प्रचण्ड भन्छन्-‘देश बनाउन सम्भव छ’

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन सम्भव भएको र त्यसको नेतृत्व अब आफुले लिने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र गोरखाको पालुङटारमा आयोजित महोत्सव उद्घाटन गर्न पुगेका उनले ‘देश हामीले नै बनाउने हो’ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्नेमा समेत जोड दिए। गोरखाको पालुङटार नगरपालिका-१० मा आजदेखि चौथो ‘मिरकोट कोटगढी महोत्सव २०८१’ सुरु भएको छ।

पुर्व प्रधानमन्त्री प्रचण्डले महोत्सवमा उपस्थित स्थानीयका अगाडी भने-‘जल, जमिन, जङ्गल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकेको देश हो। तर, एकथरी मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ । यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौँ । यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’

उनले आफ्नो नेतृत्वको सरकारले छोटो समयमै महत्त्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको पनि दाबी गरे। ‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा जे योगदान गरेँ, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिँढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ’-उनले भने,-‘ नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत् उत्पादनको सम्झौता मैले थालेका नमुना काम थिए ।’

पार्टीले केही दिनमै जनतासँग माओवादी तराई मधेस जागरण अभियान र वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु गर्न थालेको उल्लेख गर्दै प्रचण्डले माओवादी अब देश जोड्ने अभियानमा लागेको पनि सुनाए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय