धादिङमा पानी बोकेको ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । धादिङको गल्छी गाउँपालिका-३ गुप्तेश्वर स्थित शिवरात्री मेला लाग्ने स्थलमा खानेपानी लिएर जाँदै गरेको ट्यांकर भिरबाट खस्दा २ जनाको मृत्यु भएको छ।
राती भएको दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेश्वर महादेवको गुफा नजिकै भिरबाट बा प्र-०१-००४क ३३५२ नम्बरको पानी बोकेको ट्यांकर खसेको हो ।
दुर्घटना लगत्तै सदरमुकाम धादिङबेंसीबाट गएका भोलिन्टियर र स्थानीयले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेंसीस्थित धादिङ अस्पतालमा पठाएका थिए । त्यहाँ उपचार संभव नभएपछि उनीहरुको थप उपचार काठमाडौंमा भैरहेको छ।
ट्यांकर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएको अवस्थामा शव निकालीएको थियो। दुर्घटनामा धादिङ गजुरी गाउँपालिका-६ बस्ने १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको घटनास्थलमै मृत्यु भएको हो।

