शिक्षण पेशा छाडेर कागती खेतीमा रमाउँदै सिपी

पूर्वी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागती खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् । कालिका नगरपालिका वडा नम्बर-६ जमुनापुरका सिपी अधिकारीले निजी बोर्डिङ् र क्याम्पस पढाउन छाडेर पेशागत रुपमा कागती खेती सुरु गरेका हुन् ।

अधिकारीले आफ्नो एक बिगाह र भाडाको एक विगाह १० कठ्ठामा कागती खेती गरेका छन् । पाँच वर्ष अघि आफ्नो जमिनबाट खेती सुरु गरेका उनले दोस्रो वर्ष भाडामा जग्गा लिएर खेती बिस्तार गरेका थिए ।

अधिकारीका अनुसार पहिलो वर्ष ३ सय ५० विरुवा र दोस्रो वर्ष ६ सय ५० विरुवा रोपेका थिए।  तेस्रो वर्षबाट उत्पादन सुरु भएको हो । अधिकारीले कागती लगाएको तेस्रो वर्ष ३ लाख र चौथो वर्ष ८ लाख आम्दानी गरिसकेका छन् । यस वर्ष १० लाखको कागती बिक्रि गर्ने उनको लक्ष्य रहेको छ ।

असार १५ देखि चैत सम्म उनको कागती राम्रो मूल्यमा बिक्रि हुने गर्दछ । यस वर्ष ५ विगाह थप गर्ने लक्ष्य रहेको भए पनि तत्काल सम्भव नभएको उनले बताए। आउँदो वर्ष खेती बिस्तार गर्दै जाने उनको लक्ष छ। बर्षमा १ लाख ५० हजार देखि २ लाख सम्म खर्च हुने भए पनि आम्दानी राम्रो हुने गरेको उनको भनाई छ । कागती लगाउँदा प्रतिविरुवा १ सय ८५ मा खरिद गरेपछि पछिल्ला वर्षहरुमा गोडमेल र औषधि उपचारमा मात्र खर्च हुन्छ ।

भाडाको जग्गाको बार्षिक भाडा प्रतिकठ्ठा ३ हजार तिर्नुपर्ने हुन्छ । बिज्ञानमा स्नातक गरेका अधिकारीका लागि पढाउने जागीर जताततैबाट मिल्थ्यो। त्यसो त ट्यूसन कोचिङ्ममा पनि राम्रो आम्दानी हुन्थ्यो । तर ती सबै छाडेर सुरुमा अधिकारीले बाख्रा पालन गरे। तर,त्यसबाट त्यती सफल हुन नसके पछि कागती खेतीमा हात हालेको उनी सुनाउछन् । १७ वर्ष शिक्षण पेशाको अनुभव भएर पनि छाडेका अधिकारी यतिवेला कागतीको अध्ययन अनुसन्धानमा पनि व्यस्त छन् ।

कागतीको बिरुवा उत्पादन गर्ने तयारीमा जुटेका उनले केही बिरुवा उत्पादन समेत गरेका छन् । भारतीय कागती नेपाली बजार भरी हुने अनि हामी बाँझो खेत र खालिहात बसीरहने जस्तो भएपछि कागती खेती सुरु गरिएको उनको भनाइ छ। मिहिनेत गर्‍यो भने स्वदेश मै मनग्य आम्दानी हुने देखेर आफू यसमा लागेको उनको भनाइ छ । चितवनको बजारमा मात्र एक सातामा २० टन भारतीय कागती बिक्रि हुने उनको अनुमान छ । कालिका नगरपालिकामा १० जनाले व्यवसायीक कागती खेती गरेका छन् । जिल्लामा यो संख्या ५० हाराहारी रहेको छ । यहाँ १ सय बिगाहमा कागती खेती भएको अनुमान छ ।

प्रतिकिलो रु १ सय देखि २ सय सम्ममा कागती विक्रि हुने गर्दछ । भारतीय कागतीको प्रभाव, यहाँका किसानले अनुदान नपाउनु, प्राबिधिक सहयोग नहुनु जस्ता कारण काममा कठिनाई हुने गरेको अधिकारीको गुनासो पनि छ ।’स्वदेशमानै बसेर आँफैले मिहिनेत गर्न सकेमा यही सफलता हाँसिल गर्न सकीन्छ’ उनले भने-‘म मेरो अहिलेसम्म सिकेको ज्ञान बाँड्न तयार छु। कागती खेती गर्नेहरुलाई सहयोग गर्न इच्छुक छु।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय