नाइजेरियन युवतीको प्रेमी म होईन भन्दै सांसद कार्कीले छाती खोलेर देखाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन युवतीलाई गर्भवती बनाउने ब्यक्ति आफू नभएको बताएका छन् ।
उनले नाइजेरियन युवतीलाई अलपत्र पारेको आरोपबारे अनभिज्ञता प्रकट गर्दै भनेका छन्-‘मलाई त यो बिषयमा केही पनि थाहा छैन र थप बोल्न पनि चाहन्न।’
मिडियामा समाचार आएको र अहिले सामाजिक संजालमा भाइरल भएको सबैकुरा कसरी आयो ? कसले कुन उदेश्यले लेख्यो ? मलाई केही थाहा छैन भन्दै उनले संचारकर्मीसँग एउटै कुरा दोहोर्याइरहे-‘मलाई केही थाहा छैन,त्यो ब्यक्ति म होइन।’
त्यसपछि कार्किले २०७१ सालमा मारिएका दिनेश अधिकारी ‘चरी डन’ सँग नाम जोडिएको कुरामा पनि असहमति जनाए। उनले भने-‘म चरीको मान्छे पनि होइन।’
संचारकर्मीलाई विश्वास दिलाउन उनले समाचारमा आएको फोटोमा भएको ब्यक्तिको शरीरमा ट्याटु रहेको तर,आफ्नो शरीरमा ट्याटु पनि नभएको समेत बताए। त्यतिमात्र होइन उनले कपडा नै खोलेर सञ्चारकर्मीलाई देखाउदै भने-‘म तपाईंहरुलाई एउटा कुरा देखाउँछु, ल हेर्नुस् मेरो ट्याटु कहाँनेर छ ?’
सोमबार संसदमा बोल्न नाम टिपाएर पनि नबोलेको विषयमा पत्रकारको प्रश्नमा पनि उनले अर्कै कुरा गरे। उनले भने, ‘म संसदमै थिएँ । तर मैले शून्य समयमा बोल्न सिग्नेचर गरेको थिइनँ । सिग्नेचर नगरेको मान्छेको नाम नआउनुपर्ने हो। तर मेरो कसरी आयो त्यो बुझ्दैछु ।’

