सुन्दरीजलदेखी निकुञ्ज प्रवेश गर्ने शुल्क हट्यो !

काठमाडौं । नेपाल सरकारले सुन्दरीजल हुँदै शिवपुरी निकुञ्ज आसपासका गाउँ पुग्ने बाटोमा लिइदै आएको प्रवेश शुल्क हटाएको छ। वन तथा वातावरण मन्त्रालयको प्रस्तावलाई मन्त्रीपरिषद बैठकले अनुमोदन गरेको हो। यद्यपि यसको औपचारिक जानकारी आउन बाकी छ।

काठमाडौं क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य एवं संघीय संसदको अर्थ समिति सभापति सन्तोष चालिसे र गोकर्णेश्वर नगरपालिकाका प्रमुख (मेयर) दिपक रिसालको अनवरत प्रयासले सुन्दरीजल हुँदै ओख्रेनी र शिवपुरी राष्ट्रिय निकुञ्ज आसपास गाउँ प्रवेशमा लाग्दै आएको शुल्क हटेको हो।

चुनावकै समयमा सांसद चालिसे र मेयर रिसालले आफ्नो मुख्य प्रतिबद्धता-पत्रमा यो बिषयलाई महत्त्व दिएका थिए। त्यसयता उनीहरुको पहल र दौडधुप निक्कै थियो। पछिल्लो समय विभिन्न सरोकारवाला निकायमा सांसद चालिसे र मेयर रिसाल लगातार दौडधुपमा थिए।

जनताको पक्षमा भएको यो महत्त्वपूर्ण कार्यमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सांसद चालिसे र मेयर रिसालको कुरालाई गम्भीर रुपमा लिएपछि यो सकारात्मक प्रतिफल देखिएको हो। यसमा सांसद चालिसे र मेयर रिसालले जनताको मन जित्ने काम गरेको भन्दै प्रसंशा गरिएको छ।

यो प्रवेश शुल्क हटेसँगै त्यस क्षेत्रका जनताले निकै सास्ती खेप्नुपरेको एउटा बिषय हल भएको छ। यसले आन्तरिक पर्यटनको बिकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने देखिन्छ।

हाल त्यस क्षेत्रमा प्रवेस गर्दा प्रतिब्यक्ती १०० र सवारीसाधनको छुट्टै १५० लिने गरेको थियोे । यसले जनतालाई निकै मर्का परेको भन्दै सांसद चालिसे र मेयर रिसाल निकुन्जको प्रतिवेदन बोकेर  वन विभाग, वातावरण तथा जैविक विभाग, अर्थ मन्त्रलय,वन तथा वातावरण मन्त्रालय हुँदै सरोकारवाला निकायमा लगातार लागिरहेका थिए ।

असल र जनता प्रती उत्तरदायी जनप्रतिनिधिको रुपमा उनीहरुको कामलाई स्थानीयले तारिफ गरेका छन् । मन्त्रीपरिषदबाट सुविधा सम्पन्न बाटोको रुपमा उक्त मार्ग पास भएसँगै अब शुल्क नलाग्ने ग्यारेन्टी भएको हो।

पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित धाप बाँध (धाप ड्याम) पर्यटकको नयाँ गन्तव्य बनेको छ । यो गोकर्णेश्वर नगरपालिका-१, शिवपुरी डाँडामा रहेको मानव निर्मित विशाल ताल हो। पर्यटकहरुको नयाँ गन्तब्य बनेको भएपनी सुन्दरीजल चेकपोस्ट मै लिइने प्रतिब्यक्ती १०० र सवारीसाधनको १५० प्रवेश शुल्कले मानिसलाई पिडा थियो।

धापड्याम वर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भएपनि काठमाडौंबाट नजिकै रहेको मनमोहन ताल हो। यसलाई काठमाडौंको रारा समेत भनेर आन्तरिक पर्यटकले प्रचारप्रसार गर्ने गरेका छन् । अब शुल्क हटेपछि यस क्षेत्रको पर्यटन अझै बढ्ने र जनतालाई पनि निक्कै सजिलो हुने मेयर दिपक रिसालको भनाइ छ।

यस कामको लागि सांसद चालिसे र मेयर रिसाल सहित गोकर्णेश्वर नगरपालिकाले मुख्य रुपमा अग्रसरता देखाएको र मध्यवर्ती समितिका अध्यक्ष नारायण श्रेष्ठ र रिखिराम खत्रीसंगै समाजसेवी डम्वर बहादुर तामाङ ,विवेक लामा, सोनाम लामा, शेर वहादुर लामा, तिर्थ लोप्चन, ज्ञानराज वाईबा,अष्टमान लामा लगायत थुप्रै राजनीतिक तथा सामाजिक ब्यक्ति र स्थानीयले साथ दिएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय