लाेकतन्त्र र गणतन्त्रमाथि ठाेकतन्त्रकाे प्रहार

मनोज कुमार कर्ण

गत २०८२ साल भदाै २३ र २४ गते नेपालमा भएकाे जेन-जी (Gen-Z), संक्षेपमा जेनजीकाे नाममा भएकाे शान्तिपूर्ण आन्दाेलनलाई हिंसात्मक, ताेडफाेड र आगजनीयुक्त बनाउनमा माओवादीका प्रचण्ड र अन्तिम राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटिमा पसाउन उनकै निगरानीमा उत्पाच मच्चाउन खप्पिस दुर्गा प्रसाईंहरूकाे हाथ थियाे भनी व्यापक विभिन्न स्राेतबाट खुलासाहरू भईरहेका छन् ।

निकै पहिलादेखि अमेरीकि सिआईएकाे डिजाईनमा टूलकिट् प्रयाेग भई रकमकाे जाेहाेपनि भईरहेकाे परिप्रेक्ष्यमा नेपालकाे जेनजी आन्दाेलनका हर्ताकर्ता “हामी नेपाली” एन्जिओका सुदन गुरूङ, उक्त संस्थासँग सम्बन्धितहरू, प्रमाणित भईसकेकाे तथ्य अब उनीहरूलाई निर्देश गर्ने सुशिला कार्की तथा कल्याण श्रेष्ठहरू थिए । यस संस्था र जेनजीकाे युवा अगुवाईमा भदाै २३ र २४ गते सामाजिक सञ्जाल बन्द गर्ने एमालेका केपी ओली नेतृत्ववाला काँग्रेस-एमाले र केही साना दलकाे सरकारकाे निर्णयकाे विरूद्धमा भएकाे ठूलाे प्रदर्शन पश्चात् केही निर्देशक बालेन्द्र साह तेली, रवि लामिछानेहरू अहिले ब्याक गियरमा रहेपनि अग्रपक्तिकी सुशिला कार्कीलाई संविधान र संसद दुईटैलाई बेवास्ता गरि मिति २०८२ भदाै २७ गते शुक्रवार राती करिब ९ बजे अन्तरीम सरकारकाे शपथग्रहण गराईएकाे छ ।

कार्कीलाई श्राेत अभाव, देश क्षतबिक्षत भएकाे अवस्थामा ६ महिनामा चुनाव गराउने र भ्रष्टाचारीमाथि कार्वाही गर्न प्राधिकरण निर्माणगर्ने म्यान्डेड दिईएकाे छ । देशमा लाेकतन्त्र र गणतन्त्र देशमा ल्याउने मान्छे बीपी काेईराला, गिरिजाप्रसाद काेईराला, शेरबहादुर देउवाका घरहरू, शालिक, व्यक्तिमाथि, लाेकतन्त्रका धराेहर राष्ट्रपतिभवन, एशियाकै सबभन्दा ठूलाे क्षेत्रफलभएकाे प्रधानमन्त्रीकाे कार्यालय, प्रम निवास बालुवाटार, संसद, अदालत आदि जलाईएका छन् ।

यस लेखमा नवनियुक्त प्रम सुशिला कार्की कहाँ संविधानत: चुक्नुभयाे र अब के कस्ता चुनाैतीहरू उनले म्डान्डेडप्राप्त गर्नुपर्ने हाेलान् आदिमाथि चर्चा गर्ने प्रयास छाेटकरीमा गरिएकाे छ ।

टेक्नाेलोजीयुक्त जेनजीबारे टेक्नोलोजीकै खुलासा :

हामीभन्दा बढी जेनजीकै नेपाली अनुहार र मलजल गर्नेहरूले आफूहरूकाे खुलासा “हामी नेपाली” एनजिओ संस्थामा डा. सन्दूक रूईत, शंकर ग्रुपका साहिल र सुलभ अग्रवालहरूकाे रकम लगानी, सिआईएकाे टूलकिट सहयाेग, आन्दाेलनमा जाँदा सेफ रह्ने निर्देशिका, हथियार व्यापारी तथा हाल भ्रष्टाचारकाे आराेपमा डामिएका दिपक भट्ट, जेनजी आन्दाेलनकाे ठिक दुई दिन अघि अमेरीकि दूतावासमा भारतविराेधी तथा पाकिस्तान समर्थक बालेन्द्र साह तेली, साे अघि अमेरीकि एम्बेसी र नख्खु जेलमा दाैडधूप गरिरहेका माओवादी अध्यक्ष प्रचण्डलगायत थुप्रै व्यक्तिबारे स्वयंले नै टेक्नाेलोजीमार्फत सामाजिक सञ्जालमा छ्याप-छ्याप्ति सप्रमाण आईरहेका बाढीबारे जानकार भईरहेका हाेलान् ।

स्तम्भकारले वा अन्यले आराेप किन लगाउने ? बरू, नेपालमा केवल सत्ता खाेस्नलाई हिंसात्मकसम्म आन्दाेलनलाई डिरेल हुँदा पनि गर्दा आफूले प्रयाेग गरेका टूलकिट् प्रयाेगबारे आफूभन्दा बढी जानकार अर्का टेक्निसियनले बाहिर ल्याईदिएकामा आफूहरू हाेईनाैं भनी खण्डन र मण्डन गर्न नेपाली जनताले चुनाैती दिईरहेका छन् । तसर्थ, जेनजीले नेपालमा उठाउँदै आएका मुद्दा भ्रष्टाचारकाे अन्त्य, करकाे सदुपयाेग, पुराना नेतृत्वकाे बहिर्गमन (ओली एमाले, काँग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजू देउवा, गृहमन्त्री रमेश लेखकहरू बहिर्गमित भए पनि) का मुद्दा अन्य नेपालीलाई मन परेकै समर्थित भए तापनि अब सिआईए अमेरीकाले नेपालकाे समस्या समाधान गर्ने कि नेपालीले नै भन्ने सवालमा केन्द्रित भएका छन् ।

जेनजीकाे माेनाेपाेली

जेनजीले के मात्र बुझ्नुपर्याे भने देशमा केवल सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेका जनतामात्र हैनन् । अनि धनमाल कमाईसकेका सिनियर सिटिजेन नेता, कर्मचारी र व्यापारी केही १०-२०-५०-१०० वा यस्तै केही सयजना बाहेक सबै जनता नेपाली जनता कुशासनकै चपेटामा छन् । देशमा सन् २०१२ पछिपनि जन्मेका मान्छे छन् । के देशलाई एऊटा उमेर समूहमात्रले बन्धक बनाएर विदेशी ताकत, तकनिकि र रकमकाे भरमा अन्य जनतालाई आँखा चिम्लेर बन्धक बनाई सत्ताराेहण संविधानलाई कुल्चेर गर्छ भने त्यसले नेपालमा शान्ति, विकास र स्थिरता दिने हाे कि ठिक उल्टा कुराहरू ? याे सबैले साेच्न जरूरी भईसक्याे ।

अवश्यपनि जनताले दाईमारा अन्तिम राजा ज्ञानेन्द्र शाह, बीरेन्द्रकाे सम्पत्ति हजम गरेका ज्ञानेन्द्र, जनावर र मूर्तीका तस्कर, पञ्चायतमा देश लूटाहा त्यस्तै, २०६३ सालपछि लगातार सत्तामा रहेर देश लूटेका माओवादीका प्रचण्ड, लडाका घाेटालामा अर्बाैं रकम कृष्णबहादुर महरामार्फत् बुझेका, सुनतस्करहरूलाई जाेगाउँदै आएकालगायत दर्जनाैं अपराधमा ज्ञानेन्द्र शाह, उनका बैंक डिफाैल्टर तथा प्रहरीमाथि गाडी कुदाउने आतंकवादी दुर्गा प्रसाईं, माओवादीका प्रचण्ड अनि सहकारी ठग, बहुपत्नी र बहुराहदानीधारी रवि लामिछाने जस्ता अपराधीहरूलाई न्यायकाे कठघरामा सर्वस्वहरणसहित पनि देख्न चाहेका थिए ।

तर भदाै २३ र २४ गतेकाे आक्रमणमा यिनिहरू पूर्ण सुरक्षित देखिए, जेलबाट निकालिए, माओवादीकाे भर्चुअल बैठक सञ्चालन गर्छन्, वार्तामा सेना प्रमुखलाई मान्छे मार्न लगाएका र प्रहरीमाथि जिप कुदाउने बैंक डिफाैल्टर दुर्गा प्रसाईंलाई जेनजीसँगकाे वार्तामा स्टेकहाेल्डर मानी पटकपटक वार्ता गर्न प्रतिगामी चलखेल गर्न बाध्य बनाईयाे तर जेनजीकाे सिआईए नेपाल प्रतिनिधिहरूकाे अघाेषित निर्देशक राजावादी बालेन्द्र साहकाे अगाडि सबै नतमस्तक भए, जेनजी अगुवाहरूले ईन्फिल्ट्रेशन दक्षिण र उग्रपन्थीकाे राेक्नै सकेनन् । परिणामत: च्याउसरी “जेनजी” समूहहरू दलपिच्छे र ज्ञानेन्द्रकाे दरबारिया दुर्गा प्रसाईहरूपिच्छे छन् । कसकाे कुरा वार्ताकार राष्ट्रपति, सेनाप्रमुखहरूले सुन्ने भन्ने अन्याेलता र निर्णयविहिनताले भदाै २३ गतेदेखि भदाै २७ गते रातिसम्म नेपालमाथि छायाे ।

अन्य राम्रा भएपनि लाेकतन्त्र-गणतन्त्रमाथि हमला

जेनजीकाे आन्दाेलनकाे मुख्य कारण सुशासन, राेजगार, विकास लामाे समयदेखिकाे माग रहेतापनि तत्कालीन कारणमा सामाजिक सञ्जालमाथिकाे प्रतिबन्ध गत भदाै १९ गतेदेखि लगाईएकाेलाई फुकुवा गराउनु र भ्रष्टाचारकाे नाईके भनिएका काँग्रेस र एमालेका शीर्ष नेतृत्वहरूले सरकार र दलबाट विदा भई भ्रष्टाचारकाे छानबिन थिए । यी मध्ये पुराना पुस्ताका नेतृत्व काँग्रेस-एमालेका सरकारसहित गईसके, सामाजिक सञ्जालपनि भदाै २३ गते नै अहंकारी केपी ओलीले गरेर गईसके तर जेनजीमाथि प्रचण्ड, रवि लामिछानेहरूमाथि कार्वाही गराउन जनताकाे चुनाैती छ, गरेर देखाउनैपर्छ ।

भ्रष्टाचार प्राधिकरणकाे निर्माण वर्तमान सुशिला कार्कीकाे सरकारकाे सराहनीय छ तर २०४६ सालपछिका मन्त्री, नेतामात्रकाे किन साँघुराे परिभाषा पहिले नै ताेकिएकाे ? कर्मचारी, अदालतका भ्रष्ट केही न्यायधीश, व्यापारीमाथि किन नगर्ने ? त्यस्तै, २०४६ साल अघिका पञ्चायती मन्त्रीहरूमाथि मल्लिक आयाेगकाे प्रतिवेदन अनुसार कार्वाही गर्नु नपर्ने कारण के हाेला ? २०४६ सालपछि अन्तिम राजा ज्ञानेन्द्र शाहले राजा बीरेन्द्र शाहकाे सम्पत्तिलाई जे गरे, दरबार हत्याकाण्डकाे छानबिनबारे प्राधिकरण गठन गर्नुपर्ने, २०६२-०६३ सालकाे गणतान्त्रिक आन्दाेलनमाथि दमन भएकाे आदिबारे न्यायधिश लक्ष्मण अर्यालकाे प्रतिवेदन अनुसार कार्वाही, प्रचण्डकाे लडाका घाेटाला काण्ड, माओवादीहरूका सुन तस्करीका काण्डहरूबारे छानबीन गर्नेबारे किन जेनजी र प्रम कार्कीबाट एकचाेटीपनि सुनिंदैन ? अवश्यपनि काँग्रेस र एमालेका नेताहरूले गरेका भ्रष्टाचारबारे छानबीन गर्नुस् तर ख्याल राख्नुस् कि नेपाल यस्ताे देश हाे जहाँ भ्रष्टाचार, चाेरी, डकैतिविरूद्ध उत्रने जेनजीहरूपनि कतिपयले गुडिया चाेर्ने, ब्यागहरू लिएर भाग्ने, ब्रासमेत घाँटीमा झुण्ड्याएर भाग्ने, माैल लूट्नेहरू छन् !

हुँदाहुँदै दिमाग घाेत्लाई दिने सवालहरू निकै पेचिला छन् । केही प्रतिनिधि सवाल यस्ता छन् । नेपाली सेना सपंहदरबार, शितल निवास, संसद सबैतिर सुरक्षाकै लागि चाैबिसै घण्टा सधैं तैनाथ देश दुनियाँले देख्थे तर भदाै २४ गते ताेडफाेड हुँदा उसकाे कर्तव्यलाई बिर्साएर मूकदर्शक भई टुलुटुलु हेर्ने पिपिङ्ग टाैम्ब नीर्जिव वस्तु झैं कस्काे निर्देशनले परिणत गरेकाे थियाे ? ज्ञानेन्द्र शाह हाे वा अन्य काे हाे ? त्याे सेनाले भन्नुपर्याे वा, आँखा अगाडि सबै जलाईंदा चूप किन बसेकाे त्याे जबाव दिनुपर्याे । हत्या, हिंसा, आगजनी सबै घृणित कार्य र वर्जित् हुन् तर एक-एक गरि लाेकतन्त्र र गणतन्त्रका धराेहर र व्यक्तिहरूका कार्यालय, घर र जीऊमाथि आक्रमण भईरहँदा निर्मल निवास कसरी सुरक्षित छ ? किन ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंहरूलाई प्रतिपल षड्यन्त्र, मारकाट, आगजनी आदि हुन दिन खुला हावामा चैनकाे श्वास फेर्न दिईएकाे छ ?

ज्ञातव्य छ, केपी ओली तानाशाह, अहंकारी, अलाेकतान्त्रिक, अनपढ-गंवारजस्ताे व्यवहार गर्ने मान्छेले सामाजिक सञ्जालमाथि हठात् प्रतिबन्ध लगाउँदा काँग्रेसका डा. शेखर काेईराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, स्वास्थ्य मन्त्री प्रदिप पाैडेललगायत अन्य काँग्रेसीहरूले बाेलेर, विज्ञप्ति निकालेरसमेत तत्काल प्रतिबन्ध हटाउनलाई माग गरेका थिए । त्यतिमात्र हैन कि भदाै २३ गतेकाे जेनजीकाे आन्दाेलनमा घूसपैठ भई सरकारले अत्यधिक बल प्रयाेगगर्दा १९ जना क्याजुअल्टी हुँदा काँग्रेसका गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराएर तत्काल ओली बदमास नेतृत्वकाे एमाले सरकारबाट विदा हुन काँग्रेसकाे पदाधिकारी र पूर्वपदाधिकारी कार्यसम्पादन समितिकाे बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्ताव राखेका थिए ।

त्यस प्रस्तावमा महामन्त्रीद्वय थापा र शर्मा, कृष्ण सिटाैला, गाेपालमान श्रेष्ठ सबैले सहमति जनाएका थिए तर एमालेसँगकाे ७ बुँदे सहमतिकाे हवाला दिंदै सभापति शेरबहादुर देउवाले निर्णय लिन ढिलाई गरे । आखिरमा सामाजिक सञ्जालमाथिकाे प्रतिबन्धपनि खुल्याे र सरकारपनि ढल्याे नै तर केहीका अलावा अन्यले राम्राेपनि गरिरहेका थिए । सवाल छ, जेनजी यति तकनिकिमा माहिरले यी जानकारीहरू पाईरहेका थिएनन् वा घूसपैठियामाथि नियन्त्रण हराईसकेका थिए जाे बीपिकाे शालिक नेपालगञ्जमा ताेडफाेड भयाे, निधि-गगन थापाहरूकाे घर जलाईए, झलनाथ खनालकाे घर र श्रीमती जलाईए, अरू त अरू लाेकतन्त्रकाे बिज अंकुरण मानिने विराटनगरकाे “काेईराला निवास” पनि जलाईए ? पूर्वराष्ट्रपति विद्या भण्डारी र भीम रावलहरूकाे घर किन जलाईए ? यति हुँदापनि जेनजीका “राष्ट्रवादी सिआईए” नेपाली प्रतिनिधिबाट याे लेख तयारपार्ने बेलासम्म प्रम सुशिला कार्कीलाई ठाेस निर्देशन किन दिईएन ? स्मरण रहाेस्, नेताहरू निधि, थापा, गिरिजाप्रसाद काेईराला, झलनाथ खनालहरू नेपालमा गणतन्त्र ल्याएका मानिन्छन् ! गणतन्त्रवादीमाथि कुटपिट, आगजनी तर ज्ञानेन्द्र, बालेन्द्र, रवि लामिछाने, प्रचण्डहरू सुरक्षित ? यसलाई कसरी बुझ्ने ?

प्राध्यापक वर्गमा मूर्दा शान्ति

चीन, भारत, अमेरीका र बेलायतमा देशकाे राष्ट्रिय संकटमा, विकासकाे मामिलामा प्राध्यापकसँग नेता, मन्त्रीले सम्पर्क गर्छन्, मीडियाले बाेलाएर टीभिमा बाेल्न लगाउँछन् । नेपालमा पनि २०४६ साल र २०६२/०६३ सालमा प्राध्यापककाे सक्षम नेतृत्वले नेपाल प्राध्यापक संघ (नुटा) र त्रिवि प्राध्यापक संघ (टुटा) जस्ता छाता संगठनबाट जनताकाे लाेकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, सुशासन, युनिवर्सिटिकाे स्वायत्तता, प्राज्ञिक स्वतन्त्रता आदिबारे न केवल बाेल्ने, विज्ञप्ति जारी गर्ने अपितु दलका नेताहरूलाई बाैद्धिक खुराक दिई सडकमा ओर्लने कार्यहरू गरेका छन् ।

अस्ति भदाै २५ गते अन्याैलताका बीच पत्रकार केदार काेईरालाकाे आमन्त्रणमा माउन्टेन टीभिमा त्यस्तै विगत २०४६ र २०६२/०६३ मा गरिसक्नुभएका नुटाका पूर्व अध्यक्ष प्रा. खगेन्द्रप्रसाद भट्टराईले बरू वृहत्त अन्तर्वार्ता जेनजी विराेध, घूसपैठ, नेताका विचलन, प्राध्यापकीय कर्तव्य आदिबारे दिए । याे स्तम्भकारले लगातार जिम्मेवारीपूर्वक उपलब्ध साधन फेसबूकमा लेख्याे र सयाैं प्राध्यापक सम्मिलित पाँच-छवटा समूहहरूमा जायज कुराे बाेल, याे जायज हाे तर याे नाजायज हाे भनी लेख्याे । तर बाेल्ने निकाय टुटा, नुटा र वैचारीक दलपिच्छेका संघ-संगठनहरू चुप्की साँधे । सबैले बाेल्न बिस्तारै थालेपछि बल्ल चारजना वैचारीक अध्यक्षहरूकाे संयुक्त विज्ञप्ति र साेपछि नेपाल पब्लिक क्याम्पस महासंघकाे विज्ञप्ति आैपचारिकताकाेलागि आए ! याे भएन ।

देशकाे क्राईसिसमा तत्काल नबाेल्ने, पुच्छर लुकाएर घरमा लुक्ने, पक्राउपर्ने डरले फेवरेब्ल टाईम खाेज्ने, तीन वर्षका लागि पदमा गएर तेस्राे कार्यकाल खाएर पद नपाउञ्जेल अधिवेशन नगराएर बस्ने, क्यापिसिटि र पर्फाेर्मेन्सभन्दा मालिक नेताकाे चम्चागिरिमा पद ओगट्ने देशकाे भविष्य त्यहि हुने हाे, जुन जेनजीकाे आन्दाेलनमा घूसपैठ भई लाेकतन्त्र-गणतन्त्रमाथि आक्रमण हुँदापनि चुप्कि सँधाईंले देखायाे । आज भाैतिक घर जल्दा र जीऊमाथि आक्रमणले जति पीडा दिएकाे हाेला, त्याेभन्दा बढी क्यापेब्लभन्दा चम्चाहरूलाई पद दिएर भ्रातृ र शुभेच्छुक संस्था ओगटाईदिंदा संकटपर्दा देखा नपर्ने अनुहारहरूलाई सम्झँदा अती पीडा देउवा वा अन्य नेतालाई भईरहेकाे हाेला । नेपालका प्राध्यापकमा लिडरशीप, प्राध्यापक शब्दकाे अर्थकाे बुझाई देखिएन, अवसरवाद देखियाे !

असंवैधानिक र गैह्रजिम्मेवारपन : ल एण्ड अर्डर के हुने अब ?

नेपालभन्दा केही वर्ष अघि श्रीलंकामा सरकारविरूद्ध नाताफरिया-परिवारवाद (Nepotism) लाई लिएर विद्राेह भयाे र बंगलादेशमा पनि । तर श्रीलंकामा संविधान र संसदलाई टेकेर सरकार बनाई स्थिरता ल्याउने प्रयास भयाे र देश तीव्र गतिमा प्रगतिकाे पथमा छ । त्यहीं बंगलादेशमा भने संविधान र संसदलाई बाईपास गरेर आन्दाेलनकारीकाे सिफारिशमा सडकबाट टप्परटुईंयाँ माेहम्मद युनुसकाे सरकार बनाईयाे, जहाँ नित्य दिन सनातन हिन्दुमाथि आक्रमण, हत्या, बलात्कार, आगजनी, आतंकवादलाई प्रशय दिने कार्यहरू हुँदैछन् । नेपालमा भाद्र २४ गते व्यापक आगजनी, ताेडफाेड भ्यान्डेलिज्म भईसकेपछि सेनाले “ब्यूँझेर” सुरक्षाकाे जिम्मा लिएपछि संविधानत: सरकार बनाउन याे संविधान बाधक थिएन, छैनपनि ।

उदाहरणका लागि जुन विधिले डा. युवराज खतिवडाले मन्त्री बनाईए, त्यस विधिबाट जेनजीका मान्छेलाई राष्ट्रपतिकाे काेटामा सदनमा मनाेनित गरेर सरकारमा सामेल गराउन मिल्थ्याे । राष्ट्रपतिले मनाेनित काेटा बढाउने आवश्यकता र सडकबाट मान्छे टिपेरै प्रम बनाउने बाध्यता महशूस हुँदा सबै दलले अपनत्व लिने गरि बाधा अड्काउ फुकाउमा परिस्थितिकाे उपज भनी निश्चित समयावधिका लागि प्रम बनाउन पाईने गरि संविधान संशाेधन गर्न दिनुपर्थ्याे । तर भई के दियाे भने भाद्र २३ र २४ गतेपछि राष्ट्रपति र दलका नेताहरू गुमनाम तर सेनाध्यक्ष मीडियामा झुल्किने, अनावश्यक सक्रिय हुने र वार्ता भनेर जङ्गी अड्डामै कर्फ्यूमा पनि सयाैंकाे संख्यामा मान्छेकाे मेलाे गरेर कुटपिट पनि भएकाे हेर्ने रमिता ! आम जनता स्तम्भकारहरूले साेसल मीडियाबाट “राष्ट्रपति खाेई ? सेनाकाे अस्वभाविक सकृयता किन ? सेनाले सहजता र समन्वय गर्ने कि आफैं पाकिस्तान र बर्मा झैं सरकार बनाउने ?” जस्ता प्रश्न तेर्स्याउनुपर्ने अवस्था भएपछि बल्ल स्टेक हाेल्डर्सले पनि राष्ट्रपति खाेई भन्दा राष्ट्रपतिका विज्ञप्तिहरू र सक्रियता देखिने । लाेकतन्त्र र गणतन्त्रका आदर्शलाई मारेर आन्दाेलनकारीकाे भयत्रास र धम्कीकाे बीचमा मुड्कीकाे आडमा सरकारकाे गठन भयाे, दुर्भाग्य भैसक्याे ।

यसाे संविधानभित्रबाट समस्या समाधानकाे बाटाे निकाल्ने राष्ट्रपतिकाे कुरामा प्रम बन्ने मान्छे, बालेन्द्र साह तेली र नामधारी यिनका जेनजीहरूले मानेका भए सबै दलले अपनत्व लिएकाे सकारात्मक चाल मानिने थियाे । तर कस्ता दृश्य अस्वभाविक देखिए भने आन्दाेलन गर्ने जेनजी, गराउने बालेन्द्रहरू सरकारमा नआउने रे ! याे रेस्पाेन्सिब्ल राजनीति भएन, गैह्रजिम्मेवारपन र अबकाे ६ महिनामा चुनाव कदाचित् सम्पन्न नहुँदा देशमा अधिक ब्ल्डशेड गरि सत्ताकब्जा गर्ने माओवादी र राजावादीकाे अलग-अलग खुराफाती प्लान देखिन्छ ।

नवनियुक्त प्रम कार्कीकाे शपथग्रहणकाे क्रममा निकै अनाैपचारिक, अनुचित र अमर्यादित हर्कत्हरू जेनजीहरूकाे देखिए – पत्रकारले झैं बाहिर नबसेर कुन हैसियतमा राष्ट्रपति भवन पुगे ? जथाभावी हात हल्लाउने, बाँदरजस्ताे यताउति चुल्बुल गर्ने, हाथ मिलाउने, अङ्गालाे प्रमसित मार्ने आदि । अब सवाल उठेकाे छ कि भाेली देशमा स्कुल, कलेज र युनिवर्सिटि, सडकलेन, पार्क, सार्वजनिक अफिसमा अनुशासन कस्ले र कसरी मेन्टेन गर्ने-गराउने ?

प्रस्तावित चुनाव सम्पन्नताका जाेखिमहरू

भर्खर नवनियुक्त प्रम सुशिला कार्कीलाई याे सफल कार्यकालकाेलागि शुभकामना र सहयाेग गर्नुपर्ने याे बेला छ र चुनाव गराउन ६ महिना छाेटाे अवधि छ । तर उनले संविधानत: नगएर बंगलादेशमा झैं संविधान र संसदलाई बालेन्द्र साह राजावादीकाे रणनीति अन्तर्गत जिद्दमा परेर पहिला संविधानले नचिनेकै अवस्थामा सरकार प्रमुख बनाईसकेकी अवस्थामा दलहरूले संसद बिघटनलाई नमान्ने विज्ञप्तिहरू दिएर शुभकामना र सफलताकाे कामना दिने विपरीत आफैंले पुर्याईदिईन् । जहाँ काँग्रेस, एमाले, एकीकृत समाजवादी, जसपा, लाेसपा वा अन्य लाेकतान्त्रिक गणतान्त्रिक दलले यस असंवैधानिक सरकारकाे संसद बिघटनलाई नमान्ने भनिरहेका छन्, त्यहाँ देश र संविधानप्रति घात गर्ने मानसिकताले माओवादीका प्रचण्डले देखाउने गरीमात्र हाल संसद बिघटनकाे विराेध गरेकाे छ, वास्तवमा उ अब आऊने ६ महिनापछिकाे समयलाई कुर्ने रणनीति बनाएकाे छ, तबसम्म बाँकी दललाई तिमिहरूसँगै छाैं हामीकाे भ्रमपूर्ण झूटा मित्रता देखाईरहेकाे छ ।

राजनीतिमा यहि उसकाे नैतिकपतन लगातार गिरिजाबाबूलाई राष्ट्रपति नबनाउनु, २०७४ सालकाे चुनाव काँग्रेससँग जितेर पछि कम्युनिस्ट एमालेसँग सरकार खानु र पुन: २०७९ मा जित्ने नदेखेपछि काँग्रेससँग मिलेर तालुमा आलु फलाएर तेस्राे ठूलाे दल भई पहिलाे र दाेस्राे ठूलाे दललाई खेलाएर स्वयं सरकार प्रमुख लाजशरम पचाएर भई आजकाे याे दुर्दशा भयाे, तर उसलाई दण्डित गरिएकाे उपाय सुनिश्चित भएन ।

आज देशमा कम्तिमा चारवटा शक्तिमा पाेलेराईजेशन भएकाे छ- जेनजी-बालेन्द्र साह-सुशिला कार्की अमेरीकि सिआईए सत्ताधारी समूह; काँग्रेस-एमाले-लाेसपा-समाजवादी-जसपा आदिहरू हथियारविहीन लाेकतन्त्रिक शान्तिकामी समूह; उग्र दक्षिणपन्थी दुर्गा प्रसाईं मारकाट, आगजनी जे गरेर भएपनि देशमा ज्ञानेन्द्र शाह वा उनका नातीलाई राजा बनाउने समूह, र उग्र वामपन्थी माओवादी प्रचण्डहरू जसले अब एक स्टेप जम्प मात्र ६ महिनापछि सबै भत्काएर कम्युनिस्टकाे सत्ताकब्जा गर्ने ख्वाब देखेर बसिरहेकाे छ । यी चारमध्ये लाेकतान्त्रिककाे बिल्लामा जेनजी समूह अमेरीकि फ्यूवेलिङ्गवाला क्षणिक सत्तारूढ भएपनि पछि शक्तिहीन ६ महिनापछि राजावादी र माओवादीद्वारा पारिएर अन्तत: काँग्रेसकाे नेतृत्वमा शरण र सुरक्षा लिन पुग्नेछ । हाल सबभन्दा कमजाेर तर सुधार्ने माैकामा काँग्रेस-एमालेहरू लाेकतान्त्रिक शक्ति छन् ।

यदि सर्वाधिक उपलब्धी हासिल गरेका कुनै समूह छन् र धेरै समानता मिलाएका छन् भने ती हुन्- राजावादी र माओवादी ! यी दुईटैले चाहेका समान कुरा संविभानविहिनता, संसद, अदालत सबै नष्ट-खरानी पारिएका छन्, यस संवैधानिक शून्यतामा ६ महिनापछि नेपालमा चुनाव हुन कदाचित् नसक्दा माओवादीले सत्ताकब्जा गरिकन डाईरेक्ट कम्युनिस्ट डिक्टेटरकाे प्रत्यक्ष राष्ट्रपतिय प्रणालीमा जाने सपना देखिरहेका छन् भने ज्ञानेन्द्र शाह, दुर्गा प्रसाईं, बालेन्द्र साह तेली, रवि लामिछाने, राप्रपा आदि कलेबरका सबै राजावादीहरूले भने ६ महिनापछि चुनाव हुन नसक्दा सम्भवत: सेनालाई रिझाएर राजसंस्था ब्यूँताउने कसरतकाे सपना देख्दैछन् । यसबाट जाेगिन, सत्ताकाे स्वाद चाखिरह्न भ्रष्टाचारकाे डण्डा दलहरूमाथि चलाएर जेनजी अमेरीकिहरूले असफल प्रयास गर्नेछन् किनकि जनमत कम भएकाे, सेना-पुलिसकाे साथ त्यतिबेला नपाउँदा निरीह हुने हुन् ।

अत: अब वर्तमान संघीय लाेकतान्त्रिक गणतन्त्र, २०७२ सालकाे संविधान मान्ने शक्तिले सुध्रने, टक्टक्किएर धूलाे सफा पार्दै उठ्ने, जनता-देश-विदेशका लाेकतान्त्रिक शक्तिसँग नजिक हुने र आम माफी जनतासँग माग्दै क्रिटिकल अवस्था बताउँदै जनमत आफूसँग राख्नेमा केन्द्रित रह्ने रणनीति बनाउनुपर्छ । कुनै बेला भारतमा ईन्दिरा गान्धीले पनि शर्मनाक पराजय हार्दा गाउँ-गाउँ पुगेर भूल स्विकारगर्दै माफी माग्दा ठूलाे बहुमतसहित सत्तामा पार्टीलाई फर्काएकी थिईन् तर उद्देश्य भने जनताकाे सेवामा, सबै मधेशी-पहाडी-महिला-आदिवासी-जनजाति-दलित सबैकाे मागलाई सम्बाेधन गरि जानुपर्ने हुन्छ, अवसरपनि दिनुपर्छ ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय