गौशाला-२६ को उमेर र निवेदनले सन्दीपविरुद्ध सर्वोच्च जाने बाटो बन्द

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अभियुक्त रहेको मुद्दामा महान्यायाधिवक्ता कार्यालय सर्बोच्च नजानुको कारण गौशाला-२६ नामकी युवतीले दिएको निवेदन र उनको उमेर मुख्य रहेको छ।

यो निर्णयसँगै जबरजस्ती करणीसम्बन्धी मुद्दामा सन्दीपको पक्षमा अब उच्च अदालत पाटनको फैसला नै अन्तिम हुने पक्का भएको छ । क्रिकेटर सन्दीपविरुद्ध २०७९ भदौ २१ गते गौशाला-२६ नामकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन।

तिनै युवतीको जाहेरी पछि लामो समय सन्दीप खेलमा सक्रिय भएनन् । सो मुद्दामा जिल्ला अदालत काठमाडौका न्यायाधीश शिशिरराज ढकालको इजलासले २०८० पुस २५ गते आठ वर्ष कैद, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख रुपैयाँ भराउने फैसला गरेको थियो। तर,त्यस फैसला विरुद्ध सन्दीप उच्च अदालत गएका थिए। उनले उच्चबाट भने सफाइ पाए।

उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेपनि युवतीले नै यो मुद्दा अगाडि नबढाइदिन भन्दै निवेदन दिएकी थिइन। साथै उनको उमेर १८ हो होइन भन्ने बिषयमा पनि महान्यायाधिवक्ता कार्यालय स्पष्ट रहेको कारण अब सन्दीपले उक्त मुद्दामा पूर्ण रूपमा सफाइ पाउने पक्का भएको छ।

स्रोतका अनुसार उच्चको फैसला पछि सर्बोच्च जान पाउने गौशाला-२६ ले नै पुनरावेदन नगर्न आग्रह गर्दै एक पत्र सरकारी वकिललाई पठाएपछि महान्यायाधिवक्ताको कार्यालयले त्यै निवेदनलाई पनि सर्वोच्च जानु नपर्ने आधार बनाएको हो। किशोरी आफै महान्यायाधिवक्ता कार्यालय र उच्च सरकारी वकिल कार्यालय पाटनमा पुगेर मुद्दा थप अगाडि नबढाइदिन निवेदन दिएकी थिइन्।

यसैगरी किशोरीको उमेरलाई पनि महान्यायाधिवक्ताको कार्यालयले आफ्नो निर्णयमा अर्को आधार मानेको छ।सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिने किशोरीको उमेर १८ बर्ष पुरा भएको हो होइन भन्ने विवाद थियो। किशोरीको उमेर १८ पुरा हो भन्ने कुरामा पनि महान्यायाधिवक्ता कार्यालय स्पष्ट भएको छ। मुद्दा  चलिरहेका बेला गौशाला-२६ले आफू नाबालिग रहेको दाबी गरेकी थिइन् भने सन्दीप पक्षले युवतीले पछि उमेर घटाएर नागरिकता बनाएको र उनको वास्तविक उमेर १८ वर्ष पूरा भइसकेको दाबी गर्दै आएको थियो।

१८ वर्ष उमेर नपुगेसम्म सहमतिमा भएको करणीलाई पनि जबर्जस्ती करणी मानिने कानुनी व्यवस्था छ। महान्यायाधिवक्ता कार्यालयले उनलाई अब १८ वर्ष पूरा भएको मानेको छ। कसैको उमेर विवाद हुँदा जन्मदर्ता प्रमाण पत्रमा उल्लिखित जन्म मिति र सो नभए विद्यालयको चारित्रिक प्रमाण पत्रमा उल्लिखित जन्म मिति वा विद्यालयमा भर्ना हुँदाका बखत उल्लेख भएको जन्म मिति र सो नभए जन्म कुण्डली, चिना टिपोट, बाबुआमाको संरक्षणमा खुलाइएको उमेरलाई आधार मानिने कानुनी व्यवस्था छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय