भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको जनयात्रा

कञ्चनपुर । जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन्, क्रान्तिकारी किसान नेता भीमदत्त पन्त ।
साउन १७ गते (आज), देशभर विभिन्न कार्यक्रममार्फत सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइँदै छ । तर, यो दिवस केवल सम्झनाको औपचारिकता नभई विचार र आन्दोलनको पुनः स्मरण र कार्यान्वयनको आह्वान पनि हो ।
वि.सं. १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए । उनले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरे । धार्मिक ग्रन्थ गीता र वैज्ञानिक समाजवादका विचारधारा माक्र्सवादको सङ्गमले उनको विद्रोही चेतनालाई झन प्रज्वलित बनायो ।
सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहारले भने, “शिक्षाले उनी विद्वान् मात्र होइन, सामाजिक न्यायको लागि समर्पित योध्दा बने, गीता र माक्र्सलाई आत्मसात् गरेर वर्गीय विभाजनमाथि प्रश्न उठाए ।”
उनका अनुसार वि.सं. २००७ देखि क्रान्तिकारी नेता पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झण्डा उठाए । उनले नेतृत्व गरेको आन्दोलनले उनलाई ‘भीमदत्त कांग्रेस’को संज्ञा दियो । वि.सं. २००९ वैशाख २ गते डडेल्धुराको घटालथानमा उनले सबैलाई एउटै थालीमा जय दासको हातबाट कथित उपल्लो जातका व्यक्तिहरूलाई पानी खुवाएर एक ऐतिहासिक सन्देश दिए, “अब कुनै जाति ठूलो सानो छैन ।”
त्यसैगरी पूर्वसांसद निरा जैरूले भनिन्, “भाषणमा होइन, उनले व्यवहारमै जातीय विभेद तोडे, एउटै थालीमा सबै जातजाति बसेर खाने परम्परा सुरु गरे ।” भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै ‘मुक्ति सेना’ गठन गरे । उनले बेदखली रोक्न, तमसुख जलाउन जस्ता कार्य गरे । “सामन्तीलाई विस्थापित गर्ने यो उनको महानता थियो,” जैरूले भनिन्, “जोताहा किसानको पक्षमा उनले गरेको विद्रोह सम्झन लायक छ ।”
हलिया नेता राजुराम भूलले भने, “हामी हलिया मात्र होइन, नागरिक हौँ भन्ने आत्मविश्वास भीमदत्तबाट पायौँ, उनी केवल नेता थिएनन्, हाम्रो आत्मसम्मानका संवाहक थिए, आन्दोलन पूरा नहँुदै उनले सहादत पाएपछि मुक्तिका लागि वर्षौ पर्खिनुपर्यो ।”
उनका अनुसार भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो । अन्ततः वि.सं. २०१० साउन १७ गते बुडरको गइलेकमा उनलाई गोली प्रहार गरियो । टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो । परिवारलाई बहिष्कार गरियो, काजक्रिया गर्न दिइएन । अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो ।
“भीमदत्तको मृत्यु एउटा युगको अन्त्य थियो, तर विचारको सुरुवात पनि,” भूमि अधिकारकर्मी रामबहादुर चुनाराले भने, “त्यसपछिका आन्दोलनहरूले पनि उनको प्रेरणालाई जीवित राख्दै आएका छन् ।” सहिद पन्तले तत्कालीन समयमा दिएका नाराहरू अझै सान्दर्भिक रहेको उनले बताए । नेता पन्तले भन्ने गर्थे, “कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो ।” चुनाराले थपे, “बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो । उठ जागरे, नेपाली नवजवान जागरे ।”
वि.सं. २०७२ फागुनमा सरकारले क्रान्तिकारी नेता पन्तलाई सहिद घोषणा गर्यो । नेता पन्तको सपना तव मात्रै पूरा हुन्छ चुनाराले भने, “जब भूमिहीन, सुकुम्बासी र बाढीपीडितलाई जग्गा दिइन्छ, कृषि आत्मनिर्भरता सुनिश्चित गरिन्छ, शिक्षा, स्वास्थ्य, रोजगारी सबैमा समान पहुँच हुन्छ, न्याय, समानता र समावेशीताको मूल्य व्यवहारमा लागू गरिन्छ ।”
भीमदत्त पन्त आज भौतिक रूपमा उपस्थित छैनन् । तर उनका विचारहरू, सपना र बलिदानले आजको भूमिहीनको आवाजलाई मार्गदर्शन गरिरहेको भूमि अधिकारकर्मीहरू भन्छन् ।

