दूरसञ्चार क्षेत्रमा जालझेलमा लाइसेन्स दिँदाको परिणाम

नेपालको टेलिकम्युनिकेसन (दुरसंचार) क्षेत्रमा लाईसेन्स जारी गर्दादेखिनै बडो जालझेल, कानुनी अस्पष्टता, भविष्यमा भित्रिने प्रविधि प्रति थोरै पनि अनुमान गर्न नसक्दाको हविगत २० वर्ष पुग्दा नपुग्दै छर्लंग भएको छ ।

मल्टिनेसनल कम्पनी भनिएकाहरुमा पनि एकातिर न कर्पोरेट ईथिक्स देखियो, नत भविष्यप्रति चासो । सबैमा टापटिपे, मौकामा कसरी हुन्छ, कस्लाई रिझाएर हुन्छ फाईदा लिने र एक्जिट हुने प्रवृत्ति हावी देखियो ।

२०६० सालमा सिडिएमए प्रविधिबाट फ़ोन सुरु गरेर प्रविधिको लुपहोल्सबाट मोबाईलमा पसेको युटिएल खै ?

२०६२ मा राजाको सकृय शासनकालमा जनताले टेलिकमबाट लिएका प्रिपेड मोबाईलका सीमकार्ड बन्द गराएर फास्टट्र्याकबाट छिरेको स्पाईस नेपाल (मेरो मोबाईल) आज चार पटक साहु फेरिसक्यो । घरि एनसेल, घरि एक्जिटा हुँदै नाम फेर्दै, रियल भ्यालुभन्दा कममा किनबेच गरेको देखाउँदै देशको राजश्व छल्न यो कम्पनी खतरा खेलाडी देखियो । राजा ज्ञानेन्द्रका ज्वाई राजबहादुर सिंहलाई ‘पावर-शेयर’ दिएर लाईसेन्स किनेर सेवा सुरु गरेको यस्ले गणतन्त्र आएपछि राजबहादुरलाई दुधबाट झिंगा मिल्काए भन्दा पनि सजिलोसँग हटाएको थियो ।

२०६४/६५ मा माओबादी सत्तामा छँदा मध्यपश्चिममा मात्र सेवा थाल्ने नाममा अजयराज सुमार्गीको हेलो मोबाईल कहाँ पुग्यो ? दुरसंचार विकास कोषको अर्बौ रुपियामा ब्रह्मलुट गर्न माओबादीको ईन्ट्रेष्टमा दिइएको लाईसेन्स पनि खारेज भैसक्यो । सरकारले पाउनुपर्ने राजश्व पनि गयो ।

अर्को सिंगापुरे लालसाहुको कम्पनी-स्मार्टटेल । यो पनि घिचिघिचि गर्दै चल्यो केहि वर्ष । काठमाडौमा मोबाईल चलाउने भित्री उद्वेश्य बोकेर भित्रिएको यो कम्पनीले नगरकोटसम्म त आयो । तर टेलिकम र एनसेलका कारण काठमाडौँ आउन सकेन । बन्द भयो, कति राजश्व उठ्न बाँकी छ प्राधिकण र महालेखासँग पक्कै विवरण हुनुपर्छ ।

लालसाहु मार्फत नेपालको दुरसंचार बजारमा छिरेका सतिशलाल आचार्यले स्वाद बिर्सन नसकेर अहिले आक्जिटाको शेयर रियल भ्यालुभन्दा कम मुल्यमा किनेका छन् ।

एसटिएम टेलिकम किनेर मोबाईल सेवामा पस्न खोजेका विनोद चौधरी गौँडा कुरेर बसेको धेरै भैसक्यो । पावर र पैसा हुँदा पनि उनले मोबाईल सुरु गर्न नसक्नुमा कानुनी शर्त र व्यवहारिक पक्ष धेरै छन् ।

आजका दिनसम्म आउँदा सबैभन्दा अस्तव्यस्त, अर्बौ घोटाला हुने क्षेत्रका रुपमा दुरसंचार क्षेत्र चिनिएको छ । कानुनी छिद्रको प्रयोग गरेर एक डलरे कम्पनीले सिंगो नेपालको सरकारलाई तिरिमिरी झ्याई बनाईराखेको छ ।

प्राधिकरण निरिह, बिचरो छ । नत क्षमता, न कानुनी अधिकार निर्धक्क प्रयोग गर्न पाउँछ । सिंहदरबार, सानेपा, च्यासल, पेरिसडाँडा, बुढानिलकण्ठको सिग्नल बुझेर अघि बढ्नुपर्ने वाध्यता यो निरिह निकायको छ ।

दिन दाहाडै देश लुटिँदा पनि टुलुटुलु हेर्ने, ठूला गफ जोत्ने तर तिनैबाट चन्दा लिएर चुनाब लड्ने नेता, शासक, प्रशासक भएपछि के हुन्छ ?

१२ वर्षसम्म दुरसंचार क्षेत्रको रिपोर्टिंग गर्दा धेरै देखियो, बुझियो, चिनियो, जानियो । त्यो गोल्डेन एज थियो, आज तहस नहस अनि भद्रगोलको स्थिति छ । थाहा पाएका बोल्दैनन्, चुरो कुरो नबुझ्नेहरु उफ्रिएको देख्दा न रुनै सकिन्छ, न हाँस्न ! कि कसो ?

  • हाल अमेरिकामा रहेका पत्रकार भट्टको फेसबुकबाट

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय