प्रशासनको चेतावनी : बाढी-पहिरोको सम्भावना छ, बच्नू


काठमाडौं । देशभरका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखाले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको बताएपछि जिल्ला प्रशासन कार्यालय र विपद व्यवस्थापन निकायहरुले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

विशेषगरी काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुर,गण्डकीका कास्की,लमजुङ,बागलुङ,म्याग्दी लगायतका जिल्लामा साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने, बाढी, डुबान, पहिरो तथा भू–क्षयजस्ता विपद् हुने जोखिम बढ्ने चेतावनी दिएको छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाकाल गाउँपालिका जोड्ने मुख्य र सहायक सडक मार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन ललितपुर जिल्ला प्रशासनले अनुरोध गरेको छ।अत्यावश्यक बाहेक रात्रीकालीन समयमा सवारी सञ्चालन नगर्न सुझाव दिइएको छ।

त्यसैगरी संवेदनशील क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई असोज १७ देखि २० गतेसम्म विशेष सावधानी अपनाउन, जोखिम कम गर्न पूर्वतयारी गर्न तथा सुरक्षा निकाय वा स्थानीय तहले जारी गर्ने सूचनाअनुसार प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ।

उता काभ्रेहुँदै सिन्धुली,रामेछाप,ओखलढुंगा र खोटाङ सहित पूर्वजाने बिपी राजमार्गमा ६ दिन रातको समयमा सवारीसाधन नचलाउन भनिएको छ। त्यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा-मुग्लिन खण्ड र मुग्लिन-नारायणगढ सडकमा पनि उच्च जोखिम भनिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराहुँदै ट्रेकिङ जाने कुनैपनी रुटमा यात्रा नगर्न सचेत गराएको छ। अन्नपूर्ण माछापुच्छ्रे र मर्दी हिमाल ट्रेकिङ नगर्न,पूनहिल घान्द्रुक तर्फपनी नजान र लमजुङ हुँदै मनाङ जाने बाटोमा पनि सतर्क हुन भनेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय