उदयपुर सिमेन्ट उद्योग बन्द,बैंक खाता रोक्का !


काठमाडौं । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको हो।

उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार उद्योग सँग कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा र उद्योगले भुक्तानी गर्नु पर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको कारण कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो ।

यसैगरी उद्योगको सम्पूर्ण बैङ्क खाता समेत रोक्का रहेको बुझिएको छ। रौता सर्भिसेज प्रा.लिले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैङ्क खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै गत माघ ७ गते ‘उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरू रोक्का’ गर्न अदालतले आदेश दिएको थियो।

उदयपुर सिमेन्ट उद्योगमा अहिले २ सय २० जना कर्मचारीहरू कार्यरत रहेका छन् । उनीहरूले पाँच महिना देखी तलव समेत पाउन सकेका छैनन् । उद्योगले आपूर्ति तर्फ झन्डै ६५ करोड भुक्तानी गर्न बाकी रहेको छ भने बिधुत महसुलको ३० करोड भुक्तान गर्न बाँकी छ ।

उदयपुर सिमेन्ट उद्योगकाले रौता सप्लायर्सको मात्र ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाकी छ। सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, उद्योगसँग कच्चा पदार्थ खरिद गर्ने सम्म पैसा नभएकाले रौता सप्लायर्सको भुक्तानी नदिएको निमित्त महाप्रबन्धक साहको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय