फुटबलको महाकुम्भ फिफा विश्वकपको २३औं संस्करण सुरु हुँदै

काठमाडौं । फुटबल केवल एक खेल होइन, यो त भावना र एउटा उत्सव हो । यही उत्सवको सबैभन्दा ठूलो रूप अर्थात् ‘फिफा विश्वकप २०२६’ फुटबल इतिहासकै सबैभन्दा विशाल र भव्य बन्दैछ ।

उत्तर अमेरिकी महादेशका तीन शक्ति राष्ट्रहरू— अमेरिका, क्यानडा र मेक्सिको को संयुक्त भूमिमा आयोजना हुन लागेको यो संस्करणले फुटबलमा नयाँ युगको सुरुवात गर्दैछ ।

यसपटकको विश्वकप आफैंमा ऐतिहासिक हुनेछ किनभने पहिलोपटक ४८ राष्ट्रहरू सहभागी हुँदैछन् । सहभागी राष्ट्रको संख्या बढ्दा खेलहरू पनि बढेका छन्, अवधि पनि लम्बिएको छ ।

यो ऐतिहासिक विश्वकपको यात्रा सन् २०२६ को जुन ११ (जेठ २८, २०८३) देखि मेक्सिकोको ऐतिहासिक ‘मेक्सिको सिटी स्टेडियम’ (एज्टेका) बाट सुरु हुँदैछ, जहाँ आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

जुन ११ देखि सुरु हुने यो रोमाञ्चक यात्रा ३९ दिनसम्म निरन्तर चल्नेछ र जुलाई १९ (साउन ४, २०८३) मा ‘न्यूयोर्क न्यूजर्सी स्टेडियम’ मा हुने फाइनल भिडन्तसँगै यसले नयाँ विश्वविजेता पाउनेछ ।

नयाँ संरचना: १२ समूह र ४८ टिमको समीकरण

यसपटक विश्वकपको ढाँचा पूर्ण रूपमा बदलिएको छ। सहभागी ४८ देशहरूलाई १२ वटा समूहमा विभाजन गरिएको छ, जहाँ प्रत्येक समूहमा ४-४ टिमहरू रहेका छन् ।

समूह ए मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेकिया छन् । समूह बी मा क्यानडा, बोस्निया एन्ड हर्जगोभिना, कतार, स्विट्जरल्याण्ड छन् भने समूह सी मा ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड अनि समूह डी मा अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्की छन् ।

यस्तै समूह इ मा जर्मनी, कुराकाओ, आइभोरी कोस्ट, इक्वेडर छन् । समूह एफमा नेदरल्याण्ड्स, जापान, स्वीडेन, ट्युनिसिया छन् । समूह जी मा बेल्जियम, इजिप्ट, इरान, न्यूजिल्याण्ड छन् । समूह एचमा स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे छन् ।

समूह आईमा फ्रान्स, सेनेगल, इराक, नर्वे तथा समूह जे मा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन रहेका छन् । समूह के मा पोर्चुगल, उज्बेकिस्तान, कोलम्बिया, डीआर कङ्गो छन् । समूह एलमा इङ्गल्याण्ड, क्रोएसिया, घाना, पानामा छन् ।

यही समूह चरणबाट उज्बेकिस्तान, जोर्डन, केप भर्डे र कुरासाओ ले पहिलोपटक विश्वकपमा डेब्यु गर्दै इतिहास रच्दैछन् ।

थपिएको रोमाञ्च: ‘राउन्ड अफ ३२’ को प्रवेश

खेलको संख्या ६४ बाट बढेर १०४ पुग्दा फिफाले नकआउट चरणलाई अझै रोमान्चक बनाएको छ । पहिले समूह चरणपछि सिधै ‘राउन्ड अफ १६’ हुन्थ्यो भने अब ‘राउन्ड अफ ३२’ को नयाँ चक्र थपिएको छ ।

प्रत्येक समूहका शीर्ष २ टोलीहरू (२४ टिम) र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टोलीहरू गरी कुल ३२ टिमहरू नकआउट चरणमा प्रवेश गर्नेछन् । यसले गर्दा साना र कम आँकिएका टोलीहरूलाई पनि अगाडि बढ्ने ठूलो मौका मिल्नेछ ।

राउन्ड अफ ३२ मा हुने १६ खेलपछी राउन्ड अफ १६ मा ८ खेल हुनेछन् । त्यसपछि क्‍वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ ।

पुराना विजेताहरूको विरासत र मेस्सी-रोनाल्डोको ‘लास्ट डान्स’

यो विश्वकपमा इतिहासकै सफल टोलीहरू आफ्नो साख जोगाउन मैदान उत्रिनेछन् । हालसम्मको इतिहासमा ब्राजिल सर्वाधिक ५ पटकको विजेता हो । त्यसैगरी जर्मनी र इटाली (यसपटक छनोट हुन नसकेको) ले ४-४ पटक उपाधि जितेका छन् ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र फ्रान्स सँग ३-३ पटक तथा उरुग्वे सँग २ पटक विश्वकप जितेको इतिहास छ । इङ्गल्याण्ड र स्पेन ले १-१ पटक सुनौलो ट्रफी उचालेका छन् ।

यता, वर्तमान फुटबलका दुई महानायक— लियोनेल मेस्सी (अर्जेन्टिना) र क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) का लागि यो सम्भवतः अन्तिम विश्वकप हुनेछ ।

सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी आफ्नो उपाधि रक्षा गर्न र रोनाल्डो पोर्चुगललाई पहिलो ऐतिहासिक उपाधि दिलाएर सुखद बिदाइ लिन मैदानमा भिड्नेछन् ।

४८ टोलीको सपना, १०४ खेलको रोमाञ्च, र नयाँ ‘राउन्ड अफ ३२’ को संरचनाले २०२६ को यो उत्तर अमेरिकी विश्वकपलाई मानव इतिहासकै सबैभन्दा भव्य र यादगार खेलकुद महोत्सव बनाउने निश्चित छ!

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय