गगनहरूकाे प्रस्तावमा प्रचण्डले खेलेर त्रिवि बिगारे
मनोज कुमार कर्णगत वर्ष २०८० सालकाे पाैष २० गतेदेखि २२ गतेसम्म त्रिभुवन विश्वविद्यालयमा उपकुलपति (Vice-Chancellor) पदकाे लागि गरिएका लगातार तीनवटा विज्ञापनका शुरूवातकर्ता नेपाली काँग्रेसका युवा नेताहरू महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, मन्त्री प्रदिप पाैडेलहरूलाई लिईन्छ । उहाँहरूले संसद र आमसञ्चारमा आफ्नाे उपस्थिति ओजपूर्ण र देश विकासमा लागेर नीजि क्षणिक लाभकाे कुरा बाेल्दा साे बेलाका काँग्रेस-माओवादी केन्द्रकाे संयुक्त सरकारका प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”लाई विगतमा त्रिविकाे भिसि नियुक्ति सर्चकमिटिबाट मात्र गरिनेमा अप्ठ्याराे महशूस गर्नुभयाे । काँग्रेसी युवानेताहरूकाे चाहना मुताबिक ईतिहासमै पहिलाेपटक कुलपति/प्रम प्रचण्डले त्रिविकाे भिसि पदकाे विज्ञापन साल २०८० पाैष २० गते पत्रिकामा गरियाे र विज्ञापन नै सुधार्दै-सच्याउँदैगर्दा ३ चाेटी गर्नुपर्याे, साेही पुष २२ सम्म ।
विज्ञापनमा विवाद भई ३ चाेटी गरिनु नै माओवादीहरूकाे गडबड साेचकाे प्रष्ट संकेत थियाे र तदनुसार दृष्य-अदृष्य सबै अनैतिक खेलहरू माओवादी-वामपन्थीहरूबाट साे पाैष महिनादेखि आज पर्यन्त त्रिवि र उच्च शिक्षामा दु:खदरूपमा भईरहेका छन् ।
यस लेखकाे आशय नै नेपालकाे उच्च शिक्षा, त्रिविलाई सुधार्ने, विश्वविद्यालयबाट दलीय राजनीति हटाउने दाबी गरेर भिसि नियुक्त भएपनि आज के भईरहेका छन् र अब सचेत वर्ग, आमसञ्चारकाे कर्तव्य के हुन्, ती बारे केलाउनु हाे । आज सन् २०२५ मा टाईम्स हायर एड्यूकेशनकाे मापनमा त्रिविकाे रैंकिङ्ग नभई केवल लिस्टिङ्ग भएकाे शैक्षिकस्त्तर खस्केकाे अवस्था छ तर कथित् विज्ञापनद्वारा नियुक्त गरिएका त्रिविका भिसि प्राडा केशरजंग बराल भने त्रिविमा माओवादी-वामपन्थी-पाेखरेलीलाई नियुक्ति गरि सेट गर्न मात्र “व्यस्त” रहेकाे सर्वत्र चर्चा छ ।
भीसी छनाैटमै गड्बडी
त्रिविमा २०८० पाैष २२ गते तेस्राे पटककाे विज्ञापनमा त्रिवि ऐन अनुसार सर्च कमिटिमा १) शिक्षा मन्त्री अशाेक राई (सहकुलपति, पूर्व कम्युनिस्ट, जसपाबाट, सरकारकाे मान्छे), २) शिक्षा सचिव सुरेश अधिकारी (सरकारले भनेकाे मान्ने मान्छे, पछि प्रचण्ड सरकारद्वारा पद दिईएर पुरस्कृत गरिएकाे) र ३) उपप्राध्यापक चन्द्रकला घिमिरे (प्राध्यापक र डाक्टर केही नभएकी, बुद्धिस्ट स्टडीज केन्द्रीय विभागकी त्रिविमा अध्यक्षा, माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनकी नेतृ, जबकी भीसी विज्ञापनमा उम्मेदवारहरूबाट दल त्यागकाे स्वघाेषणाकाे “हाई भाेल्टेज ड्रामा” माओवादीका प्रचण्ड सरकारद्वारा गराईएकाे थियाे) थिए ।
त्यसैगरि भीसि छनाैटमा ३ सदस्यीय सर्च कमिटिपछि विज्ञापनलाई “सर्वस्वीकार्य” बनाउन भनेर ऐनले नचिनेकाे निकाय “विज्ञ कमिटि” गठन गरियाे, जुन सबै माओवादीकाे अर्काे हाई भाेल्टेज ड्रामा थियाे । विज्ञ समूहमा नेपालकाे विश्वविद्यालय अनुदान आयाेग (UGC) का अध्यक्ष प्राडा देवराज अधिकारी (माओवादी अर्थात्, साे दल निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनकाे मान्छे), युजिसिकै सदस्य-सचिव प्रा. शंकर भण्डारी (डाक्टरसमेत नभएकाे, एमाले निकट नेपाल प्रगतिशिल प्राध्यापक संगठनबाट), प्राडा मीनबहादुर श्रेष्ठ (माओवादी), प्रा. वासुदेव काफ्ले (माओवादी) लगायतहरू अर्थात्, एउटै डेमाेक्रेट नभएका सर्च कमिटि/विज्ञ समूहहरू थिए । उपस्थितिमा भने नेपाल र त्रिविमै पनि सभा (सिनेटर) मा ५ मध्ये ३ वटा अर्थात्, ६० प्रतिशत सिनेटर सिट प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल (DEPAN) बाट गत २०८१ साउनमा जितेका छन् भने नेपाल प्राध्यापक संघ (NUTA) र त्रिवि प्राध्यापक संघ (TUTA) मा पनि डेमाेक्रेट (DEPAN) काे यस्तै उपस्थिति महाधिवेशन/अधिवेशनहरूमा जितेकाे सिट संख्या र भाेटले देखाउँछ !
भीसी चयनकाे दृष्य-अदृष्य अनैतिक कर्महरूकाे फेहरिस्त यतिमा मात्र सिमित थिएन । जस्तै, प्रा र डा भएका तथा “दल त्यागकाे स्वघाेषणा” गरेका भीसि उम्मेदवारहरूकाे तीन हजार शब्दकाे भिजन पेपर र पाँच हजार शब्दकाे वर्क प्लान पेपर अनि विज्ञ भई अन्तर्वार्ता लिने हैसियत दलनिकट भई सर्च कमिटिमा गएकी माओवादीकी (प्राडा नभएकी) उपप्रा चन्द्रकला घिमिरे, एमालेबाट विज्ञ तथा अन्तर्वार्तासमेत लिने प्रा (डाक्टर नरहेका) शंकर भण्डारी तथा अन्य माथि संलग्नता खुलाईएका कथित् विज्ञहरूकाे क्षमता कुन नीति, नियम, “सरस्वतीमाताकी मानस पुत्र/पुत्रीकाे प्रमाणपत्र” बाट पुग्ने भयाे ? अर्थात्, याेजना मुताबिक नै काँग्रेसका युवा नेताहरूले भीसीकाे “विज्ञापन” मीडियामा छाउने भई सरकारमा मन्त्री वा दलमा सुरक्षित स्थान खाेज्ने बाेलेपनि कार्यान्वयन निष्पक्ष कसरी गराउने कुनै याेजना नहुँदा माओवादी प्रधानमन्त्री प्रचण्डले साे बेला कुल ४१ जना भीसीका उम्मेदवारमध्ये १४ जनालाई नाैटंकी गर्दै एउटा डेमाेक्रेट भने अर्काे लालसलाम गर्दै शर्टलिस्टिङ्ग गरायाे । अन्तिम ३ नाम सिफारिशमा भने १) प्राडा चित्रबहादुर बूढाथाेकी, २) प्राडा केशरजंग बराल (बूढाथाेकी र बराल ने. रा. प्रा. संगठन, माओवादीहरू) र ३) प्रडा टंकनाथ धमला (नेपाल प्र. प्रा. संगठन, एमाले) डेमाेक्रेट शून्य गरि गरियाे जबकी डेमाेक्रेटबाट प्राडा तीर्थराज खनिया त्रिविकै पूर्व भीसी जसले त्रिविकाे रैंकिङ्ग १००० भित्रमा टाईम्स हायर एड्यूकेशनमा पारेका थिए अनि प्रा. गुणनिधि न्याैपाने त्रिविकै पूर्व शिक्षाध्यक्ष (शर्ट लिस्ट नै नगरिएका), प्राडा कुशुम शाक्य त्रिविकाे बहालवाला मानविकीकी डिनलगायत अन्यहरू पनि थिए । के उहाँहरूलाई त्रिविबारे थाहा थिएन भिजन र वर्क प्लान पेपर्समा लेख्नलाई ?
भनिन्छ कि अन्तिम ३ जनाकाे नाम भीसी सिफारिशमा पारिएकामध्ये एकजनाकाे नाम कथित् विज्ञ समूहका एकजनाले नै भिजन र वर्क प्लान पेपर्स घाेस्टभएर लेखिदिएर स्वयंले “विज्ञ” भई अर्थात्, नाम अर्काेकाे तर आफैंले लेखिदिएका पेपर्सकाे आफैंले “मूल्यांकन”पनि गरेर पारिएकाे थियाे ! साे बेला कान्तिपुर दैनिकमा समेत देवेन्द्र पाैडेल “सुनिल”लाई प्रचण्डले भीसिमा “समन्वय” गर्ने जिम्मा दिएपनि माओवादीमै उनका प्रतिस्पर्धी नेताहरूले चित्रबहादुर बूढाथाेकीकाे नाममा संघर्ष गर्दैथिए । अन्तत: अन्तर्वार्ताबाट १ नम्बरमा नाम निकालिएकाे बूढाथाेकीलाई ताेकिएकाे सिलिङ्गभन्दा बढी बिना कैफियत अङ्क दिईएकाे भनेर “विवाद”मा पारिकन केशरजंग बराललाई भीसी बनाईयाे, जुन बराल स्वयंले प्रचण्डलाई यसरी भीसि बनेर जाँदा “काम गर्न” अप्ठ्याराे हुने भनेका थिए भनेर भनिन्छ । प्रचण्डलाई केशरजंग बरालनै भीसि त्रिविमा हुनुपर्ने कारणमा १) पाेखरा विश्वविद्यालयमा बराल साल २०६४ देखि २०६८ सम्म भीसि रहँदा कार्यकारीकाे बैठकसमेत वाईसिएल (Young Communist League, YCL, अर्द्ध शैन्य लडाकू दस्ता) बाहिर राखेर चलाएर निर्णयहरू “पारित” गराएर माओवादीकरण गर्न सफल (वाईसिएलका धम्की फाेनहरू तात्कालीन ,रजिष्ट्रार प्राडा ओम शर्मालाई थाहा छ) र २) बरालकी धर्मपत्नी र परिवारनै माओवादी क्याडर/नेताहरू हुँदा प्रचण्डकाे काेठासम्म पुगेर टेबुल ठाेक्ने “हैसियत” जस्ता निकटताहरू छन् ।
स्मरण रहाेस्, स्वयं नेपाल सरकारका प्रम प्रचण्डबाट “निष्पक्षता” भनी जति दलीय-वामपन्थीकरणका अभ्यासहरू भईरहेका थिए, साेबारे कान्तिपुर मीडिया ग्रुप (केएमजी) का मीडियाहरूले भीसि चयनसम्म ठिकठिकै समाचार बनाउँथ्याे तर त्रिविकाे भीसिमा केशरजंग बराल आइसक्नुभएपछि केएमजीकाे समाचारकाे तेवर अचानक बद्लिन थाल्याे ।
सावधिक पद नियुक्तिकाे विवादित प्रक्रिया
गत २०८१ भदाै १७ गतेदेखि काट्खुट् गर्दै १ सातासम्म त्रिविमा “त्रिवि सावधिक पदमा नियुक्ति प्रक्रिया/कार्यविधि संशाेधितसमेत, २०८१” बमाेजिम विभिन्न पदमा डीन, डायरेक्टर, क्याम्पस प्रमुख, निर्देशक र परीक्षा सह-नियन्त्रक (Deputy controller) का लागि निकालिए जसमा करीब २५८ जनाले आ-आफ्ना क्षमता देखाउन उत्साहित भए । याे स्वभाविकपनि थियाे किनकि प्राध्यापकका नाममा वैचारीक समूहहरूले विगतमा आसेपासेलाई वा रकममा पद बेच्ने गरेकाे आराेपबाट ग्रसित थिए । तर न भीसि पदमा एक चाेटी विज्ञापन भयाे (अर्थात्, पटकपटक “सुधार्दै” विज्ञापन भए), न यी सावधिक पदमा ! अर्थात्, भीसि छनाैटदेखि नै नियतमा खाेट देखिंदै त्यसकाे निरन्तरता छ ।
उदाहरणका लागि व्यवस्थापन संकायकाे डीनका लागि १) प्राडा पुष्पराज जाेशी, २) प्राडा महानन्द चालिसे, ३) प्राडा भाेजराज अर्याल, ४) प्राडा अच्यूत ज्ञवाली, ५) डा ठाकुरप्रसाद शर्मा र ६) प्राडा दिलिप पराजुलीहरूले भरेकामा मंसीर महिनामा मात्रै व्यवस्थापन तथा विज्ञान तथा प्रविधिका डीनहरूकाे टुङ्गाे लगाउने भनिएकाे छ । तर बाँकी जतिकाे शर्ट लिस्टिङ्ग गरिएकाे छ, ती सबैमा भीसि केशरजंग बरालकाे माओवादी निकट र मान्छे नपुगे वामपन्थी भनेर रेक्टर प्राडा खड्ग केसीलाई रिझाउनलाई एमाले निकट विचार राख्ने प्राध्यापकहरूकाे नामलाई शर्ट लिस्टमै सक्दाे माथि राख्ने नत्र हामी माओवादी-एमालेलाई याे पद दिनुपर्छ भन्ने शैलीमा काम भएगरेकाे पाईन्छ । याे कस्ताे प्रकृया भीसि बरालले अपनाउनुभएकाे हाे कि निश्चित पदकाे ३ सदस्यीय सर्च कमिटि रहेपनि अलगबाट “विज्ञ समूह” केवल भीसिकाे कुरा चल्ने गरि बनाईन्छ र त्याे कथित् विज्ञ समूहबाट पनि भीसि बरालले सिफारिश गरेका सक्दाे संयाेजक वा अमूक व्यक्तिले उम्मेदवारहरूमध्येबाट निश्चित कसैकाे फाईल पढेर अंक हालेर “शर्ट लिस्टिङ्ग” धमाधम गरिन्छन् ? जति गरिए शर्ट लिस्टिङ्ग त्यसमा सक्दाे माओवादी, मान्छे नभेट्टाए एमालेलाई माथि नाम पारिन्छ र कथं आफ्नाे मान्छे तल पर्न गए फ्लानाेलाई बनाउनेगरी फाईनल नाम निकाल्न विज्ञ, सर्च कमिटिहरू र रजिष्ट्रारलाई दबाव दिईन्छ, याे कस्ताे “निष्पक्षता” हाे वा, माओवादी-वामपन्थीकरण सत्ताकब्जा हाे ? तल हेराैं केही उदाहरण ।
मानविकी तथा सामाजिक शास्त्र संकायकाे डीनका लागि १) प्राडा दुविनन्द ढकाल, २) प्राडा रमेशकुमार श्रेष्ठ, ३) प्राडा रामकृष्ण तिवारी, ४) प्राडा ताराप्रसाद भुसाल, ५) प्राडा सञ्जय आचार्य, ६) प्रा. कृष्णराज आचार्य, ७) डा. तुलसीप्रसाद गाैतम र ८) प्राडा ध्रुव कार्कीहरूले भरेकामा गत २०८१ साल अशाेज ७ गते शर्ट लिस्टमा क्रमश: १) प्राडा ताराप्रसाद भुसाल, २) प्राडा दुविनन्द ढकाल, ३) प्राडा ध्रुव कार्की, ४) प्राडा रामकृष्ण तिवारी र ५) प्राडा सञ्जय आचार्य गरिंदा केवल वामहरूकाे हालीमुहाली छँदा मानविकीकाे डीन खाेस्ने प्रस्ट भइसक्याे ।
भीसि अफिसबाट गरिएका डीनहरूकाे विज्ञापनमा अति पक्षधर, वामपन्थी, मानविकीका पूर्व सहायक डीन प्राडा राजकुमार पाेखरेलले डेमाेक्रेट प्रा. कृष्ण आचार्यकाे नाममा “डाक्टर” नलेखेकाे भनेर फालिदिए जबकी विज्ञापनमा सर्टिफिकेट पनि राख कहिंकतै उल्लेख छैन र अन्तर्वार्तामा त्याे जरूरत परे हेर्ने वस्तु हाे ! यतिमात्र हैन, मानविकीकाे डीन शर्टलिस्ट अशाेज ७ गतेपछि त्रिविमा अन्य ठाउँमा पनि डीनकाे शर्टलिस्टिङ्ग भए तर यस्ता नामहरू धेरै राखिए जसकाे नामकाे अगाडि प्राध्यापक र डाक्टर दुईटै टाईटिल छैनन् अर्थात्, कुनै एउटामात्र छ । यहाँभन्दा तल शर्ट लिस्टेडहरूमा कृप्या सावधानीपूर्वक हेर्नुस् ! यसरी डर र लाजले लुक्नुपर्नेमा निज प्राडा राजकुमार पाेखरेलले उल्टै सामाजिक सञ्जालमा “डा” नलेख्दा नम्बर नदिइ फालिएकाे स्टैटस लेखेर बद्मासी गरेकाे प्रमाण दुनियाँलाई दिए तर पनि उनी “सामान्य” भई डीन छान्दैछन् ।
त्यस्तै, शिक्षाशास्त्र संकायकाे डीनमा १) प्राडा वेदराज आचार्य, २) प्राडा एकारत्न आचार्य, ३) प्राडा विष्णु खनाल, ४) प्राडा नारायणप्रसाद बेल्वासे, ५) डा. कुश्मिला आचार्य, ६) प्राडा चित्रबहादुर बूढाथाेकी, ७) डा. गाेपालप्रसाद पाण्डे र ८) प्राडा विनाेद लुईंटेलहरूले आवेदनदिंदा विगतमा त्रिविकाे भीसिमा पनि भरेका, विगतमा प्रश्नपत्र बेचेकाे आराेपलागेर सार्वजनिक पदमा अयाेग्य ठहर भएका भनिएका व्यक्तिहरूपनि केवल “वामपन्थी”काे सर्टिफिकेट भएकाे भनी निम्न बमाेजिम २०८१/०६/१४ गतेकाे शर्ट लिस्टमा पारिएका छन् : १) प्राडा एकारत्न आचार्य, २) प्राडा चित्रबहादुर बूढाथाेकी, ३) प्राडा नारायणप्रसाद बेल्वासे, ४) प्राडा विनाेद लुईंटेल र ५) प्राडा वेदराज आचार्य । वामपन्थीकै उपस्थितिले भरियाे । माओवादी-वामपन्थी भए, एउटै नाम अन्य ठाउँमा पनि शर्ट लिस्टेड पछि पदकाे “भाग” पुर्याउनैलाईपनि गरिएकाे छ !
उता चिकित्सा शास्त्र अध्ययन संस्थानकाे डीनमा १) प्राडा अभिमन्यु झा, २) प्राडा माेहनराज शर्मा, ३) प्राडा रमेशसिंह भण्डारी, ४) प्राडा निर्जु रञ्जित, ५) प्राडा दिनेश काफ्ले, ६) प्राडा रामचन्द्र अधिकारी, ७) प्राडा उत्तमकृष्ण श्रेष्ठ, ८) प्राडा मिता राणा, ९) प्राडा ज्याेतिबाबा श्रेष्ठ, १०) प्राडा संघरत्न बज्राचार्य, ११) प्राडा रत्नमणि गजुरेल, १२) प्राडा दिव्या सिंह शाह र १३) डा. सुधा बस्नेतहरूले भरेकामा २०८१/०६/११ गतेकाे शर्ट लिस्ट यस्ताे छ : १) प्राडा अभिमन्यु झा, २) प्राडा प्राडा उत्तम कृष्ण श्रेष्ठ, ३) प्राडा दिव्या सिंह शाह, ४) प्राडा माेहनराज शर्मा र ५) प्राडा सुधा बस्नेतहरू छन् ।
यसैगरी ईञ्जिनियरिङ्ग अध्ययन संस्थानतर्फ डीन पदमा आवेदकहरूमध्येबाट २०८१ अशाेज ९ गते नै गरिएकाे शर्ट लिस्टमा १) प्राडा भाेलानाथ शर्मा घिमिरे, २) प्राडा लक्ष्मण पाैडेल, ३) प्राडा संगीता सिंह, ४) प्राडा सुवर्ण शाक्य र ५) प्राडा सुशिलबहादुर बज्राचार्यहरू छन् । तर मेडिसिन र ईञ्जिनियरिङ्गचाहिँ माओवादी र एमालेले नछाेड्ने भनेर भीसि र रेक्टरकाे दबाव रजिष्ट्रार, सर्च कमिटि र विज्ञ कमिटिका मेम्बर्समाथि आउने, सिनियर र माथि १/२ नम्बरमा नाम आएपनि डेमाेक्रेटले छाडिदेउ रे ! अनि यहि लुछाचुँडी र डेमाेक्रेटहरूलाई “भागबण्डा गर” भन्ने हाे भने विज्ञापन किन निकालेका ? अनि त्रिवि सुधार्छु भनेर भिसिमा केशरजंग बराल आफू बनेर मैंले नै राेजेका रेक्टर र रजिष्ट्रार किन खाेजेका : त्रिविमा भागबण्डा, दलगत राजनीति हटाएर सुधार्न कि पेलेर माओवादी दल-नेतालाई आर्थिक लेभि उठ्नेगरी नियुक्ति, जागिर दिलाई “सत्ताकब्जा” गर्नलाई ?
उता शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) काे कार्यकारी निर्देशक पदमा १) प्राडा वेदराज आचार्य, २) प्राडा एकारत्न आचार्य, ३) प्राडा नारायणप्रसाद बेल्वासे, ४) प्राडा कमलकुमार पाैडेल, ५) प्राडा सुरेन्द्र गिरि, ६) डा. कुश्मिला आचार्य, ७) राजेन्द्र कुँवर र ८) प्राडा सुदन झाहरूले भरेकामाध्ये गत २०८१/०६/१५ गतेकाे शर्ट लिस्ट यस्ताे छ : १) प्राडा एकारत्न आचार्य, २) प्राडा कमलकुमार पाैडेल, ३) डा. राजेन्द्र कुँवर, ४) प्राडा वेदराज आचार्य र ५) प्राडा सुरेन्द्र गरिमात्र छन् । सेरिडबाट पनि कुश्मिला आचार्य डेमाेक्रेटहरूलाई फालियाे ।
यसैगरी त्रिविकाे भीसिकाे महत्वपूर्ण अङ्ग मानिने याेजना निर्देशनालयकाे निर्देशकमा १) प्राडा नारायणप्रसाद बेल्वासे, २) प्राडा एकारत्न बज्राचार्य, ३) डा. साेमबहादुर बानियाँ, ४) डा. खेमराज खरेल, ५) प्राडा शाेभाकान्त लामिछाने, ६) प्राडा ज्ञानबहादुर थापा, ७) डा. लक्ष्मीकान्त शर्मा र ८) डा. प्रेमबहादुर थापा उम्मेदवारहरू मध्ये गत अशाेज १३ गते गरिएकाे शर्ट लिस्टमा १) प्राडा नारायणप्रसाद बेल्वासे, २) डा. प्रेमबहादुर थापा, ३) डा. लक्ष्मीकान्त शर्मा, ४) प्राडा शाेभाकान्त लामिछाने र ५) प्राडा ज्ञानबहादुर थापाहरू परेका छन् ।
त्यस्तै, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानकाे डीनमा गत अशाेज १५ गते गरिएकाे शर्ट लिस्टमा भने १) डा. किशाेरचन्द्र दाहाल, २) प्राडा लालप्रसाद अम्गाईं, ३) प्रा. सराेजराज मिश्र, ४) प्राडा थमबहादुर गुरूङ्ग र ५) डा. हरिकृष्ण पन्त पारिएका छन् ।
क्याम्पसहरूतर्फ भने सूर्यनारायण सत्यनारायण माेरबैता यादब सिरहा क्याम्पसमा १० जना, पृथ्वीनारायण क्याम्पस पाेखरामा ९ जना, रामस्वरूप रामसागर क्याम्पस जनकपुरमा १० जना, बुटवल ब. क्याम्पसमा ५ जना, त्रिभुवन ब. क्याम्पस ५ जना, पाटन संयुक्त क्याम्पस, ललितपुरमा याे स्तम्भकारसहित १७ जना, विश्वभाषा क्याम्पसमा ४ जना, सुर्खेत ब. क्याम्पसमा ७ जना, जुम्ला क्याम्पसमा १ जना, विरेन्द्र ब. क्या. मा ३ जना, महेन्द्र ब. क्या. नेपालगञ्जमा ११ जना, सानाेठिमी क्याम्पस भक्तपुरमा ११ जना, ललितकला क्याम्पसमा ५ जना, भैरहवा ब. क्याम्पसमा १३ जना र भाेजपुर ब. क्याम्पसमा ४ जना अनि परीक्षा नियन्त्रण कार्यालय बल्खुलगायत देशैभरका पनिकाका शाखा कार्यालयहरूका लागि कुल ६ सिटमा सुनिए अनुसार ६९ जनाले फाराम भरेका छन् ।
पहिला डीन, डायरेक्टरहरूकाे टुंग्याएर पछि क्याम्पस प्रमुख र पनिका, डिपुटी कन्ट्राेलरकाे चयनतर्फ पस्ने साेच राखिएकाे सुनिन्छ तर अहिलेसम्म केही टुंगिएकाे छैन, सबैमा विवाद भएर अड्केका छन् ।
भीसी अफिसकाे शक्तिकाे दुरूपयाेग
त्रिविका भीसि प्राडा केशरजंग बरालकाे अफिसकाे दुरूपयाेग अर्थात्, अदृष्य उनी र उनका दलका कर्मचारी र विद्यार्थीहरूकाे दबदबा अप्रत्याशितरूपमा त्रिविमा बढेकाे प्रत्यक्ष देख्न र अनुभव गर्न सकिन्छ । थुप्रै क्षेत्रमा उदाहरणहरू छन् । जस्तै, १) समाजशास्त्र केन्द्रीय विभागमा अध्यक्ष ताेक्न स्वयं २ नम्बरमा सिफारिश परेर “मेरिटाेक्रेसीमा भीसि बनेका” प्रचण्ड, माओवादी र भीसि बराल स्वयंले दाबी गरेपनि त्यही मेरिटाेक्रेसीमा सबैले अनुसन्धानमा नाम सुनेका टीकाराम गाैतमलाई राजनैतिक “सगाेत्र” मिलाउँदा नमिलेर फालेर पासाङ्ग शेर्पालाई बनाईयाे । वाम विभागाध्यक्ष बनाईंदा माओवादीकाे भीसि र अनेरास्ववियू अनि अनेरास्ववियू (क्रा.) ले उल्टै माेटरसाईकल र्याली “मार्चपास” गरेर अनि कथित् “ज्ञापनपत्र” भीसिलाई बुझाएर “सिनियरिटि”काे आधार पछ्याए ।
उदाहरण २) क्याम्पस प्रमुखकाे सेलेक्शन कमिटि बन्दै तर विज्ञापन नखुलाईंदै स्वयं भीसि बराल “दल त्याग घाेषणा गरेका”काे तर्फबाट पाटन क्याम्पसबाट सदस्यमा ने.रा. प्रा. संगठनकाे एकाई अध्यक्ष रहिसकेका र माओवादीकाे काेटामा पनिका, बल्खुमा डेपुटी कन्ट्राेलर विगतमा खाईसकेका प्राडा सञ्जयकुमार मिश्रकाे नाम अन्य दुई संयाेजक प्राडा माधव दाहाल र सदस्य प्राडा भाेजराज अर्यालसँगै प्रस्तावित गरियाे । दाहालले नियुक्ति नै लिएनन् भने व्यवस्थापनकाे डीनमा आफू भर्ने भनेर उच्च नैतिकतामा अर्यालले बस्नै मानेनन् । दाहाललाई हाल प्राडा जीवेन्द्रदेव गिरि तथा अर्याललाई प्राडा रामचन्द्र बस्नेतहरूले विस्थापन गरेका छन् । तर माओवादी मिश्रका एक हाेईन धेरै अनैतिक, सार्वजनीक पदमा बस्न अयाेग्य र सापेक्षता उनमा रहेका प्रमाणहरूसहित यहि स्तम्भकारले रेक्टर अफिसमा हटाईपाऊं भनेर निवेदन दिई पटकपटक फलाे गरेपनि भीसि बरालकै नाममा नहटाईएकाे जवाफ आउँछ । मिश्र पाटनकै चीया पसलमा फ्लानाे-ढिस्कानाेलाई विधिवत् चयन अगावै क्याम्पस चीफ “बनाईसकेर” आश्वासनपनि दिईसकेका छन् भने उनी आफैं पाटनका कार्यरत्त शिक्षक अनि म स्तम्भकार पनि उम्मेद्वार-निवेदक, कसरी निज मिश्रले “कन्फिल्क्ट अफ् ईन्ट्रेस्ट्स्”मा अब सेलेक्शन मेम्बर बस्न मिल्छ ? याे कानूनी राज्य हाे कि माओवादीकाे दशवर्षे सशस्त्र द्वन्द्वकाे त्रिविमा अब जंगलराज हाे ? कि मेरा निवेदन अनुसारका प्रमाणहरू सार्वजनिकरूपमा सुनुवाई हाेस् र निज मिश्रलाई हटाईयाेस्, हैन यदि मैंले त्रिविकाे समय नष्टमात्र गरेकाे हुँ भने मलाई सजायसहित जिम्मेवार बनाईयाेस् तर कानमा तेल हालेर भीसिले सुत्न मिल्दैन र यथास्थितिमा मिश्रलाई राखेर क्याम्पस चीफ चयनकाे प्रकृया अगाडि बढाउन मिल्दैन !
उदाहरण ३) मानविकीकाे डीनकाे लागि शर्ट लिस्टमा माओवादीलाई ल्याउन वामपन्थीमय बनाउनलाई नै “डाक्टर काे सर्टिफिकेट नखुलाएकाे” भनेर कृष्णराज आचार्यकाे नाम फालियाे तर उनले आफ्नाे डाक्टररहेकाे सर्टिफिकेटकाे दलीलसहित निवेदन विज्ञापन गर्ने निकाय भीसि अफिसमा दिएपनि नसुनेकाे अवस्था छ ।

उदाहरण ४) दशैं अगाडि डीन र डायरेक्टरहरूकाे टुंग्याउने भनिएकामा जहाँ डेमाेक्रेट शर्ट लिस्टमै “अयाेग्य” भनी फालिए, त्यहाँ फालिए तर अब जहाँ शर्ट लिस्टेड छन्, त्यहाँपनि भीसि निकट नेपाल रा. प्रा. संगठनवालाहरूले एमालेले त्याे नछाेड्ने अनि हामीलाई अर्काे तपाईंहरूकाे नाम अग्रमा निस्केकाे चाहियाे भनेर अड्काएकाले सबै भाँडभैलाे मच्चेका छन् ।
उदाहरण ५) भीसिसित विमति राख्न अनुशासितभएर पनि एकल जानुस्, पञ्चायतजस्ताे केरकार गरेर पस्न दिंदैन, ग्रुपमा जानुस् अनि उनी “विरामी” पर्छन् र “असुरक्षित” भई सरकारबाट प्रहरी सुरक्षा माग्छन् । अनि आफ्नै कर्मचारी र प्रहरीकाे “बल”मा मन नपरेकाे व्यक्ति वा समूहलाई पछि पस्न बन्देज लगाईएकाे छ । उत्ता आफ्नाे कुरा जहाँपनि लाद्न रेक्टर र रजिष्ट्रारलाई निजि निवास विहान बाेलाउने, पेल्ने, नमाने उहाँहरूकाे अफिसमा कथित् १८ बुँदे माग राखेर अनेरास्ववियू (क्रा.)काे नाममा मान्छे पठाएर कहिले ताेडफाेड भने कहिले रजिष्ट्रार अफिसमै पनि ६ जना माओवादी विद्यार्थीलाई २४ घण्टा बढी दिन-रात सुत्न लगाउने ! भीसि बरालनिकट ने. रा. प्रा. संगठनका प्राध्यापकहरूले भने रेक्टर र रजिष्ट्रार अफिसमा अरू व्यक्ति समय लिएर भेट्न पर्खिरहेकालाई बेवास्ता गर्दै माओवादीकाे हेडक्वार्टरमा झैं “टाईम लिया छ है !” भनेर ग्रुपमै गुरिल्ला शैलीमा पस्ने ।
उदाहरण ६) हिजाेसम्म त्रिविका भीसि प्राडा तीर्थराज खनिया वा उनिपछि प्राडा धर्मकान्त बास्काेटा वा अझ पछि निमित्त प्राडा शिवलाल भूसाल रहँदासम्म त्रिविकाे कुनैपनि अफिस विद्यार्थी समूहलाई अधिवेशन/गतिविधि गर्नलाई दिईएन । तर “दल त्यागकाे स्वघाेणा” गरेर त्रिविबाट “राजनीति हटाउँछु” भनेर आएका भीसि बरालले भने आफू माओवादीनिकट नै रहेका अनेरास्ववियू (क्रा.) लाई गत अशाेज १० गतेदेखि त्रिवि स्मृतिभवन अधिवेशन गर्न भनेर दिएपनि पछि निर्वाचन कार्यालय भनेर त्यहाँ अन्य थुप्रै काेठा भएपनि त्रिवि प्राध्यापक संघ (TUTA) काे अफिस बैठक कक्ष नै आफ्नै भीसि कार्यालयबाट फाेन गराएर अनि पछि कर्मचारी प्रशासनबाट पनि फाेन गराएर दिलाउने दलगत र आफ्नै वाचा विपरीतका अनैतिक कर्म गरे र, विद्यार्थीले गत अशाेज १६ गते टुटा अफिसपनि अधिवेशन स्थगनकाे घाेषणापछि टुटाएर व्यक्ति विशेष केशरजंग बरालकाे ईज्जतमाथि हिलाे फ्याँके !
केएमजी दशैं मनायाे तर बेथिति भने देखेन
त्रिविकाे भीसि बन्ने प्रकृयासम्म अनैतिकता र अपारदर्शीताका समाचारहरू माथि उल्लेख गरिए झैं कान्तिपुर मीडिया ग्रुप “केएमजी” का सबै सञ्चारमाञ्यमहरू पत्रिका, रेडियाे, टीभि आदिले लेखेपनि भीसिमा केशरजंग बराल २ नम्बरमा नामभएपनि १ नम्बरकालाई उछिनेर आईसकेपछि केएमजीले निरन्तर समाचार बनाएर, सम्पादकीय समेतमै पनि “केशरजंग बरालजस्ताे मान्छे भीसिमा त्रिविले पाउनु साैभाग्य हाे, अब चाैतर्फी सुधार हुन्छ” भनेर लेख्याे । यतिमात्र हैन कि भीसिकाे दाैडमा रहेका पूर्व भीसि प्राडा तीर्थराज खनियालाई राेक्न न्वारनदेखिकाे बल लगाए झैं समाचार, स्टाेरीहरू लेखेकाे लाग्थे तर अन्तिम सिफारिश ३ जनामध्ये कसैकाे पेपर्स नै लेखेर कथित् विज्ञपनि आफैं बसेर नाम सिफारिश गरिएकाे एकजना “नैतिकवान विद्वान” र उक्त उम्मेदवारहरूबारे केही लेखेन !
त्यतिमात्र हैन, बराल भीसिमा आएपछि अचानक “सफ्ट टाेन” भई प्रशंसा गर्न थालेकाे केएमजीले पुन: त्रिविका स्टेकहाेल्डर्स/सिनेटर संस्थाहरू नेपाल प्राध्यापक संघ (NUTA), त्रिवि प्राध्यापक संघ (TUTA), त्रिवि कर्मचारी संघहरूलाई नै त्रिविकाे भूमाफिया भनेर लगातार समाचार बनायाे, जबकि त्याे ल्याबरेटरी स्कुल, राधाकृष्ण मन्दिर वा पाटन क्याम्पसकाे ल्याबिम माैल भाडा लिएर भाडापनि नतिर्ने र जमीनपनि नछाेड्ने जस्ताे त्रिपुरेश्वरकाे वर्ल्ड ट्रेड सेन्टर, बल्खुकाे टाटा सुमाेवालाहरूलगायत देशैभर यस्ता कब्जा गर्नेहरूलाई मात्र लेख्न मिल्थ्याे । तर अस्वभाविकरूपमा केएमजीका समाचारहरू स्टेकहाेल्डर्सलाई उल्टै “कब्जाधारी” र कीर्तिपुरसम्ममात्र सिमित समाचार, स्टाेरीहरू लेखेर बस्याे, जबकी देशभर त्रिविका सम्पत्ति, जमलमा पनि स्वयं नेपाल सरकारले पनि नयाँ विश्वविद्यालय वा राष्ट्रिय पुस्तकालय के-के बनाउने भनेर खाेस्दै आएकाे छ, व्यक्ति त कन्ट्रैक्टर भई कति ठाउँमा लूट मच्चाएकै छन् ।
दुर्भाग्य, केएमजीले अचानक बेथितिविरूद्ध समाचारहरू लेख्न बन्द गर्याे किनकि गाेरखापत्र सरकारी सञ्चारमाध्यमजति कान्तिपुरमा पनि त्रिविका विज्ञापन आदिहरू लाखाैं रूपैयाँका दरले मासिक जान थाल्याे । हुँदाहुँदै माथि उल्लेखित सावधिक पदका नियुक्तिमा भीसि बरालकाे माेनाेपाेली र माओवादीकाे दलगत सत्ताकब्जाबारे केहिपनि केएमजीले नदेखे झैं हालसम्म “शान्तिपूर्ण” दशैं मनाएर बसेकाे झैं प्रतीत हुन्छ । याे पत्रकारीताकाे धर्म नभई नीजि कमाउधन्दाकाे लागि विगतकाे उसकाे “ब्लैकमेल” हाे ।
त्रिवि भने बेहाल नै
माथिका वर्णनले त्रिविमा दल त्यागकाे घाेषणासहित विकास गरेर नेपालकाे उच्च शिक्षामा सुधार ल्याउने वाचा नेपाल सरकार र केएमजीमार्फत् सार्वजनिक गरेर आएका भीसि प्राडा केशरजंग बरालले हालसम्म केही गर्न नसक्नुमा निजकै माओवादी-वामपन्थताकाे दलीय माेह, सत्ताकब्जा आदि हुन् । आज २०० जति कर्मचारी सरूवामा माओवादीलाई राेजीखाेजी भीसि, रेक्टर, रजिष्ट्रार, सेवा आयाेग, सूचना आदि महत्वपूर्ण ठाउँ “भन्सार” मा लगेर कमाउने माैका र सूचना संकलन गरेर आफू कहाँ पुर्याउने “भेदीया”काे ठाउँमा पारिएका छन् भने डेमाेक्रेट कर्मचारीहरूलाई लाखापाखा लगाइएका छन् । कतिसम्म भने पाेखरामा भीसि छँदा करिब २० जनाजतिलाई बरालकाे “दलगत जात” नमिलेपछि अध्ययन विदासमेत नदिएकाे कार्य हाल त्रिविमा पनि दाेहाेर्याएर “माओवादी सदस्यता लेउ” जस्ताे अदृष्य दबाव बढाएका छन् । पूर्व भीसि प्राडा तीर्थराज खनियाका पालामा त्रिवि सन् २०१९ सम्म टाईम्स हायर एड्यूकेशनकाे लिस्टमा १००० भित्र अथक प्रयासले ल्याईएकाेमा हाल सन् २०२५ मा त्रिवि १५०० पछि र्याङ्क हाेईन कि केवल लिस्टिङ्ग भएकाे छ तर भीसि बरालकाे प्रशासन लज्जास्पदरूपमा माैनता साँधेकाे छ, कुरा सार्वजनीक नगरेर ।
जुन प्रकारले ८-९ वटा डीन/डायरेक्टरपनि भीसिले दशैं अघि नियुक्त गर्न सक्नुभएकाे छैन, अब १७ वटा क्याम्पस र ६९ उम्मेदवारमध्ये डिपुटी कन्ट्राेलर (पनिका)काे पनि यहि माओवादीकाे सत्ताकब्जा अभियानले गर्नुहुने छैन भनी पक्का छ किनकि त्रिविमै डेपानमात्र ६०-६५ प्रतिशत छ भने नेपाल प्रगतिशिल प्रा. संगठनले पनि भीसिकाे “सत्ताकब्जा याेजना” बुझिसकेकाे छ । यस्ताेमा भीसि केशरजंग बरालले आफूले चाहेकाे जस्ताे नियुक्तिहरू पेलेर कार्यकारिबाट पारित गराउने, सके/नसकेपनि पछि राजीनामा गरेर घर फर्कने मूडमा रहेका कुरा आम प्राध्यापक माझ चर्चा छ । यसरी प्रचण्डकाे बठ्याईंले “दल त्यागकाे घाेषणा”सहित नियुक्त भीसि केशरजंग बराल भने माओवादीलाई “नियुक्ति” नै दिनमात्र तत्पर रहेर आज पर्यन्त त्रिवि र नेपालकाे उच्च शिक्षाकाे समय खेर फालेकाे सावित भईसकेकाे छ ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

