कहिले बन्छ फास्ट ट्रयाक ?

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कहिले सकिन्छ ? काम कति भयो ? अब कति बाँकी छ ? र यसको लागत कति होला ? यो प्रश्न जनताको हो ।
तर,निर्माणको जस लिन आतुर राजनीतिक दल,तिनका नेता र सरकारले मात्रै होइन फाष्टट्र्याक निर्माण गरिरहेको नेपाली सेनाले समेत जवाफ दिने अवस्था भने छैन ।
गएको १ वर्षको अवधिलाई मात्रै हेर्ने हो भने जम्मा ७ प्रतिशत पनि भौतिक प्रगति भएको देखिदैन । सरसर्ती हेर्दा आयोजनाको गत आर्थिक वर्ष २०८१/८२ मा थप ६.७५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। यो द्रुत गति होइन, कछुवा गति हो।

केही समय अगाडि नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) राजाराम बस्नेतले २०८२ असार मसान्तसम्म फास्ट ट्रयाकको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको जानकारी दिएका थिए । अर्थात २०७४ सालदेखि सुरु गरिएको यो आयोजना २०८२ सम्म आउँदा ८ बर्ष भयो। यहि हिसाबले ८ बर्षमा जम्मा ४२.१३ प्रतिशत काम हुँदा अरु ५७.८७ प्रतिशत काम सम्पन्न गर्न कति समय लाग्ला ? उत्तर भेट्टाउन गाह्रो छ।
२०८१ को असार मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३५.३८ प्रतिशत थियो । यो एक बर्षमा ६.७५ प्रतिशत बढ्यो।
त्यस्तै, आयोजनाको समग्र वित्तीय प्रगति ४४ प्रतिशत पुगेको छ । गत वर्ष साढे २२ अर्ब बजेट छुट्याइएकोमा १३ अर्ब ४६ करोड रुपैयाँ मात्रै खर्च भएको छ । असार मसान्तसम्म आयोजनामा समष्टिगत कुल ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भैसकेको छ। सो मध्ये १ अर्ब ५६ करोड जग्गा खरिद, ८२.३७ करोड निर्माण व्यवसायी र ९.८१ करोड विद्युत् प्राधिकरणलाई पेश्की दिइएको छ ।

सरकारले यस आयोजनालाई उच्च प्राथमिकतामा राखेको भनेपनी निर्माणको प्रगति भने निकै सुस्त छ । सुरुमा २०८० भित्र सबै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर, सम्पन्नको कुरा धेरै टाढा छ,यो ८ वर्षमा आधा पनि काम पूरा भएको छैन। यसरी हेर्दा ८ बर्षमा ४२ प्रतिशत भनेको औसतमा वार्षिक भौतिक प्रगति ५.२६ प्रतिशत मात्रै हुन आउँछ । पछिल्लोपटक थपिएको समय २०८३ चैत भित्रै आयोजना सम्पन्न गर्न अब १९ महिना बाँकी छ। जुन अबधिमा थप ५८ प्रतिशत काम सम्पन्न गर्नुपर्नेछ । यो कसैगरी पनि सम्भव देखिन्न ।
नेपाली सेनाका अनुसार अब निर्माणाधीन सुरूङमार्ग र पुल निर्माण सम्पन्न भएपछि भौतिक प्रगति ह्वात्तै बढ्ने छ ।आयोजनाको सुरूआती लागत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा हाल बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । कुल ७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाक आयोजनालाई विभिन्न १३ वटा प्योकजमा छुट्याइएको छ । १२ प्याकेजको ठेक्का लागेर धमाधम काम भइरहेको छ । तर,प्रस्थान बिन्दु ललितपुरको खोकना-डुकुछाप (प्याकेज नं. ११) खण्डको ठेक्का लाग्नै सकेको छैन। त्यहाँ अझैपनी स्थानीयले बिरोध गरिरहेका छन् । मुआब्जा देखि प्रस्थान बिन्दु नै परिवर्तन गर्नुपर्ने उनीहरुको माग छ।

