नेपालीको भान्सामा ५७ अर्बको ग्यास !

काठमाडौ । नेपालीको भान्सामा गएको ११ महिनामा मात्रै ५७ अर्बको ग्यास खपत भएको छ। यो आर्थिक बर्ष २०८१/०८२ को जेठसम्मको तथ्यांक हो।

त्यसोत बिजुलीबाट चल्ने इन्डक्सन,इनफायर र बिजुलि चुल्होको आयात बढेपनी यो समय बजारमा खाना पकाउने एलपी ग्यासको आयात पनि पाँच प्रतिशतले बढेको देखिएको छ ।

ग्यासको खपत बढेसँगै आयातसमेत वृद्धि भएको भन्सार विभाग को तथ्यांकले देखाएको छ। विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ५७ अर्ब ३६ करोड ६६ लाख ८० हजार रुपियाँ बराबरको पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।

गत वर्ष सो अवधिमा ५१ अर्ब ७६ करोड २६ लाख ७९ हजार रुपियाँको चार लाख ८१ हजार मेट्रिक टन आयात भएको थियो । यो वर्ष गत आवको तुलनामा छ अर्ब रुपियाँ बराबरको २५ हजार हजार मेट्रिक टन ग्यास आयात बढी हो । ग्यासको मागसँगै खपत बढेकाले आयातमा समेत वृद्धिको तथ्याङ्कले देखाएको छ ।

खपत बढ्नुमा शहरी क्षेत्रसँगै पहाडी क्षेत्रमा पनि ग्यासको प्रयोगकर्ता बढ्नु रहेको निगमको भनाइ छ । ग्यासको माग बढ्दै गएकाले आयातमा समेत वृद्धि भएको उहाँले जानकारी दिनुभयो । घरायसी प्रयोगसँगै व्यावसायिक प्रयोजनका लागि ग्यासको खपत हुने गर्छ ।

सरकारले विद्युत्को प्रयोग बढाएर ग्यासको आयात घटाउने लक्ष्य लिए पनि ग्यासको आयात भने घट्नुका साथै बढ्दै गएको छ । पछिल्लो समय घर घरमा विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगसमेत बढ्दै गएको छ । खाना पकाउनका लागि विद्युतीय चुलोको प्रयोग भए पनि बिजुलीमा पूर्ण रूपमा भर नहुँदा ग्यासको खपत भने अझै बढ्दै गएको तथ्याङ्कले देखाएको छ । निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । सोही कोटा अनुसार ग्यास उद्योगीले ग्यासको आयात नियमित रूपमा गरिरहेका छन् । निगमले ग्यासको खरिद आदेश (पिडियो) जारी गर्ने र निजी व्यवसायीले ग्यास आयात गर्ने गर्छन् । गर्मी समयको तुलनामा जाडो समयमा ग्यासको खपत १० प्रतिशतले बढ्ने गर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् ।

निजी उद्योगी व्यवसायीले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात गर्छन् । मुलुकमा विभिन्न ५९ वटा ग्यास उद्योगले ग्यास आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय