ताप्लेजुङमा रातिसम्म तनाब

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शनिबार दिउसोदेखि सुरुभएको तनाव राति अवेरसम्म कायम छ।

त्यहाँ “नो केबलकार” भन्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले जिल्लामा प्रहरी प्रशासन र सर्वसाधारणका घरमा समेत शनिबार राती बलिरहेको राँको प्रहार गरेको खबर छ।

ताप्लेजुङको पाथीभरामा केबलकार बन्न नदिने भन्दै आएका ‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुससहित प्रदर्शन गर्दै नाराबाजी गरेका बेला सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको बताइएको छ।यद्यपि घटनालाई थप उत्तेजित नबनाउन अपिल समेत गरिएको छ।

वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबीच धक्कामुक्की भएको थियो। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरमा समेत राँको फ्याँक्ने अमानवीय व्यवहार गरेका छन्।

झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् भने आगलागी भने हुनबाट जोगिएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले घाइतेको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्। घटनामा केही सामान्य घाइते भएको स्थानीयले बताएका छन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय