विद्रोहको सुरुवात यहीबाट भएको भनिन्छ । हालका प्ररधानमन्त्री केपी शर्मा ओली, नेकपा मालेका महासचिव सिपि मैनाली,राधाकृृृष्ण मैनाली,देवी ओझा,मोहनचन्द्र अधिकारी लगायत नेताको परिचय पनि झापा बिद्रोहबाटै बनेको हो।

तर, तत्कालीन समयमा सुखानी हत्याकाण्डले परिचित ५ जनाको हत्यालाई लिएर बिद्रोह हुनसक्ने भन्दै पन्चायतले देशभर कम्युनिस्ट माथी दमन गरेको थियो। जसका कारण हत्या भएको बर्षौपछि मात्र उनीहरुलाई सहिद घोषणा गरिएको थियो । झापा विद्रोहमै जोडिएको भनेर गिरफ्तार भै १४ बर्ष जेल जीवन बिताएका हालका  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री काल २०७२ फागुन १९ गते सरकारले उनीहरूलाई शहीद घोषणा गरेको थियो ।

सरकारले झापा विद्रोहकै क्रममा मारिएका चन्द्र डाँगी, पञ्चायती व्यवस्थाविरुद्ध लडेकै कारण मारिएका इलामका रत्नकुमार बान्तवा, ताप्लेजुङका हरि नेपाल लगायत २२ जनालाई शहीद घोषणा गरेको थियो । अहिले सुखानीमा शहीद स्मारक बनाएर राजनीतिक पर्यटकीय स्थलको रूपमा समेत विकास गरिएको छ। जहाँ सहिदका नाम लेखीएको गेट हुँदै सहिद स्तम्भ र पार्क रहेको छ। झापाबाट माइखोला हुँदै इलाम जाने बाटो मै पर्ने भएकोले अहिले त्यहाँ मानिसको भिड पनि देखिन्छ। तस्वीर खिच्नेदेखी पिक्निक जानेहरूको समेत महत्त्वपूर्ण स्थल भएको छ सहिद पार्क।

वि.सं. २०२८ सालदेखि झापामा कम्युनिस्टहरूले तत्कालीन पञ्चायती शासनको दमन विरुद्ध आन्दोलन गरेका थिए । सो आन्दोलनमा सहभागी भएका धेरै नेता कम्युनिस्ट आन्दोलनमा सहभागी भै देशको महत्त्वपूर्ण पदमा समेत पुगेका छन् । तर,सहिदको परिवारलाई भने हेरचाह गरेको पाइदैन । त्यस समयमा सहिद भएका र लामो समय जेल बसेकाको परिवारलाई अहिले पनि लोकतन्त्रको अनुभुति भएको छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय