विपदमा परेर २९२ को मृत्यु, २७ बेपत्ता
काठमाडौँ । यस वर्षको वैशाखयता देशका विभिन्न भागमा भएको सबैखाले विपद्जन्य घटनामा परेर २९२ जनाको मृत्यु भएको छ । यो २०८२ बैशाखदेखि यताको विवरण हो।
प्राप्त विवरणअनुसार यही अवधीमा अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार मात्रै ५१ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताइन् । सबैभन्दा बढी इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको र पछिल्लो प्रणालीबाट ५० जिल्ला प्रभावित भएको उनले जानकारी दिइन् ।
प्राधिकरणका अनुसार वैशाखयता सर्पदंशबाट मात्रै ८६ जनाको मृत्यु भएको छ । त्यसपछि पहिरोमा परेर ५१ तथा चट्याङबाट ४५ जनाको मृत्यु भएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको विपद्जन्य घटनाको अभिलेखमा बाढी र भारी वर्षा बाहेक आगलागीबाट २३, हावाहुरीका कारण आठ, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ ।
यस्तै, बाढीबाट २३ जना, पहिरोका कारण तीन र जनावरको आक्रमणबाट एक जना बेपत्ता भएका छन् ।
हालसम्म चार हजार ६५ वटा विपद्जन्य घटना भएको र ती घटनामा परेर एक हजार ७२ जना घाइते भएको पनि प्रवक्ता महतले बताइन् । कुल सात हजार २११ प्रिवार ती विपदबाट प्रभावित भएको उनले जानकारी दिइन् ।