भरतपुर महानगरको बजेट ५ अर्ब १९ करोड


भरतपुर । भरतपुर महानगरपालिका,चितवनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड भन्दा बढीको बजेट सार्बजनिक गरेको छ।

आइतबार आयोजित १७औँ नगरसभामा महानगरका उपप्रमुख चित्रसेन अधिकारीले ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरे। ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई साकार पार्ने लक्ष्य लिएर बजेट प्रस्तुत गरिएको अधिकारीले बताए ।

भरतपुर महानगर माओवादी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहनगर हो। प्रचण्ड पुत्री रेनु दाहाल यहाँको मेयर छिन् । उनी २०७४ र २०७९ मा भएको स्थानीय निर्वाचन जितेर मेयर बनेकी हुन् । उपमेयर अधिकारी भने नेपाली कांग्रेसका नेता हुन् । अधिकारीले प्रस्तुत गरेको  कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड ४ लाख ४१ हजार अनुमान गरिएको छ।

त्यसैगरी जनसहभागिताबाट ५ करोड, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने प्रक्षेपण बजेटमा गरिएको छ। बजेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि ४ करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि पनि ४ करोड छुट्याइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय